
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ऐतिहासिक एकतालाई ध्यानमा राखेर पार्टी को बिवाद समाधान गरिने बताएका छन् ।
बाढी प्रभावित विभिन्न स्थानहरूको अवलोकन गर्न चितवन पुगेका प्रचण्डले माडीमा आयोजित भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् ।
केही तत्व पार्टीका नेताहरुलाई उकासेर पार्टी बिभाजन गर्न लागि परेको उनको भनाइ थियो । ‘केही तत्व कहिले मलाई र कहिले प्रधानमन्त्री ओलीलाई उचाल्न सक्रिय छन्, तर हामी सधैँ एक छौँ, उनले भने ‘एकतालाई जोगाउन सतर्कतापूर्वक संघर्ष गरिरहेको छु र पार्टी नफुटोस् भन्नेमा हामी सचेत छौँ ।
कार्यकर्ताहरूलाई आरोप प्रत्यारोप नगर्न र सबैलाई एकढिक्का हुन आग्रह गरे । उनले भने, ‘प्रधानमन्त्री ओली र म पार्टीभित्र स्वच्छ प्रतिस्पर्धामा छौँ । हतारमा कुुुुनै पनि निर्णय गरिने छैन ।'
माडी जानुअघि उनले भरतपुर महानगरपालिका २७ र २८ को सीमा निउरेमा नारायणी नदीले कटान गरेको क्षेत्रको अवलोकन गरेका थिए । उनले अवलोकनका क्रममा तटबन्धनको काम प्रभावकारी तरिकाले गर्न निर्देशन दिएका थिए ।
अवलोकनमा प्रदेश सांसदहरू कृष्ण भुर्तेल र विजय सुवेदी, भरतपुर महानगर प्रमुख रेनु दाहाल पनि सहभागी भएका थिए ।
Comments