Loading...
Logo
Image

९ जनालाई घरभित्र थुनेर वडाअध्यक्षले मूलढोकामा ताल्चा लगाइदिए

कोरोना भाइरस (कोभिड- १९) संक्रमित भक्तपुर नगरपालिका–१० कमलविनायकका एक पुरुषको घरमा नौ जनालाई घरभित्र राखेर वडा अध्यक्षले ताल्चा लगाइदिएका छन् ।

करिव ४९ वर्षीय पुरुषमा गत बुधबार कोरोना भाइरस संक्रमण पुष्टि भएपछि खरिपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्रको आइसोलेसनमा राखिएको थियो । यसपछि  श्वासप्रश्वासमा समस्या आएपछि हाल उनीको पाटन अस्पतालमा उपचार भइरहेको छ भने परिवारलाई बाहिरबाट ताला लगाएर भित्रै राखिएको छ ।

कोरोना संक्रमित परिवारलाई होम आइसोलेसनमा राखेर जनप्रतिनिधिले आवश्यक परामर्श र सहयोग गर्नुपर्नेमा उल्टैभित्र राखेर बाहिरबाट ताल्चा मारिदिएपछि पीडित परिवार थप मानसिक तनाबमा परेको संक्रमितका परिवारले बताएका छन् । 

वडाध्यक्षसहितको टोलीले संक्रमित पुरुषकी आमासहित परिवारका चार जना र घरमा डेरागरी बस्ने पाँच जना गरी नौ जना घरभित्र नै राखेर घरको मूल ढोकामा ताल्चा लगाएर साँचो छिमेकीलाई दिइ केही परे छिमेकीलाई भन्नु भनेर गएको परिवारले जनाएका छन् । घरमा बाहिरबाट ताल्चा मारिदिएपछि घरभित्र रहेका वृद्धवृद्धा र साना बालबालिका त्रसित भएको बताउँदै वडाध्यक्ष र छिमेकीले पीडामाथि पीडा थपेको परिवारको गुनासो छ । 

भक्तपुर–१० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाले भने परिवारकै आग्रहमा ताल्चा मारेको दाबी गरे । भाडामा बस्ने बाहिर जाने आउने गर्दा छिमेकीमा संक्रमण होला भनेर छिमेकी र परिवारले आग्रह गरेपछि ताल्चा मारेको उनको भनाइ छ ।

अरू संक्रमितको घरमा डोरीले बाध्ने र घर सिल गर्ने गरे पनि यस घरमा भने प्रहरी र छिमेकीको रोहबरमा ताल्चा मारेर केही परे छिमेकीलाई भन्नु भनेर साँचो छिमेकीलाई दिएको वडाध्यक्ष ह्यौमिखाले जानकारी दिए ।

महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्ति दुई साता होम आइसोलेसन बस्नुपर्ने र कन्ट्याक ट्रेसिङमा परेकाको सात दिनमा पीसीआर परीक्षण गर्दै आएको उल्लेख गरे ।

कमलविनायकमा भने वडाध्यक्ष र छिमेकीले नै परिवारको सहमतिमा बाहिरबाट ताल्चा मार्न भनेपछि प्रहरी रोहवरमा बसेको जनाउँदै पीडितको निगरानी भने छिमेकी र जनप्रतिनिधिले गर्नुपर्ने बताए । - रासस

Comments