
पैसा छैन, भविष्य छैन र पढेर पनि के गर्नु या जति गरे पनि राम्रो जीवनशैली नै हुँदैन भनेर अधिकांश युवा विदेशिइरहेको बेला स्वदेशमै देशको माया र सेवा गर्नुपर्छ भनेर नयाँ जोश, नयाँ जागर र नयाँ प्रविधिलाई आत्मसात् गर्दै धेरै युवाहरू नेपालमा उद्यमी व्यवसायीको बाटोतर्फ लम्किइरहेका छन् ।
अझ यो संकटकालीन घडीमा नयाँनयाँ प्रविधिमार्फत नेपाल र नेपालीलाई स्मार्ट जीवनशैली यसरी बिताउन सकिन्छ भनेर सिकाइ पनि रहेका छन् स्टार्टअपको माध्यमबाट ।
कोभिड- १९ को कहर सकिएला भन्दाभन्दै ४ महिना बित्यो ।संक्रमणको जोखिम उच्च हुँदा बाहिर हिँडडुल गर्न सक्ने अवस्था अझै छैन ।
सधैँ खाइरहनुपर्ने औषधि सकिएर हैरान छन् कति जना । औषधि पसल नजिकै छैन, टाढा जाने साधन छैन । रोग सर्छ भनेर त्रासमा छन् सबै जना । बिरामी परेर घरमै थलिएर बस्नुपर्ने अवस्था छ, अस्पताल गएर जाँच गराउन सक्नुभएको छैन ।
तपाईंका लागि सङ्कटकालीन अवस्थाको सारथि बन्न सक्छ नेपाल मेड । तपाईंलाई 'यो दबाई यो समयमा खानुहोस्’, ‘लौ दबाई सकिएछ, ल्याइदिन्छु है’, 'बिरामी पर्नुभयो ? ब्लड प्रेसर पो बढ्यो कि ! पख्नुहोस्, के भएको हो म जाँच्न आउँछु है’ भन्दै तपाईंका सन्तान जस्तै बन्छन् । साथै, तपाईंको किनमेलदेखि सल्लाहकारसम्म सबै बन्न सक्छ नेपाल मेड ।
उमेरले ३४ लागेकी सुप्रिया श्रेष्ठको सोच भने निकै ठूलो छ- स्वस्थ शहर बनाउने ।
सोहीअनुरुप सुप्रिया विश्व नै कोभिड–१९ ले थलिएर बसेको समयमा पनि घरघरै फार्मेसी सेवा दिन ब्यस्त छन् । उनी भन्छिन्, ‘अबको समय भनेको बिरामी फार्मेसीसम्म आउने होइन, फार्मेसीचाहिँ घरघरमा पुग्ने हो ।’
श्रेष्ठ विगत ३ वर्षदेखि नेपाल मेडको नेतृत्व गर्दै घरघरमा फार्मेसी सेवा पुर्याउँदै आएकी छन् ।
३ वर्षअगाडि ४ जनाबाट व्यवसाय सुरुवात गरेकी सुप्रियाले छोटो समयमा नै व्यावसायिक फड्को मार्न सफल बनेकी छन् ।
१५ लाख पुँजीबाट सुरु भएको व्यवसाय ६० लाख रुपैयाँसम्मकाे भइसकेको छ भने ४ जना कर्मचारीबाट अहिले ८ जनालाई रोजगारीसमेत दिइरहेकी छन् सुप्रियाले । त्यसो त उनका अहिले १ हजारभन्दा धेरै नियमित ग्राहक पनि भइसकेका छन् ।
गोल्ड मेडलिस्ट पैसाको अभावमा लक्ष्यबाट विमुख हुनुपर्दा
मध्यम परिवारमा जन्मिएकी एसएलसीकी गोल्ड मेडलिस्ट हुन् सुप्रिया । पढाइमा अब्बल भएकै कारण डाक्टर बन्ने सपना सानैदेखि थियो उनमा । त्यसैले प्लस टु पनि उनले साइन्स विषयमा नै गरिन् डाक्टर बन्ने चाहनाले ।
तर उनको डाक्टर बन्ने सपना त्यही २५ लाखले तुहियो, जुन उनीसँग थिएन र परिवारले पनि दिन सक्दैन थियो । त्यसैले आफ्नो डाक्टर बन्ने सपनालाई छेउ लगाउँदै उनी स्नातकका लागि पत्रकारिता संकायमा भर्ना भइन् र मास्टर्स पनि सोही विषयमा गरिन् ।
व्यावसायिक यात्रा : बजार प्रतिनिधिदेखि सञ्चालकसम्म
