
नेपालमा आज थप ७४० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालका प्रयोगशालामा गरिएको परीक्षणमा ७४० जनामा कोरोना देखिएको बताए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्याको संख्या १५ हजार नाघेको छ । नेपालमा कुल संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा ८७३ जनाले कोरोना भाइरसलाई जितेर घर फर्किएका छन् । यसरी नेपालमा कोरोना भाइरस संक्रमणलाई जितेर घर फर्किनेको संख्या ६ हजार १८३ पुगेको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा देशभरका २३ वटा प्रयोगशालमा ४ हजार ४८३ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । त्यस्तै, ३५ हजार ४७२ जना क्वारेन्टाइनमा रहेका छन् भने ९ हजार ८४ आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैबीच काठमाडौंको नयाँ बानेश्वरका १ पुरुषको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको निममित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंकाे नयाँ बानेश्वर बस्ने ८५ वर्षीय पुरुषको मृत्यु भएको पुष्टि गरेका हुन् ।
उनका अनुसार ती व्यक्ति उच्च रक्तचाप र पार्किन्सन समस्या भएका र छातीको दुखाइ र पिसाब कम भएको समस्या लिएर निजी अस्पतालमा गएका थिए । उनले अस्पतालको आइसोलेसनमा राखेर उपचार भएको र उपचारकै क्रममा १७ असारको राति ११ बजे उनकाे मृत्यु भएको बताए ।
उनको स्वाबको परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको उनले बताए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।
Comments