Loading...
Logo

अनलाइनबाटै पढाउँदै छन् केयूका प्राध्यापक, भन्छन् : कोरोनाको रिसर्च विश्वविद्यालयले गर्नुपर्छ

काठमाडौँ, चैत १७ गते सोमबार । सुनसान विश्वविद्यलय । अध्ययन अनुसन्धानको काम ठप्प । कारण– कोरोना भाइरस (कोभिड १९) ।

तर, काठमाडौं विश्वविद्यलय (केयू) को क्वार्टरमा ३ वटा परिवार अहिले पनि छन् । सरकारले लकडाउन गरेपछि त्यहीँ बस्नुको विकल्प पनि छैन ।

केयूको एक क्वार्टरमा छन्, प्राध्यापक डा. विकास अधिकारी । उनी विश्वविद्यालय अनुदान आयोगका सदस्यसमेत हुन् ।

१५ दिनअघिको कुरो हो । क्यानडामा अध्ययनरत अभिषेक पोखरेलले उनलाई सोधे, ‘सर काठमाडौंको फोहोर व्यपस्थापन कसरी भइरहेको छ ?’

डा. अधिकारीले उल्टै प्रतिप्रश्न गरे, ‘क्यानडामा विश्वविद्यलय बन्द छैन र ? के छ कोरोना प्रकोप ?’

अभिषेक भन्छन्, ‘कक्षा कोठा बन्द भयो । ल्याब र पठनपाठन बन्द भएको छैन । कोठाबाटै पढिरहेका छौँ । ४ घण्टा कोठामा बसेर पढ्नैपर्छ ।’

‘अधिकारी झन् उत्सुक हुँदै सोध्छन्, कसरी ?’

‘इन्टरनेट र ल्यापटप कोठामा छ । प्राध्यापक र विद्यार्थी जहाँजहाँ छौँ, त्यहीँ बसेर अनलाइनबाट पढ्छौँ । कक्षा कोठामा बसेर पढेको जस्तै हुन्छ,’ पोखरेल भन्छन् ।

अभिषेसँग कुरा गरेको केही दिनमै नेपालमा पनि लकडाउन भयो । त्यसपछि सबै विश्वविद्यालय बन्द भए । लकडाउनपछि विकासले सोचे, ‘हामीले किन अनलाइनबाट नपढाउने ?’

त्यसपछि स्नातकोत्तरका विद्यार्थीलाई भेला पार्न थाले । स्नातकाेत्तरका ८ जना विद्यार्थी सम्पर्कमा आए । अहिले स्काइपबाट उनले दैनिक २ घण्टा पढाउने गरेका छन् ।

डाक्टर-नर्सका व्यथा : परिवारको दबाब र जिम्मेवारीक‍ो तनाव

‘स्नातकमा ६० जना विद्यार्थी छन्,’ उनले भने, ‘४० जना मात्र सम्पर्कमा आए । सबै विद्यार्थीसँग सम्पर्क भएपछि स्नातकका विद्यार्थीलाई पनि पढाउने हो । अहिले स्नातकाेत्तरका ८ जना विद्यार्थीलाई पढाइरहेको छु ।’

ती ८ विद्यार्थी काठमाडौं, पोखरा, विराटनगर, बुटवल, कञ्चनपुर, इटहरी र पाल्पामा छन् । त्यहीँबाट उनीहरू स्काइपमा जोडिन्छन् । आधा घण्टा कोरोनाबारे छलफल पनि चल्छ । आ–आफ्नो ठाउँको न्यूज सेयरिङ हुन्छ ।

पोखराका विद्यार्थीले सेयरिङ गरे, ‘१ साता भयो पोखरामा त फोहोर नै उठेको छैन ।’

‘किन ?’

