Loading...
Logo
Image

राज्यको ढुकुटीमा स्थानीय तहको रजाइँ, एउटा तन्नाको ८ हजार, सिरानीको खोलको २८ सय!

सिरहा नगरपालिकाले बज्र मावि र सूर्यनारायण सत्यनारायण बहुमुखी क्याम्पसमा क्वारेन्टाइन सञ्चालन गरेको थियो । भारतबाट घर फर्किनेहरूलाई सीमामै रहेको सोही विद्यालयको क्वारेन्टाइनमा राख्ने गरिएको थियो । 

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवका अनुसार यी २ क्वारेन्टाइनमा अहिलेसम्म करिब २३ जना बसेको तथ्याङ्क छ । तीमध्ये पीसीआर परीक्षणबाट पोजिटिभ आएकाहरू आइसोलेसन अस्पताल गए भने नेगेटिभ आएका रिपोर्ट आउनेवित्तिकै घर फर्किइसकेका छन् । अहिले ७४ जना क्वारेन्टाइनमा छन् । 

क्यारेन्टाइनमा ओछ्यानदेखि खानपानसम्मको बिजोग छ । नियन्त्रणकारी उपाय अवलम्बन गर्न नगरपालिका असफल हुँदा क्वारेन्टाइनबाटै कोरोना धेरै जनामा फैलियो । 

तर, नगरपालिकाले क्वारेन्टाइन व्यवस्थापनदेखि कोरोना संक्रमण नियन्त्रणमा गरेको खर्च जिल्लामै सबैभन्दा बढी छ । यस नगरपालिकाले ५ करोड ९० लाख ८६ हजार ४ सय ३० रुपैयाँ खर्च गरेको जनाएको छ । 

क्वारेन्टाइनमा बस्नेहरूलाई महँगा तन्ना, तकिया, डस्ना र तकियाको खोल बन्दोबस्त गरेको नगरपालिकाले सार्वजनिक गरेको समान खरिदको विवरणबाट प्रस्ट हुन्छ । 

नगरपालिकाले ३ लाख १९ हजार २ सय ७५ रुपैयाँमा १ सय ११ थान तकियाको खोल खरिद गरेको विवरण जिल्ला कोभिड नियन्त्रण समितिलाई बुझाएको छ । 

नगरपालिकाको विवरणअनुसार एउटा तकियाको खोल २८ सय ७६ रुपैयाँ ३५ पैसामा खरिद गरिएको छ । ४५ लाख ३ हजार ७ सय ७५ रुपैयाँमा ५ सय ५८ थान तन्ना खरिद गरिएको छ । एउटा तन्ना ८ हजार ७१ रुपैयाँ २८ पैसामा खरिद गरिएको छ । 

साबुनदेखि मास्कको परिमाण र मूल्य बढाएर विवरण तयार पारी रकम अनियमितता रहेको गुनासोसहितको उजुरी परेपछि अख्तियारले आइतबार नगरपालिकाबाट बिलसहित विवरणको प्रतिलिपी लिएर गएको छ । 

स्रोत: Shilapatra

Comments