Loading...
Logo
Image

३ देखि ५ महिना भित्र कोरोनाबिरुद्धको भ्याक्सिन तयार हुने

अमेरिकाले कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाइरहेको बेलायती कम्पनी एस्ट्राजेनेकामा १ सय २ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ । यो लगानीसँगै अब अमेरिकाले उत्पादित भ्याक्सिनको एकतिहाइ हिस्सा किन्ने छ । 

कोरोना भाइरसका कारण रोकिएको आफ्नो अर्थ व्यवस्थालाई पुनः खडा गर्नका लागि कैयौँ देशका नेता भ्याक्सिनको प्रतीक्षा गरिरहेका छन् । तर, अहिलेसम्म कोरोनाविरुद्धको भ्याक्सिन बनेको छैन । धेरै ठाउँमा यस्तो भ्याक्सिन बनाउने प्रयास भइरहेको छ ।

भ्याक्सिनको आवश्यकतामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पटक–पटक जोड दिएपछि अमेरिकी स्वास्थ्य विभाग, (डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्भिसेज) एस्ट्राजेनेकासँग भ्याक्सिनको ३० करोड डोज किन्नका लागि तयार भएको हो । 

अमेरिकी स्वास्थ्यमन्त्री ऐलेक्स अजार भन्छन्, ‘एस्ट्राजेनेकासँग भएको महत्त्वपूर्ण सम्झौतासँगै सन् २०२१ सम्म कोरोनाविरुद्ध प्रभावकारी भ्याक्सिन बन्न सक्नेछ ।’ 

स्वास्थ्य विभागका अनुसार यो वर्षको अक्टाेबरसम्म यस्तो भ्याक्सिन अमेरिकाले पाउनेछ ।

के हो यो भ्याक्सिन ?

अक्सफोर्ड युनिभर्सिटी जुन भ्याक्सिन बनाउन जुटेको छ, त्यसको लाइसेन्स बेलायती कम्पनी एस्ट्राजेनेकासँग छ। यसअघि यो भ्याक्सिनको नाम थियो– ChAdOx1 nCoV-19  अहिले यसको नाम AZD1222 राखिएको छ ।

कोरोना भाइरसविरुद्ध अहिलेसम्म कुनै भ्याक्सिन बनेको छैन । यस्तोमा यो भ्याक्सिन कति सफल सावित हुन्छ, यसै भन्न सकिँदैन । अमेरिकासँग भएको सम्झौतापछि ३० हजार अमेरिकीमा यो भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायल गरिनेछ ।

एस्ट्राजेनेकाका अनुसार भ्याक्सिनको ४० करोड डोज बनाउनका लागि कम्पनीले महत्त्वपूर्ण सम्झौता गरेको छ । कम्पनीसँग १ अर्ब डोज बनाउने क्षमता छ । कम्पनीले यही वर्षको सेप्टेम्बरसम्म भ्याक्सिनको डेलिभरी सुरू गर्ने जनाएको छ ।

कोरोना महामारीका बेला फाइदाको लोभबाट टाढै रहेर पूरै संसारसम्म भ्याक्सिन पुर्‍याउने कम्पनीले प्रतिवद्धता व्यक्त गरेको छ । यसअघि एस्ट्राजेनेकाले भनेको थियो कि भ्याक्सिनको १० करोड डोज बेलायती नागरिकलाई उपलब्ध गराइनेछ । 

यसमध्ये करिब ३ करोड डोज यही वर्षको सेप्टेम्बरमा पुर्‍याउनेछ । अमेरिकासँग भएको सम्झौतापछि एस्ट्राजेनेका अहिले लण्डन स्टक एक्सचेञ्जको सबैभन्दा ठूलो १०० ब्लूचिप कम्पनीको सूचीमा सूचिकृत भएको छ ।

कम्पनीका कार्यकारी प्रमुख पास्कल सोरियोटले भने, ‘भ्याक्सिन बनाउने कामलाई अगाडि बढाउनका लागि समर्थन दिएका अमेरिका र बेलायत सरकारलाई धन्यवाद ।’ 

भ्याक्सिनको ट्रायल 

कोरोना भाइरसका कारण अहिलेसम्म संसारभर ३ लाख ३३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । युरोपसहित संसारका कुल १ सय ८८ देश यो भाइरससँग जुधिरहेका छन् । दोस्रो विश्व युद्धपछि पहिलो पटक विश्वको अर्थ व्यवस्थामा निकै ठूलो झट्का लागेको बताइएको छ । 

