Loading...
Logo
Image

काठमाडौं उपत्यकाको ढलमा पनि कोरोना भाईरस भेटियो, विज्ञ भन्छन् संक्रमण समुदायमा फैलिएको पुष्टि भयो

काठमाडौं उपत्यकाका ढलमा कोरोना भाइरस देखिएको छ।

सेन्टर फर मोलिक्युलर डायनामिक्स नेपालले गरेको अनुसन्धानमा उपत्यकाको ढलमा कोरोना भाइरस देखिएको हो।

बिहीबार उपत्यकाका विभिन्न स्थानबाट संकलन गरी परीक्षण गरेको ढलको पानीमा कोरोना भाइरस देखिएको तथ्य सार्वजनिक गरिएको छ । अध्ययनबाट चार स्थानमध्ये दुई स्थानका ढलको पानीमा कोरोना भाइरस देखिएको बताइएको छ । सार्स २ इन्भारोमेन्टल सर्भिलेन्सले २ महिनादेखि काठमाडौंमा गरेको अध्ययनमा ढलमा कोरोना भाइरस देखिएको हो।

सो अनुसन्धानका मुख्य अनुसन्धानकर्ता डा दिवेश कर्माचार्यले पछिल्लो १४ दिन भित्रको ढलबाट लिइएको नमुनाको जेनेटिक अध्ययनमा २ स्थानको ढलमा कोरोना भाइरस देखिएको जानकारी दिए।

उनले भने, ‘हामीले कम्तिमा १०० घरको शौचालयको ढल एकै स्थानमा जाने मुख्य चार स्थानको ढलको नमुना लिएका थियौँ। मानिसको दिसामा समेत कोरोना भाइरस रहेकाले त्यो ढलमा देखिएको हो।’

उनले कोरोना भाइरस मानिसको दिसामा भएको र भाइरस समुदायमा गइसकेको संकेत अनुसन्धानले दिएको बताए।

जनस्वास्थ्यविद् डा. समीरमणि दिक्षितका अनुसार ढलमा देखिनु भनेको धेरै जनामा भाइरस छ भन्ने संकेत हो । उनले भने, 'हामीले समुदायमा पहिलेदेखि नै भाइरस छ भनेर पिसिआर परीक्षण दायरा बढाउनुपर्छ भन्दै आएका थियौँ। अध्ययनले पनि त्यही पुष्टि गरेको छ। परीक्षण बढाउनुपर्छ।’

उपत्यकाका बासिन्दामा कोरोना भाइरस संक्रमण देखिएपछि कोरोना संक्रमण समुदायमा गएको आंशका गरिएको छ।

Comments