
आयुर्वेद आयु र वेद मिलेर बनेको छ । आयु भनेको जीवन, वेद भनेको शास्त्र । जुन शास्त्रमा जीवनको विषयमा वर्णन गरिएको हुन्छ, त्यो आयुर्वेद हो ।
आयुर्वेदमा आयुलाई कसरी राम्रो बनाउने भन्ने उल्लेख गरिएको हुन्छ । वेदमा स्वस्थ रहनका लागि बिरामी भएपछि केके गर्ने भनेर ग्रन्थ बनाइयो । त्यही ग्रन्थ नै आयुर्वेद हो । आयुर्वेदले रोग लाग्न नदिन मानिसलाई सहयोग गर्छ ।
कोरोना भाइरस (कोभिड–१९) ले विश्व नै थलिएको छ । वैज्ञानिकहरू यसको खोज अनुसन्धानमै छन् । औषधि र भ्याक्सिनका लागि विश्वका वैज्ञानिकहरू जुटिरेहका छन् तर पनि पत्ता लगाउन सकेका छैनन् । आयुर्वेदको प्रयोगबाट कोरोना संक्रमित छिटो निको भएका छन् ।
१ सय ६७ जना निको भए।
कीर्तिपुरको आयुर्वेद अस्पताल कोरोना संक्रमितले भरिएको छ । प्राकृतिक पद्धत्तिबाट पञ्चकर्म, छारसूत्र, फिजियोथेरापि, अकुपञ्चरको उपचार गर्ने आयुर्वेद अस्पताल अहिले कोरोना फोकस भएको छ । प्राकृतिक पद्धत्तिबाट अस्पतालले कोरोना संक्रमितको उपचार गरिरहेको छ ।
‘अहिलेसम्म २ सय ७५ जना संक्रमित आएकोमा १ सय ६७ जना निको भएर घर फर्किनुभयो,' अस्पतालका आयुर्वेद विशेषज्ञ डा. विकासराज घिमिरेले भने, ‘अरू अस्पतालमा मोडर्न मेडिसिनको प्रयोग गरिएको हुन्छ । हामीले आयुर्वेदककै औषधि प्रयोग गरेका छौँ ।’
७ दिनमै निको
कोरोना पोजिटिभ भएर आयुर्वेद अस्पतालको आइसेलेसनमा आएका संक्रमित ७ देखि १० दिनमै निको भएर घर फर्किएका छन् । ‘संक्रमितको ७ दिनमा पीसीआर गराउँदा रिपोर्ट नेगेटिभ आएको छ । नेगेटिभ आएपछि डिस्चार्ज गरेका छौँ,’ अर्का आयुर्वेद विशेषज्ञ डा. निर्मल भुसालले भने, ‘७ दिनमा ८५ जनाको पीसीआर गराउँदा ७५ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।’
२ सय ३५ को क्षमता, १ सय जना आइसोलेसनमा
उक्त अस्पतालको आइसोलेसनमा अहिले पनि १ सय जना संक्रमित छन् । कोरोना फोकस अस्पतालमध्ये याे अस्पताल काठमाडौंमा सबैभन्दा ठूलो आइसोलेसन भएको अस्पताल पनि हो । आयुर्वेद अस्पतालमा २ सय ३५ जना संक्रमित राख्न सकिन्छ ।
आयुर्वेदको औषधि
संक्रमितमा ज्वरो, श्वासप्रश्वासमा समस्या, खोकी, पातलो दिसा, नाक, कान र घाँटीमा समस्या हुने लक्षण रहेको डा. भुसालले बताए । ‘संक्रमितमा लक्षणअनुसारको आयुर्वेदको औषधि दिएका छौँ,’ उनले भने, ‘सुरूमा लक्षण नभएका आएका थिए । अहिले लक्षण भएका छन् । घरबाट आउँदा लक्षण नभए पनि १–२ दिनपछि लक्षण देखिन थालेको छ ।’
गुर्जोको औषधि, दिनमा ४ पटक खाना
संक्रमितलाई खानासँगै गुर्जोको औषधि पनि खुवाउने गरिएको उनले बताए । ‘लक्षण नभएका संक्रमितलाई पनि खानासँगै गुर्जोबाट बनेको औषधि दिएका छौँ,’ डा. भुसालले भने, ‘याे औषधि अस्पतालले नै बनाएको हो ।’
आयुर्वेद अस्पतालमा संक्रमितलाई दिनमा ४ पटक खानाको व्यवस्था गरिएको छ । बिहानको खाजा, खाना, दिउँसोकाे खाजा र बेलुकाको खानाको व्यवस्था छ ।
अब योगा पनि
