Loading...
Logo

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा कोरोना कोषमा २ करोड दिने घोषणा

काठमाडौँ, चैत १८ गते मंगलवार । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा २ करोड रुपैयाँ दिने घोषणा गर्नुभएको छ ।

उहाँले  एक विज्ञप्ति जारी गर्दै कोरोना कोषमा २ करोड रकम दिनका लागि हिमानी कोषमा बुझाइसकेको जानकारी दिनुभएको हो । पूर्वराजा शाहले लकडाउन बाध्यात्मक परिस्थिति भएको उल्लेख गर्दै यसप्रति अनुशासित बन्न पनि सबैसँग आग्रह गर्नुभएको छ ।

‘विश्वमा अहिले देखा परेको कोरोना भाइरसको महामारीले सिंगो मानव सभ्यता र विकासलाई नै गम्भीर चुनौती दिएको हामीले ठानेका छौँ । देश र जनतामा यस महामारीले भय र सन्त्रास पैदा गराएको छ । मानव अस्तित्व रक्षाका निम्ति भइरहेको पहलप्रति संवेदनशील हुँदै हामी सबैले आ–आफ्नो ठाउँ र क्षमताबाट केही न केही योगदान पुर्‍याउनु अनिवार्य भइसकेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

यो अवस्थाबाट मुक्त हुन लकडाउन नै बाध्यात्मक अनिवार्यता भएको भन्दै उहाँले यसको पालनामा गैरजिम्मेवार हुने छुट कसैलाई पनि छैन भन्ने बुझ्न जरुरी रहेको पनि उल्लेख गर्नुभएको छ महामारीको यस क्षणमा ज्यानको पर्वाह नगरी खट्ने चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मी सेना प्रहरीलगायत सबै सुरक्षाकर्मीप्रति आभार प्रकट गर्दै  पूर्वराजा शाहले राहत, उद्धार र व्यवस्थित बन्दोबस्त जुटाउन सरकारी र गैरसरकारी सबै पक्षबाट समन्वयकारी ढंगमा मानवीय सेवा सहयोगमा काम भइरहेकोमा प्रशंसा गर्नुभएको छ ।

शिलापत्रबाट 

स्रोत: Mero Online

Comments