Loading...
Logo
Image

अब ३० मिनेटमै कोरोना परिक्षणको नतिजा आउने

अमेरिकास्थित स्ट्यानफाेर्ड विश्वविद्यालयका इन्जिनियरहरूको टिमले ३० मिनेटमै कोभिड-१९ को परीक्षण नतिजा दिनसक्ने सूक्ष्म प्रयोगशाला (micro lab on a chip) को विकास गरेका छन्। 

कोभिड-१९ को महामारीमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरूको मागअनुसार छिटो, सस्तो र विश्वसनीय हुने गरी एउटा क्रेडिट कार्डको आधाजति आकारको चिपमा उक्त  प्रविधिकाे विकास गरिएकाे स्ट्यानफाेर्ड विश्वविद्यालयले जनाएकाे छ ।

पछिल्ला विकसित विधिहरू प्रयोग गरी तयार गरिएको यो प्रविधिअनुसार स्वचालित उपकरणमार्फत ३० मिनेटको अवधिमै नोबेल कोरोना भाइरस रहे/नरहेको पत्ता लगाउन सकिने छ। यसै वर्ष रसायनशास्त्रमा नोबेल पुरस्कार प्रदान गरिएको विषय अनुबंशको सम्पादन गर्ने विधि 'CRISPR' समेतकाे प्रयोग यस प्रविधिमा गरिएको छ। 

नाकबाट लिइने स्वाबको तरल थोपालाई त्यस सूक्ष्म प्रयोगशालामा चुहाएर विद्युतीय क्षेत्र (electric field) प्रदान गरिन्छ भने स्वाबमा रहेको RNA छुट्याएर DNA मा परिणत गरिन्छ। उक्त DNA कोरोना भाइरसबाट आएको हो कि होइन भनेर छुट्याउन CRISPR-Cas9 नामको इञ्जाइमसित रहने CRISPR-Cas12 इञ्जाइम प्रयोग गरिन्छ। यसरी सक्रिय तुल्याइएको इञ्जाइमको असर विद्युतीय संकेतमार्फत पुगेपछि त्यसले नमुनालाई चम्काइदिन्छ र नतिजा थाहा हुन्छ। विद्युतीय क्षेत्रको प्रयोगले नमुनाबाट RNA छुट्ट्याउने मात्र नभएर रासायनिक प्रतिक्रिया पनि छिटो-छिटो गराइदिन्छ र नतिजा छिटो निस्कन्छ।

अन्य परीक्षण गर्ने विधिहरूमा रोग लागेको अवस्थामा मात्र पोजिटिभ देखिए पनि भर्खरै संक्रमित भएकाहरूकाे हकमा नदेखिने पनि हुन्छ भने यो प्रविधि प्रतिरोधी प्रोटिनहरू (antibodies ) सित असम्बन्धित रहेकोले बढी विश्वसनीय देखिन्छ। साथै यो प्रविधि कोभिड -१९ को लागि मात्रै नभएर अन्य रोगहरू जस्तै, क्षयरोगको समेत परीक्षण गर्न मिल्ने भएकाले बहुउपयोगी ठानिएकाे छ । 

यो प्रविधि करिब  पाँच हजार अमेरिकी डलरमा विकास गर्न सकिने दाबी छ, जुन अन्य प्रविधिको तुलनामा निकै नै सस्तो हो।

 अमेरिकाकै अर्को विश्वविद्यालय MIT पनि कोभि-१९ को परीक्षण स्मार्ट फोनबाटै गर्न मिल्ने प्रविधिको खोजीमा रहेको समाचार आएको छ। कृत्रिम बौद्धिकताको प्रयोग गरिने उक्त विधिअनुसार कोभिड-१९ बाट संक्रमित लाखौँ व्यक्तिहरूको खोकीको आवाजलगायत खास-खास लक्षणहरूको एल्गोरिदम (Algorithm) तयार पार्ने र परीक्षण गर्नुपर्ने व्यक्तिको पनि लक्षण फोनमा ट्रयाक गरी छुट्ट्याउन सकिने बताइएको छ।

स्रोत: Shilapatra

Comments

KATHMANDU WEATHER