संक्रमितलाई छिटो निको बनाउन अस्पतालले योगा र परामर्श पनि गर्ने भएको छ । ‘संक्रमितमा मानसिक समस्या हुन नदिन योगा र काउन्सिलिङ सुरू गर्दै छौँ,’ डा. भुसालले भने, ‘संक्रमितले घर, परिवारलगायत अन्य कुराको चिन्ता लिने गरेको देखियो । यसका लागि योगा र काउन्सिलिङ आवश्यक देखिएकाे छ ।’
रोगलाई जित्न प्रतिरोधात्मक क्षमता चाहिन्छ
रोग लाग्यो भने पनि त्यसलाई परास्त गर्न प्रतिरोधात्मक क्षमता चाहिन्छ । सकेसम्म रोगलाई लाग्न नदिने हो । लाग्यो भने रोगलाई जित्न प्रतिरोधात्मक क्षमता चाहिन्छ ।
‘कोरोनाले कमजोर र दीर्घरोगीलाई आक्रमण गरिरहेको छ । रोगसँग लड्न प्रतिरोधात्मक क्षमता बलियो हुनुपर्छ,’ डा. भुसालले भने, ‘रोगप्रतिरोधी क्षमता बढाउन प्रकृतिसँग नजिक हुनुपर्छ । प्रकृतिसँग जति नजिक भयो, त्यति प्रतिरोधात्मक क्षमता बढ्छ । प्रतिरोधात्मक क्षमता बढ्नु भनेको रोग नलाग्न सहयोग गर्नु हो ।’
१/२ दिनमा प्रतिरोधात्मक क्षमता बढ्दैन
डा. भुसालले १/२ दिनमै प्रतिरोधात्मक क्षमता नबढ्ने बताए । ‘प्राकृतिक चिकित्साले शरीरलाई बलवान् बनाउँछ । तर १/२ दिनमै प्रतिरोधात्मक क्षमता बढ्ने होइन । लामो समयको अभ्यासले हुने हो,’ उनले भने ।
प्रतिरोधात्मक क्षमता बढाउन के खाने ?
रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता स्वस्थकर खानाले बढाउने डा. भुसाल बताउँछन् । ‘पकाएकाे स्वस्थकर खानेकुरा खाने । काँचो नखाने । बाहिरको खाना नखाने । समययमा सुत्ने । समयमा उठ्ने । सकारात्मक सोचले नै स्वस्थ रहन सकिन्छ,’ उनले भने ।
भान्सामा भएका २०–२५ प्रकारका जडीबुटीको प्रयोगले इम्युनिटी पावर बढाउन सकिने उनले बताए । तर, यसलाई १/२ दिन होइन, नियमित खान डा. भुसालले आग्रह गरे ।
‘मेथी, जुवानाे, धनियाँ, लसुन, प्याज, अदुवा, मरिच, टिम्मुर, दालचिनी, तेजपत्ता र घरवरिपरि पाइने एलोभेरा, तुलसी र गुर्जोजस्ता जडीबुटीले इम्युनिटी पावर बढाउँछ,’ उनले भने ।
आयुर्वेद डाक्टर २४सै घन्टा संक्रमितको उपचारमा
अहिले १ सय संक्रमितका लागि आयुर्वेद विशेषज्ञ डा. भुसाल र विकासराज घिमिरेको नेतृत्वमा १६ जनाको टिम छ । १४/१४ दिनमा परिवर्तन गरेर डाक्टर र नर्सको टोली संक्रमितको सेवामा खटिएको हुन्छ ।
‘झण्डै १६ जनाको टिम छौँ । १४ दिन गरेपछि अर्को डाक्टरको पालो आउँछ । डाक्टर आयुर्वेदकै हो भने नर्स अरू अस्पतालबाट सरकारले पठाएको छ,’ डा. भुसालले भने, ‘२४सै घण्टा नै संक्रमितलाई साथ र सहयोग गरेका छौँ । अक्सिजन दिनुपरे छुनैपर्छ । नत्र दूरी कायम गरेर र फोनबाट नियमित संक्रमितको सम्पर्कमै रहन्छौँ ।’
ओपीडी सेवा जारी
आयुर्वेद अस्पतालले ओपीडी सेवा बन्द गरेको छैन । यद्यपि अन्य रोगका नयाँ बिरामी कम जाने गरेका छन् । कोरोनाका कारण अस्पतालमा अन्य बिरामीको चाप भने कम छ । ‘ओपीडी खुला छ । अन्य बिरामीको सङ्ख्या घटेको छ । फलोअपमा आउने बिरामी आउनुहुन्छ । नयाँ आउनुभयो भने पनि उपचार हुन्छ,’ उनले भने ।
Comments