Loading...
Logo
Image

१० लाख धरौटीमा छुटे काँग्रेसका बिजय गच्छदार

ललिता निवास जग्गा घोटाला काण्डमा मुछिएका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई विशेष अदालतले १० लाख रुपैयाँ धरौटीमा छोडेको छ ।

बालुवाटारको सरकारी जग्गा अपचलनको मुद्दामा फरार रहेका गच्छदार आफ्नो पार्टीका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको भोलिपल्टै विशेष अदालतमा हाजिर भएका थिए । 

देउवा प्रधानमन्त्री बन्नासाथै नाटकीय रूपमा अदालत पुगेका गच्छदारलाई न्यायाधीशहरू प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले धरौटीमा छोड्न आदेश दिएको हो । 

विशेष अदालतले गत फागुनमा अदालतमा उपस्थिति हुने सूचना गच्छेदारको सुनसरीस्थित घरमा टाँसेको थियो । बारम्बारको प्रयासपछि अदालतले म्याद तामेलीको सूचना टाँसेको थियो । अदालतले तोकेको म्यादभित्र उपस्थित नभएपछि गच्छदार फरार अभियुक्तमा दरिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि नै गच्छदार सार्वजनिक जीवनबाट ओझेलमा परेका थिए । फरार सूचीमा चढेपछि त उनी भूमिगतसरह थिए ।   

तर, केपी ओलीको सरकार विस्थापित गरेर नेपाली कांग्रेसले सत्ता सम्हाल्न नपाउँदै गच्छदार विशेष अदालतमा हाजिर भएर धरौटीमा छुटेका छन् । १ सय १३ रोपनी सरकारी जग्गा किर्ते गरेर व्यक्तिका नाममा लगेको ललिता निवास जग्गा काण्डका रूपमा चिनिने  यो मुद्दामा गच्छदारमाथि ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो र सजाय माग दाबी गरिएको छ । 

भौतिक पूर्वाधारमन्त्री छँदा ०६६ मा ललिता निवासको जग्गामा १७ जना मोहीलाई जग्गाधनीको हैसियत दिई सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता गर्ने गरी मन्त्रिपरिषद्‌मा प्रस्ताव लैजान गच्छदारले स्वीकृति दिएको अख्तियारको आरोप छ । यही निर्णयमा सामेल मन्त्रालयका तत्कालीन सचिव दीप बस्न्यातलाई भने अख्तियारले पुर्पक्षका लागि थुनामा पठाएको थियो । बस्नेत सर्वोच्च अदालतको आदेशबाट थुनामुक्त बनेर मुद्दा खेपिरहेका छन् ।  

देउवा प्रधानमन्त्रीमा आउनासाथै झण्डै एक वर्षदेखि सार्वजनिक जीवनमा नदेखिएका गच्छदार अदालत पुगेर धरौटीमा छुट्नुले अदालतमा सत्ताको प्रभाव रहेको आशंकालाई बल पुर्‍याएको छ । गच्छदारलाई ललिता निवास जग्गा काण्डमा राजनीतिक प्रतिशोधका कारण मुछिएको भन्दै नेपाली कांग्रेसले औपचारिक रूपमै विरोध गरेको थियो । तर, पार्टीले भ्रष्टाचारीलाई संरक्षण गरेको भन्दै विरोध भएपछिका दिन गच्छदारमाथि लगाइएको आरोपमा कांग्रेस मौन थियो । 

पार्टी सत्तामा आउनासाथै गच्छदार अदालतमा हाजिर भएर छुट्नुले देउवा सुरुमै आलोचित बनेका छन् । भलै विशेष अदालतले मुद्दाको अन्तिम किनारा लगाउँदा गच्छदारलाई दोषी ठहर्‍याउने बाटो भने बन्द भइसकेको छैन । यद्यपि कांग्रेस महाधिवेशनको मुखमा गरेको यो फैसलाले गच्छदारलाई पार्टीमा शक्ति आर्जन गर्ने बाटो भने खुलेको छ । 

Comments