Loading...
Logo
Image

१०१ अनलाइन प्रेस काउन्सिलको कारवाहीमा

पछिल्लो समयमा सञ्चारमाध्यममा सम्प्रेषित समाचारको विषयलाई लिएर ती सञ्चारमाध्यमविरुद्ध उजुरी पर्ने क्रम बढ्दै गएको छ ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले सुरु गरेको लकडाउनको अवधिमा मात्र प्रेस काउन्सिल नेपालमा पत्रकार आचारसंहिता उल्लङ्घनसम्बन्धी ७३ वटा उजुरी परेका छन् । ती उजुरी व्यक्तिगत वा संस्थागतरूपमा चरित्र, मानसम्मान, मर्यादा, इज्जत, सार्वजनिक सरोकार, ठगी आदि विषयसँग सम्बन्धित छन् ।

आर्थिक वर्ष २०७६/७७ मा छापा र विद्युतीय गरी २६५ वटा पत्रकार आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी परेका छन् ।

छापामाध्यमविरुद्ध परेका ३५ उजुरीमध्ये १३ उजुरी फर्स्यौट भएका छन् । काउन्सिलले गरेको स्वअनुगमनबाट १६३ समाचार आचारसंहिता उल्लङ्घनका छन् । ती सबै फर्स्यौट भएका छन् । त्यसैगरी जनगुनासोमध्ये ३ वटा उजुरी पनि फर्स्यौट भएका छन् । 

बन्दाबन्दी ११ चैत २०७६ देखि ३१ असार २०७७ को अवधिमा छापा माध्यमविरुद्ध परेका १३ उजुरीमध्ये १० फर्स्यौट भएको छ ।

बन्दाबन्दीकै बेला गरिएको स्वअनुगमन ३९ समाचार सामग्री भेटिएकामा सबै फर्स्यौट गरिएको काउन्सिलले जनाएको छ । यो वर्ष कुनै पनि पत्रपत्रिकालाई कालोसूचीमा राखिएको छैन । 

त्यसैगरी विद्युतीय माध्यमविरुद्ध यो वर्ष १ सय ५७ वटा उजुरी परेका छन् । तीमध्ये १ सय २३ फर्स्यौट भएको छ । स्वअनुगमनबाट ५ सय ५४ आचारसंहिता उल्लङ्घनका समाचार सामग्री भेटिएको छ । तीमध्ये ५५१ वटाको फर्स्यौट पनि भएको छ । ९ वटा जनगुनासोमध्ये ६ फर्स्यौट भएको जनाइएको छ । 

बन्दाबन्दी सुरु भएको दिनदेखि असार ३१ सम्म विद्युतीय सञ्चारमाध्यमविरुद्ध ६० उजुरी परेका छन् । स्वअनुगमन गर्दा १३ आचारसंहिताविपरीतका समाचार सामग्री पाइएको छ । तीमध्ये ६१ फर्स्यौट भएका छन् ।

३ विद्युतीय सञ्चारमाध्यमलाई यो वर्ष कालोसूचीमा राखिएको छ । यस्तै १०१ वेबसाइटलाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने गरी कारवाही गरिएको प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुषालले जानकारी दिए ।

काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले काउन्सिलमा आउने उजुरीउपर कारवाही गर्ने मात्रै भन्दा पनि सहमति र मिलापत्रसमेत गर्ने गरिएको बताए ।

बन्दाबन्दीको अवधिमा समेत काउन्सिलले निरन्तर अनुगमन गरिरहेको उनको भनाइ छ । काउन्सिलले आगामी वर्ष पनि नियमित र प्रभावकारीरूपमा आचारसंहिताको अनुगमन, उजुरी, सुनुवाइ तथा कारवाही प्रक्रिया जारी राख्ने भएको छ । 

त्यसैगरी पत्रपत्रिका वर्गीकरण, विभिन्न नीतिगत, प्रशासनिक सुधारका कार्यहरू, पत्रकारलाई अनुदान, उपचार खर्चलगायतका सुविधा प्रदान गर्ने, पत्रकारितासम्बन्धी तालीम, अध्ययन अनुसन्धानसम्बन्धी कार्य अघि बढाउने र प्रकाशनका कार्यलाई पनि निरन्तरता दिने भएको छ ।

काउन्सिलले मैथली भाषाको पत्रकारिता आचारसंहिता अनुगमन गरी प्रकाशन गर्नुका साथै विभिन्न भाषामा पत्रकार आचारसंहिता पनि प्रकाशन गर्ने आगामी कार्ययोजनामा उल्लेख छ ।

यस वर्ष विराटनगर, मोरङ, महोत्तरी, सिराहा, रोल्पा, प्यूठान, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ र जाजरकोटलगायतका जिल्लामा जिल्लास्तरको पत्रकार आचारसंहिता जागरण कार्यक्रम सम्पन्न गरिएको प्रशासकीय अधिकत भुषालले जानकारी दिए ।

काउन्सिलले कोरोना महामारीको समयमा मिडियाको विश्वसनीयतासम्बन्धी मिडिया सर्वेक्षण गरी प्रतिवेदन सार्वजनिक गरेको थियो । 

हालसम्म काउन्सिलमा २ हजार १ सय ३० सूचीकृत भएका छन् । त्यसैगरी विभिन्न अनलाइन सञ्चारमाध्यमबाट प्रवाह भएका २३ लाख ८७ हजार ५३९ सामग्री अभिलेख गरिएको छ ।

विभिन्न पत्रपत्रिकाका ३५ लाख पृष्ठ स्क्यान भएको छ । विभिन्न एफएम रेडियोबाट प्रसारित ३९ लाख ५  हजार ४९० सामग्री क्लिप काउन्सिलले रेकर्ड गरी स्टोरेज गरेको छ ।

२०७५ वैशाखदेखि हालसम्म ३२ च्यानल टिभीबाट मिडिया कन्टेन्ट अभिलेख भइरहेको छ । त्यसैगरी पत्रपत्रिका व्यवस्थापन प्रणालीमा आवद्ध ९ सय ७७ पत्रपत्रिका ७० हजार ८७ पीपीएफ सामग्री अभिलेख भएको छ । 

स्रोत: रासस

Comments

KATHMANDU WEATHER