सपना पूरा नभएपछि पत्रकारितामा मास्टर्स गरेकी श्रेष्ठले सपनाको थोरै हिस्सा पूरा गर्न भए पनि एउटा औषधि कम्पनीको बजार प्रतिनिधि भएर काम गरिन् ।
भनिन्छ नि प्रयास सानो होस् या ठूलो, त्यसले अवश्य एक दिन सफलताको यात्रा तय गर्छ । पढाइ छोडेर घरगृहस्थीमा लागेको ८ वर्षपछि पुनः आफ्नो सपना पूरा गर्न कस्सिइन् उनी । सन्तान पनि हुर्किएकाले र परिवारको साथ भएपछि सपना पूरा गर्न उनी फेरि लागिपरिन् ।
कामको सिलसिलामा औषधिप्रतिको रुचि बढ्दै गएपछि पढाइ छोडेको ८ वर्षपछि उनले फार्मेसी पढिन् । लाइसेन्स निकालेपछि साथीहरूको सहकार्यमा औषधि पसल खोलिन् १५ लाख रुपैयाँकाे लगानीमा ।
पसल त खोलियो, अब आफूलाई अब्बल कसरी बनाउने ? यही साेचले उनलाई पृथक् बनायो । पारम्परिक शैलीलाई तोड्दै उनी प्रविधि र व्यवसायको फ्युजन गरेर अगाडि बढिन् ।
सुप्रिया भन्छिन् ‘अनलाइन सपिङ ट्रेन्डमा आए पनि औषधिचाहिँ पसलमै गएर किन्नुपर्छ, बार्गेनिङ गरेर भए पनि सस्तोमा गुणस्तरीय औषधि पसलमा गए मात्र पाइन्छ भन्ने अधिकांशको सोच छ । यही सोचलाई तोड्दै मैले अब बिरामी फार्मेसी पसलसम्म होइन, फार्मेसी पसलचाहिँ हरेक बिरामीकाे घरसम्म पुग्नुपर्छ भन्ने सोचलाई कार्यान्वयनमा ल्याउन दृढ अठाेट गरेँ र अनलाइन बुकिङ तथा फ्रि होम डेलिभरीको व्यवस्था गर्न थालेँ ।’
नयाँ सोच बोकेर नयाँ शैलीमा ग्राहकलाई ढाल्नु निकै चुनौतीको कुरा हो । यही चुनौती सुप्रियामाथि थपियो । कहिले ग्राहकलाई यसरी अर्डर गर्ने भनेर सिकाउन लागिन् त कहिले दबाई सकिन लाग्यो भनेर जानकारी दिन थालिन् उनी ।
यसरी सामाजिक संजाल फेसबुक, भाइबर, ट्विटरलगायतबाट जानकारी दिने गरिन् । तर कहाँ परिवर्तन हुन्छ र ग्राहकको पसल गएरै किन्नुपर्ने बानी ।
सुप्रिया भन्छिन्, ‘सुरुसुरुमा धेरैले शंकाको दृष्टिकोणले हेर्नुभयो, औषधिजस्तो कुरा नक्कली वा कम गुणस्तरको पो हुन्छ कि भनेर, तर हामीले दिने गुणस्तरीय औषधि, उपकरण, ल्याबसम्बन्धी उच्चस्तरीय सेवाले गर्दा ग्राहकहरूकाे विश्वास जित्न सफल भयौँ ।’
३ वर्षदेखि लगातार निःशुल्क डेलिभरी गर्दै आएकी सुप्रिया अनलाइनप्रतिको विश्वास बढाउन थप सफल भएको बताउँछिन् ।
उनी भन्छिन्, 'सु्रुमा हामीलाई बजार लिन गाह्राे भए पनि गुणस्तरीय औषधि, तोकिएकै बजार मूल्यमा, डेलिभरी शुल्कबिना सहज रूपमा उपलब्ध गराउन थालेपछि विस्तारै हामीलाई ग्राहकहरूले विश्वास गर्न थाल्नुभयाे । अहिले ग्राहकहरूले विश्वास गरेर औषधि मगाउने क्रम पनि बढेको छ । आजसम्म आइपुग्दा हाम्राे ग्राहक संख्या पनि बढेकाे छ । हाल १ हजारभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएका छाैँ ।'
अहिले उनले ८ जना कर्मचारीबाट काठमाडौँ उपत्यकाका तीनैवटा जिल्लामा सेवा पुर्याउँदै आएकी छन् ।
संक्रमणमा कसरी सेवा दिँदै छन् सुप्रिया ?
