
टोखा नगरपालिका–१० स्थित गोंगबु गणेशस्थानमा बस्दै आएका दाङका कृष्णबहादुर बोहराले नक्कली फेसबुक आईडी बनाएर नग्न तस्वीर सार्वजनिक गरेपछि आवेशमा आएर हत्या गरेको अभियुक्त कल्पना मुडभरी पौडेलले बताएकी छन् ।
प्रहरीसँगको बयानमा पौडेलले मृतक बोहोराले नक्कली फेसबुक आईडी बनाएर नग्न तस्वीर सार्वजनिक गरेपछि शनिबार कोठामा बोलाएर दहीचिउरा खुवाएको बयान दिएकी छन् ।
दहीचिउरासँगै भोड्कामा नशालु पदार्थ मिसाएर खुवाएको र नशामा लट्ठ भएपछि अण्डकोषमा प्रहार गरी बेहोस बनाएको, बेहोस भएपछि घाँटी थिचेर हत्या गरेको उनको बयान छ ।
हत्या गरिसकेपछि किचेनमा भएको धारिलो हतियारले टाउको छिनालेको र त्यसपछि खुट्टा काटेको बयान उनले प्रहरीमा दिएकी छन् ।
शव टुक्राटुक्रा पारेपछि आफैँसँग भएको झोला र सुटकेसमा शव हालेर सडकमा लगेर फालिदिएको उनको बयानमा उल्लेख छ ।
शव व्यवस्थापनमा भने उनकी १७ वर्षीया छोरीले सहयोग गरेको उनले बयानमा भनेकी छन् । हत्या आफू एक्लैले गरेको र शव व्यवस्थापनमा भने छोरीले सहयोग गरेको उनको भनाइ छ ।
प्रहरीका अनुसार हत्याको कारण सेक्सुअल ह्यारेसमेन्ट रहेको र अण्डकोष फुटाएपछि घाँटी थिचेर हत्या गरेकाे र त्यसपछि मात्र शव टुक्राटुक्रा पारेको बयान कल्पनाले दिएको प्रहरीको भनाइ छ ।
हत्यामा संग्लन रहेको आरोपमा सोमबार राति चितवनबाट १ महिला पक्राउ परेपछि प्रहरीले घटनाको थप अनुसन्धान थालेको हो ।
पक्राउ परेकी कल्पनालाई घटनास्थलमा ल्याएर घटनास्थलको थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ । हत्यामा प्रयोग भएका विभिन्न सामानसमेत प्रहरीले बरामद गरेको छ ।
प्रहरीका अनुसार हत्यामा २ वटा खुकुरीको प्रयोग भएको पाइएको छ ।
Comments