यद्यपि, अहिलेसम्म यो भाइरसको निदान देखिएको छैन । त्यसैले संसाभरका नेताको भरोसा अब बन्ने भ्याक्सिनमै छ ।

AZD1222 कोरोना भ्याक्सिनभन्दा पहिले, दोस्रो चरणको क्लिनिकल ट्रायल गत महिना सुरू भएको थियो । १८ देखि ५५ वर्ष उमेरका एक हजार स्वस्थ स्वयंसेवकमा गरिएको यो परीक्षण भ्याक्सिनको सुरक्षा र इम्युनोजेनेसिटीका लागि भइरहेको छ । यो परीक्षणको नतिजा चाँडै आउने बताइएको छ ।

अहिलेसम्म विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरस कोविड–१९ को उपचारका लागि कुनै पनि भ्याक्सिन प्रमाणित गरेको छैन । संगठनका अनुसार चीन, जर्मनी र जापानसहितका केही देशमा कोरोना भाइरसविरुद्धकाे भ्याक्सिनको क्लिनिकल ट्रायल भइरहेको छ । तर, जानकारहरू भन्छन्, ‘यस्तो भ्याक्सिन बन्न १२ देखि १८ महिनासम्म लाग्न सक्छ ।’ 

अहिलेसम्म थोरै मात्र भ्याक्सिनको शोध मानिसमा परीक्षणको स्तरसम्म पुग्न सकेको छ । एस्ट्राजेनेकाले भनेको छ, ‘अब बन्ने भ्याक्सिन कोरोनाविरुद्ध सफल नै हुन्छ भन्ने छैन तर यसको क्लिनिकल ट्रायल गर्न र उत्पदनको जोखिम उठाउनका लागि हामी प्रतिवद्ध छौँ ।’

एस्ट्रजेनेकाका अलावा जोनसन एण्ड जोनसन, फाइजर, मोडर्ना र सनोफी पनि भ्याक्सिन बनाउने काममा जुटेका छन् । अमेरिकास्थित इनोवियो फार्मास्युटिकल्सले बुधबार भनेको थियो, ‘ती संस्थाले मुसा र सुँगुरमा कोरोना भ्याक्सिनको सफल परीक्षण गरेका छन् । कम्पनीका अनुसार परीक्षण मुसा र सुँगुरको शरीरमा कोरोनासँग लड्न आवश्यक एन्टिबडी बनाउनमा सफल भएको छ ।

यही साता मोडनाले पनि कोरोना भ्याक्सिन परीक्षणसँग जोडिएको डाटा जारी गर्‍यो । स्वयंसेवकको एक सीमित समूहमा यो भ्याक्सिनको परीक्षण गरिएको थियो, जसको नतिजा सकारात्मक देखिएको कम्पनीले जनाएको छ ।  

भ्याक्सिन पाउन होड

एस्ट्राजेनेकासँगै अमेरिकी सरकारले कोरोना भ्याक्सिन बनाउने काममा लागेको जोनसन एण्ड जोनसन, मोडर्ना र सनोफीसँग पनि करार सम्झौता गरेको छ ।

त्यसैले पनि बहस छेडिएको छ– के धनी मुलुकले आफ्ना नागरिक बचाएपछि मात्र भ्याक्सिनको प्रतीक्षामा रहेका गरिब मुलुकका नागरिकको पालो आउने हो ?

यही वर्षको मार्चमा फ्रान्सेली कम्पनी सनोफीका प्रमुखले भनेका थिए, ‘भ्याक्सिनको शोधमा अमेरिकाले आर्थिक सहयोग गरिरहेको छ ताकि भ्याक्सिन बनिसकेपछि सबैभन्दा पहिला अमेरिकी नागरिकले पाऊन् ।’

यो बयानमा फ्रोन्सेली सरकारले आपत्ति जनाएपछि कम्पनीले संसारका सबै देशमा भ्याक्सिन पुर्‍याउने प्रतिवद्धता जनाएको थियो ।

एस्ट्राजेनेकासँग भएको करारका बारेमा ह्वाइट हाउसमा जानकारी दिँदै अमेरिकी राष्ट्रपति ट्रम्पले भनेका थिए, ‘भ्याक्सिन बनाउन धेरै प्रयास भइरहेको छ । आगामी २ सातापछि तपाईंहरूले यसको प्रगतिका बारेमा धेरै कुरा सुन्न पाउनुहुनेछ ।’

एस्ट्राजेनेकाका अनुसार भ्याक्सिनका लागि संसारका कैयौँ देशका सरकार र पार्टनरसँग कुरा भइरहेको छ ।

स्रोत: Shilapatra

Comments