Loading...
Logo
Image

कोरोना संक्रमणबाट नेपालमा सातौं व्यक्तिको मृत्यु

दैलेखको दुल्लु नगरपालिकाको क्वारेन्टाइनमा मृत्यु भएका ३५ वर्षीय युवकको कोरोना पोजेटिभ देखिएको छ । योसँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । गत जेठ ९ गते भारतबाट आएर नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका युवकको शनिबार बिहान मृत्यु भएको थियो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा युवकमा कोरोना पोजेटिभ देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए। मृतकको कोरोना परीक्षणका लागि स्वाब १५ गते नै लगिएको थियो ।

दुल्लू नगरपालिका दैलेखका नगर प्रमुख घनश्याम भण्डारीले ३५ वर्षीय ती युवकको कोरोना पुष्टि भएको र कोरोना सङ्क्रमणका कारणले मृत्यु भएका युवकको शव कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा जिल्ला प्रशासन कार्यालयसँग छलफल भइरहेको जानकारी दिए । कर्णाली प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु भएकाे याे पहिलाे घटना हाे । मृत्यु भएका व्यक्ति दुल्लु नगरपालिका वडा न ११ निवासी हुन् ।

स्रोत: Gorkhapatraonline

Comments