Loading...
Logo
Image

काठमाडौं उपत्यकाको समुदायमा कोरोना संक्रमण छिर्यो

काठमाडौं उपत्यकाको समुदायमा कोरोना भाइरस संक्रमण छिरेको पाइएको छ । इपिमिडियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले काठमाडौंको १२ ठाउँबाट स्याम्पल लिएर परीक्षण गर्दा ३ जनामा कोरोना भाइरस भेटिएको हो । ती ३ जनाको ट्राभल हिस्ट्री नरहेको महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए । 

‘पछिल्ला दिनमा काठमाडौं उपत्यकामा संक्रमित बढिरहेका छन् । अहिलेसम्म उपत्यकामा ३ सय ४७ जना संक्रमित पुगेका छन् । धेरै बाहिरबाट आएका छन् । केही व्यक्ति यात्रा नगरेका पनि संक्रमित भएका छन् । समुदायमा समस्या हो कि भनेर १२ स्थानमा परीक्षण गरेका छौँ,’ उनले भने । 

ललितपुरको नख्खु टोल, काठमाडौंको कोटेश्वर, शहीद गंगलाल अस्पताल, शंखमुल, बुढानीलकण्ठ नगरपालिका, कपन, विमानस्थल, डिल्लीबजार, मनहरा, भक्तपुरको बोडेलगायतका स्थानबाट ३ हजार स्याम्पल लिइएको उनले बताए । ‘१२ स्थानबाट ३ हजार स्याम्पल लिँदा ३ जनालाई संक्रमण देखियो । उनीहरूको ट्राभल हिस्ट्री देखिँदैन,’ उनले भने ।

देशभर ६ देखि ७ प्रतिशत समुदायका

देशभर ट्राभल हिस्ट्री नभएका ६ देखि ७ प्रतिशतको हाराहारीमा छन् । ‘देशव्यापी ६ देखि ७ प्रतिशत र उपत्यकामा ०.१८ प्रतिशत छ । यसको मतलब समुदायमा छिटपुट देखिएको  छ,’ डा. पाण्डेले भने । 

अब समुदायमा व्यापक परीक्षण

अब समुदायमा व्यापक परीक्षण गरिने उनले बताए । ‘अब व्यापक रूपमा समुदायबाट स्याम्पल लिन्छौँ । हामी सुरक्षित छौँ कि छैनौँ भनेर हेर्नुपर्छ,’ उनले भने, ‘देशभरबाट ४५ हजार र उपत्यकाबाट ५ हजार स्याम्पल लिएर परीक्षण गर्छौं ।’

जोखिम क्षेत्रमा परीक्षण

बैंक, मालपोत ट्याक्स अफिस, हेल्थ वर्करलगायत जोखिममा रहेकाको परीक्षण गरिने उनले बताए । ‘रिस्कमा रहेकाको स्याम्पल लिने हो,’ उनले भने, ‘यसबाट परीक्षणको दायरा पनि बढ्छ ।’

परीक्षणको दायरा बढ्छ

सरकारले परीक्षणको दायरा बढाउने भएको छ । पछिल्ला दिनमा कम परीक्षण भएकाले कम संक्रमित देखिएको भन्ने गुनासो आएपछि परीक्षणको दायरा बढाउन लागिएको हो । 

‘क्वारेन्टाइनमा पनि कम छन् । अब होल्डिङ सेन्टरमा रहेका सबैको परीक्षण हुन्छ । नाकाबाट आउनेको पनि तत्काल परीक्षण गर्छौं । प्रभावित जिल्लाबाट पनि कलेक्सन गर्छौं । त्यसपछि दायरा पनि बढ्छ,’ उनले भने । 

स्रोत: Shilapatra

Comments