Loading...
Logo
Image

एकजना संक्रमितले कति जनालाई सार्छ कोरोना?

नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार नाघ्यो । यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा छिटो सर्छ । त्यसो हो भने १ जना संक्रमितले कति जनालाई सार्छ त ? 

चीनमा एउटा मान्छेले २ देखि ३ जनालाई सारेको अध्ययनले देखाउँछ । युरोप र अमेरिकामा एक संक्रमितबाट १८ जनालाई पनि सरेको छ । नेपालमै वीरगञ्जमा एक जनाले १८ जनालाई सारेको अध्ययनले देखाएको छ । 

‘एक संक्रमितले कतिलाई सार्छ भन्ने कुरा मान्छेले कति सावधानी अपनाउँछ, त्यसमा भर पर्छ,’ त्रिविको माइक्रोवायोलोजी विभागका प्रमुख डा. मेघराज बन्जाराले भने, ‘देशअनुसार संक्रमितको दर फरक छ ।’
नेपालमा सुरुको चरणमा एक व्यक्तिबाट एक जनामा सरेको उनले बताए । ‘सुरुको चरणमा एक व्यक्तिबाट एक जनामा सरेको थियो । पछिल्लो समय संक्रमितको संख्या बढिरहेको छ । अहिलेको दर कति हो, यसको अनुसन्धान गनुपर्छ ।’

संक्रमित र अरुले पनि सावधानी अपनायो भने भाइरस सर्ने दर कम हुने उनले बताए । ‘संक्रमितले सावधानी अपनायो भने कम हुन्छ । अरु जसमा सर्छ, उनीहरूले गरेको रोकथाममा पनि भर पर्छ । संक्रमितले अरुलाई नसरोस् भनेर ध्यान दिनुपर्छ,’ उनले भने ।

लकडाउन खुकुलो भएसँगै भीडभाड बढेको, सामाजिक दूरी कायम नगरेको, मास्क नलगाएको र नियमित हात नधोएका कारण एक व्यक्तिबाट अन्य व्यक्तिमा सरेकाले संक्रमितको दर बढेको विज्ञहरू बताउँछन्  । 
सुरुको चरणमा एक जनाबाट २ देखि ३ जनालाई सरेको जनस्वास्थ्यका डाक्टर रवीन्द्र पाण्डेले बताए । ‘एक जनाले  ३ जनालाई, ३ जनाले ९ जनालाई, ९ जनाले २७ जनालाई गर्दै १० साइकल पूरा हुँदा ४९ हजारलाई सर्छ भन्ने थियो,’ उनले भने, ‘अहिले कोरोना संक्रमण भएको सबैबाट नसरेको रिसर्चले देखाएको छ ।’

लन्डनमा भएको अनुसन्धानबाट १० देखि २० प्रतिशतले मात्र अरुलाई सारेको देखिएको उनले बताए । ‘नेपालमा पनि एक संक्रमितबाट अर्को व्यक्तिलाई नसरेको देखिन्छ,’ उनले भने, ‘एउटा परिवारमा एक जना संक्रमित हुँदा अरुलाई सरेको छैन ।’

पछिल्लो अध्ययनले ११ दिनपछि कोरोना भाइस सर्दैन भन्ने देखिएको छ । सिङ्गापुरमा भएको अध्ययनले ११ दिनपछि कोरोना सर्दैन भन्ने छ । सिङ्गापुरमा ११ दिनसम्म अस्पताल राखेर डिस्चार्ज गरिन्छ,’ उनले भने । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पनि भाइरस ११ दिनपछि नसर्ने भनेको छ ।

नेपालमा लक्षणविहीनबाट पनि भाइरस सरेको पाइएको छ । 

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले लक्षणविहीनबाट भाइरस सर्दैन भनेको छ । अमेरिकाका विज्ञले यो गलत हो भनेको छ । नेपालमा लक्षण नभएकाबाट पनि सरेको पाइएकाे छ । यहाँ ९५ प्रतिशत लक्षणविहीन छन् । उनीहरूबाट नै सरिरहेको  छ,’ उनले भने । 

नेपालमा अनुसन्धान नै भएको छैन

नेपालमा एक व्यक्तिबाट कतिलाई सर्छ भन्ने विषयमा अनुसन्धान नै भएको छैन । नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्यसचिव डा. प्रदीप ज्ञवालीले यो विषयमा नेपालमा अनुसन्धान नभएको बताए । 

‘कन्ट्याक्ट ट्रेसिङको हिसाबले हेर्नुपर्ने हुन्छ ।  एउटा संक्रमित कहाँकहाँ पुग्यो ? उसले कतिलाई सार्‍यो भनेर हेर्नुपर्छ । अहिले यो डाटा उपलब्ध भएको छैन । यो कसले गर्ने भन्ने पनि छ,’ उनले भने ।

स्रोत: Shilapatra

Comments