Loading...
Logo
Image

'श्रीमती र छोरीलाई तान्दा तान्दै पहिरोले लग्यो'

धवलागिरी गाउँपालिका-६ रिखकी ३३ वर्षीया हीरा जुग्जालीको शुक्रबार बिहानै कोदो रोप्न बारीमा जाने योजना उज्यालो हुन नपाउँदै खसेको पहिरोले पूरा हुन दिएन ।

‘बिहानै मेलामा जाने योजना थियो । जेठी छोरी र छोरा मसँग थिए,’ हीराका श्रीमान् धनबहादुरले भने, ‘अर्को कोठामा सुतेका २ छोरी र श्रीमतीलाई तान्दातान्दै पहिरोले बगायो ।’

पहिरोमा भाग्ने क्रममा घाइते भएर बेनी अस्पतालमा उपचार गराइरहेका धनबहादुर श्रीमती, छोरी कञ्चन र करिश्मालाई गुमाउनुको पीडाले भक्कानिए ।

जुग्जालीका छोरा अर्जन र अर्की छोरी रितु पहिरो आएको थाहा पाएपछि भागेका थिए । करिब ३६ घण्टासम्म शरीरमा लागेको चोटको पीडा सहेर बसेका धनबहादुरले शनिबार साँझ अस्पताल आएपछि दुःखाई कम भएको सुनाए ।

‘खेतबारी, गोठ र घर सबै पहिरोले बगायो’, उनले भने, ‘न बस्ने घर छ । न जीवनमा साथ दिने श्रीमती र साना छोरीहरु रहे ।’ पहिरोमा घाइते भएका १२ जनाको शनिबार दिउँसो नेपाली सेना र प्रभु एयरको हेलिकोप्टरमार्फत् उद्धार गरिएको थियो । 

पहिरो खस्न थालेपछि घरभित्र सुतिरहेकी आमा ताजिमा केसी र साथी सविन पुनलाई उद्धार गर्न गएका धवलागिरी गाउँपालिका-६ कल्लेनीका १६ वर्षीय प्रकाश केसी पहिरोमा पुरिए ।

घरछेउको खोल्सामा बाढी र माख्लाको भिरबाट पहिरो खस्न थालेपछि शुक्रबार बिहान १ बजे छिमेकी परदेवी पुन कहाँ गएका केसी आमा र साथीलाई भगाउन बिहान ५ बजेतिर घर गएका थिए ।

‘मामा (प्रकाश) ले राति १ बजे आएर हामीलाई उठाउनुभयो । बिहानै उपल्लो कल्लेनी जाने भनेर बसेका थियौँ,’ पहिरोमा भाग्ने क्रममा घाइते भएकी परदेवीले भने, ‘५ बजेतिर उज्यालो हुन लागेपछि खोला कत्रो आयो हेर्छु, सविन र आमालाई उठाएर ल्याउँछु भनेर गएका मामालाई हेर्दाहेर्दै पुर्‍यो । हामीलाई पनि भाग्दाभाग्दै ढुङ्गाले चोट लाग्यो ।’
 
धवलागिरी, मालिका र रघुगङ्गा गाउँपालिकामा शुक्रबारको पहिरोले २७ जनाको मृत्यु भएको छ ।  बेपत्ता भएका तीन जीवितै सम्पर्कमा आएका छन् । ४ अझै बेपत्ता छन् । धवलागिरी-६ मराङका १८, मालिका-७ बिमका ८ र रघुगङ्गा-६ ठाडाखानीका १ जनाको शव भेटिएको प्रहरी नायब उपरीक्षक किरणजङ्ग कुँवरले बताए ।

 

स्रोत: रासस

Comments