कोभिडको संक्रमण बढ्दै जाँदा सुरुमा सबै कर्मचारीलाई सुरक्षित रूपमा घरमा बस्न भने पनि सुप्रिया आफू भने डरलाई नियन्त्रण गर्दै अनवरत सेवामा खटिइरहिन् ।
यसरी होम डेलिभरी गर्दा डेलिभरी गर्नेलाई र बिरामी दुवैलाई संक्रमणको जोखिम बढ्ने हुनाले पीपीई, मास्क, पञ्जा र स्यानिटाइजर लगाएर सामान घरघरै पुर्याउँदै आएकी छन् । उनी सबै ग्राहकलाई अनलाइनबाटै पेमेन्ट गर्न पनि आग्रह गर्छिन् ।
त्यति मात्र नभएर आफूबाट संक्रमणको खतरा नहोस् भनेर सामान ग्राहकलाई दिइकेपछि २४ घण्टा नछुन आग्रहसमेत गर्दै आएकी छन् ।
नेपाल मेडको नयाँ शैली, बढ्दो लोकप्रियता
नेपाल मेडले कोरोनाको कहरमा पनि दिर्घरोगीहरूका लागि औषधि घरमै पुर्यादिने काम गर्दै आएको छ । त्यति मात्र नभएर नेपाल मेडले औषधि सकिएको जानकारी दिने, औषधि कसरी र कति पटक प्रयोग गर्ने, खरिद गरिएका औषधिका राम्रा र नराम्रा पक्षबारे जानकारी दिने पनि गर्दै आएको छ ।
योसँगै उपत्यकाका तीन जिल्लामा ब्लडप्रेसर जाँच्ने, ल्याब परीक्षण गर्नेलगायत औषधिजन्य उपकरणसमेत घरमै पुर्याउँदै आएको छ ।
यसरी नि:शुल्क होम डेलिभरीको समेत व्यवस्था गर्दै आएको छ । जसले गर्दा बिरामीहरूले बजारको मूल्यमा नै घरमा बसीबसी सामान्य चेकअप र औषधिहरू पाउन सक्नेछन् ।
घरघरमा डाक्टर : सुप्रियाको योजना
३ जिल्लामा मात्र समेटिएको नेपाल मेडलाई नेपालभरि फैलाउने संचालक सुप्रियाको योजना छ । 'गरे के हुँदैन र ?' भन्ने सोच लिएर अगाडि बढेकी उनी सानो लगानी गरेर पनि देशलाई स्मार्ट बनाउँदै व्यावसायिक यात्रामा लामो फड्को मार्न अनवरत लागिपरिरहेकी छन् । जसका लागि सेवा थप्ने उनको योजना छ ।
प्रविधिको जमानामा फोन कलमा मात्र सीमित नरहेर छुट्टै एप बनाउने र घरमै पुगेर डाक्टरले उपचार गर्न सक्ने व्यवस्था गर्न लागिपरिरहेकी छन् । उनकाे अबकाे लक्ष्य नै हरेक घरमा डाक्टर पुर्याउने छ ।
-
2 months ago
सरोगेसी के हो ? के यो नेपालमा बैधानिक छ ?
-
-
Comments