‘कोरोना संक्रमितले प्रयोग गरेको सामान फोहोरमा फालेको हुन्छ । नगरपालिको वातावरण अधिकृतलाई उनले फोन गरे । फोहोर नउठ्नुबारे जिज्ञासा राखे । त्यो फोहोरबाट कोरोना सर्छ भनेर कर्मचारीले उठाउन नमानेका रहेछन्,’ ती विद्यार्थीले भने ।

‘ल हेर्नुस् त हामी कहाँ छौँ ? फोहोर उठाउँदा लगाउने ड्रेस भएको भए ती कार्मचारीले फाहोर उठाउने रहेछन् नि ! पीपीई डाक्टर नर्सलाई मात्र होइन, फोहोर उठाउनेका लागि पनि चाहिने रहेछ । विश्वविद्यालयहरूले यो समयमा यस्ता सामग्री उत्पादन गर्नुपर्ने होइन ? कक्षा कोठा बन्द भए पनि ल्याब र अनुसन्धानको काम बन्द गर्न मिल्छ ?,’ उनले ११ वटै विश्वविद्यलयलाई प्रश्न गरे ।

टेकुका चिकित्सक जसले परिवार बिर्सेर कोरोना आशंकित मात्रै हेरिरहे

‘चीनको वान युनिभर्सिटीको अस्पतालले कोरोनाको जाँच गरिरहेको छ । कोरोनाबारे अध्ययन अनुसन्धान विश्वविद्यालयमा हुन्छ । चीन कोरना संक्रमण नियन्त्रण गर्न सफल भएको छ । इटाली र स्पेनमा पनि विश्वविद्यालयको अस्पतालमै अनुसन्धान भइरहेको छ । अनि हाम्रा विश्वविद्यालयहरू बन्द गरेर बस्न मिल्छ ? यो समयमा हाम्रा विश्वविद्यालयहरूले ल्याब खोलेर घनीभूत छलफल गर्नुपर्ने हो,’ विश्वविद्यालयहरुको ताल देख्दा उनी निराश हुन्छन् ।

अहिले अस्पतालहरूमा डाक्टर नर्सले लगाउने पीपीईको अभाव छ । पीपीईविना डाक्टर–नर्सले कोरोना संक्रमितको उपचार गर्न सक्दैनन् ।

‘पीपीई, सेनिटाइजर, मास्क ठूलो समस्या होइन । यस्तो आपतको समयमा विश्वविद्यालयहरूले बनाउन सक्छन् । ११ वटा विश्वविद्यलयको भागमा २ हजारवटा पर्छ । कैदीहरूलाई १/२ घण्टा ट्रेनिङ दिऊँ त । यो आपतको समयमा उनीहरूलाई प्रयोग गर्न सकिन्छ । कैदीले सीप पनि सिक्छन् । तत्काल अभाव पनि टार्न सकिन्छ,’ उनी भन्छन् ।

‘अनि यस्ता प्राविधिक विषय पढाइ हुने विश्वविद्यालयको पठनपाठन बन्द गर्न मिल्छ ? छिमेकी भारतका विश्वविद्यालयले समेत अनलाइनबाट पढाइरहेका छन् । स्नातक, स्नातकोत्तर पढ्ने नेपाली विद्यार्थीसँग ल्यापटप, एन्ड्रोइड फोन नभएको कोही छैनन् । यही मौका हो । कक्षा कोठा बन्द भए पनि अनलाइनबाट पढाउन सकिन्छ । डिस्ट्यान्स लर्निङ गर्न सक्छौँ,’ यो समयलाई सदुपयोग गर्न उनी जोड दिन्छन् ।

‘अहिले मात्र होइन । यस्ता प्राकोप फेरि पनि नआउला भन्न सकिन्न । अहिलेदेखि नै हामीले प्राक्टिस गर्‍यौँ भने भोलिका लागि पनि सहज हुन्छ । अब परीक्षासमेत घरबाटै दिने सिस्टम बनाउनुपर्छ । डाक्टर इन्जिनियर समयमा विश्वविद्यालयबाट पास भएनन् भने देशलाई घाटा हुन्छ । समयमा समाजले डाक्टर इन्जिनियर पाएन भने कति घाटा हुन्छ ? त्यसैले कक्षा कोठा बन्द भए पनि पठनपाठन नरोकौँ,’ उनी भन्छन् ।

स्रोत: Shilapatra.com

Comments