
धरानकी गीता (परिवर्तित नाम) हाल भक्तपुरकाे जडीबुडीमा बस्छिन् । एक निजी कम्पनीमा काम गर्छिन् । उनलाई चैतकाे दोस्रो साता फेसबुकमा एक जना युवाको ‘फ्रेन्ड रिक्वेस्ट’ आयो ।
देश कोरोना भाइरस (कोभिड–१९) को महामारीको त्रासले लकडाउनमा थियो । अफिस बन्द । घरभित्र बस्नुपरेकाले गीताको ‘टाइम पास'को माध्यम फेसबुक नै बनेको थियो ।
रिक्वेस्ट पठाउने युवा दीपक मोक्तान थिए । उनको ‘प्रोफाइल पिक्चर’ मा बेलायती लाहुरेको कम्ब्याट ड्रेस लगाएको फोटो थियो । गीताले उनको प्रोफाइल पिक्चर देखेपछि रिक्वेस्ट एप्सेक्ट गर्न १ मिनेट पनि सोचिनन्, कन्फर्म बटन थिचिहालिन् ।
गीता भन्छिन्, 'फेसबुकमा साथी बनेँ । त्यसको केही क्षणमा नै 'हेल्लाे' भनेर म्यासेज आयाे । मैले तुरुन्तै रिप्लाई दिएँ ‘हाई’ भनेर ।'
फेसबुकमै कुरा हुँदै गएपछि दीपक र गीता नजिकिए । सबै कुरा शेयर हुन थाल्यो । दीपकले आफू बेलायती लाहुरे हुँ भनेका थिए । गीताले उनको कुरा पत्याइन् ।
लकडाउनै समयमा भेटघाट पनि भयो । दीपकले पहिलो भेटमै गीतालाई आफू लकडाउनका कारण नेपालमा फसेको गुनासो गरे । गीतालाई हाेला नि त भन्ने लाग्यो । त्यसको केही दिनमा उनले गीतालाई प्रस्ताव गरे, ‘मेरो सबै कुरा बेलायतमै छुट्यो । पैसा निकाल्न पाइनँ । पछि फिर्ता गरिदिन्छु ।
मलाई केही रकम सापट दिनु ।’
उनको कुरा पत्याएकी गीताले दीपकलाई ५ लाख रुपैयाँ दिइन् । त्यति हुँदासम्ममा उनीहरू मायाजालमा परिसकेका थिए । पछि गीताले आफूले बनाएको सुनको सिक्री र औँठीसमेत दिइन् ।
सुन पाएपछि प्रेमी फरार
सुन र पैसा पाएपछि भने दीपक सम्पर्कविहीन भए । गीतालाई शंका लाग्यो । आफू ठगिएँ कि भनेर । उनी प्रहरीमा पुगिन् । प्रहरीले अनुसन्धान गर्दै जाँदा उनी नक्कली लाहुरे भएको खुल्यो ।
उनी सिन्धुपाल्चोक जिल्लाकाे सुनकोशी गाउँपालिका– ८ का दीपक मोक्तान भन्ने दीपक लामा थिए । गीताको उजुरीका आधारमा लामा कोटेश्वरबाट पक्राउ परेका छन् ।
प्रहरीका अनुसार मोक्तानले सामाजिक संजाल फेसबुकमा दिपक मोक्तानबाट फेसबुक आईडी खाेलेर आफू ब्रिटिस लाहुरे हुँ भनी विभिन्न आश्वासन दिँदै ती युवतीलाई ठगेका हुन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार केसीका अनुसार मोक्तानले लाहुरे हुँ भनेर धरान निवासी एक महिलाको सुनको सिक्री, सुनको औँठी तथा नगद ५ लाख रुपैयाँ लिई २ महिनाअगाडि फरार भएको उजुरी दिएपछि पक्राउ गरिएको हो ।
उनको साथबाट सुनको सिक्री र औंठी बरामद गरिएको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ ।
-
4 months ago
एमालेका सचिव लेखराज भट्टलाई ज्यान मार्ने धम्की
-
-
Comments