
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच ३ घण्टा छलफल भएको हो ।
पार्टीभित्र देखिएको विवाद समाधानका लागि लगातार पाँचौ बैठक बसेको हो । जारी स्थायी कमिटीको बैठक स्थगित गरेर विवाद मिलाउने प्रयास भइरहेको छ । विवाद मिलाउने प्रयासमा बसेको दुई अध्यक्षबीचको वार्ता प्रधानमन्त्रीको राजीनामामा अड्किएको तर छलफल सुधारोन्मुख भएपनि विवाद मिल्न बाँकी रहेको बताइएको छ ।
ओली–प्रचण्डबीच सोमबार भएको छलफलमा केही विषयमा सहमति जुटेको बताइए पनि प्रधानमन्त्रीको राजीनामाका विषयमा कुरा मिल्न सकेन ।
ओली केही मुख्यमन्त्री हेरफेर गर्न र मन्त्रिपरिषद हेरफेर गर्न सहमत भएको स्रोतले बताएको छ ।
‘दुवै अध्यक्षबीच भएको छलफलमा केही कुरा मिलेका छन् । जसमा मुख्यमन्त्री हेरफेर, मन्त्रिपरिषद हेरफेर र सरकार सञ्चालन गर्न संयन्त्र बनाउने विषयमा सहमति भएको छ,’ स्रोतले भन्यो ।
दुवै अध्यक्षबीच भएको छलफलमा अरु सबै कुरामा सहमत भए पनि राजीनामा दिने कुरामा सहमत हुन नसक्ने बताएको स्रोतले उल्लेख गरेको छ ।
Comments