जयराम सिग्देल
बिहान एक टेलिभिजन अन्तर्वार्तामा विपतको समयमा सरकारप्रति आम मानिसको विश्वास हुन्छ भन्ने आशयको प्रश्नमा आपूर्तिमन्त्रीको जवाफ यस्तो आयो, ‘जनताको विश्वासै छैन भन्न मिल्दैन, विश्वास भएरै हामीलाई यहाँसम्म पु¥याएका हुन् ।’ मन्त्रीज्यूको जवाफबाट सन्तुष्ट हुने खालको उत्तर आउनेमा त ममा पनि ‘कम विश्वास’ थियो र भयो पनि त्यै ।
माथीको प्रसंगले खाली सरकारको अवस्था चित्रण गरोस् भनेर मात्र राखेको हुँ । सरकार भन्नेबित्तिकै राज्यका सबै जनताको अभिभावकका रुपमा बुझ्ने गरिन्छ र हो पनि त्यहि । आम मानिसले सिधा बुझ्दा आपत, अप्ठ्यारो र संकटका बेला सरकार भएको अनुभूति होस् भनेर नै आश गर्ने हो । तर, हामी देशले नयाँ राजनैतिक फड्को मार्दा पनि विकासको उहि हातल र संकटको उहि चपेटामा पर्ने गरेका छौं । राष्ट्रिय विपतीका बेला र विषम परिस्थितीमा सरकारले आफ्नो दर्विलो उपस्थिती देखाओस् भन्ने चाहना हरेक नागरिकको हुन्छ । तर, सरकारको काम गराईको तरिका, जनशक्ति परिचालनको अवस्था र मुख्य कुरा व्यवस्थापन असाध्यै टिठलाग्दो हुन्छ ।
हामीले भुकम्प र नाकाबन्दी एकैसाथ व्यहोरेकै हौं । तत्कालिन सरकारले आफुलाई धन्य सम्झोस् कि त्यस्तो भयावह अवस्थामा पनि जनता बरु एक छाक खान तयार भए सरकारलाई गाली गरेनन् । यसको सोझो अर्थ हो, सरकारलाई जनताले साथ दिएकै छन् । यसको अर्थ सरकारलाई साथ दिनु भनेको सरकारले सही निर्णय गरेको छ भन्ने होईन ।
अब कुरा गरौं हाम्रो सरकारी संयन्त्र र काम गर्ने तरिका । अहिले विश्वभर फैलिएको कोरोना र संक्रमणको महामारीको अवस्था युरोपको अवस्था हेर्ने हो भने विजोग अवस्थामा छ । भौतिक पूर्वाधार सम्पन्न भएका मुलुकहरुको अवस्था त यस्तो दयनीय छ भने हाम्रो सरकारी अस्पतालको हालत, निजी अस्पतालको दादागिरी र आम मानिसको औषधी उपचार गर्न सक्ने औकातले यो महामारीको संक्रमण फैलियो भने के हुन्छ भनेर आँकलन गर्न सक्ने अवस्था छैन ।
सरकार भनेको अभिभावक हो । कपितय समाचारहरु हेर्दा, पढ्दा र सुन्दा सरकारको उपस्थिती कम भएको भान अवश्य हुन्छ । अन्य देशमा काम गर्न जाने नेपालीहरु र काम गर्नका लागि भारत जाने नेपालीहरुको अवस्था उस्तै पक्कै होईन । नेपाल भारत सीमामा नेपाल फर्किनका लागि लामवद्ध नेपालीहरु र सरकारले गरेको व्यवहारले के ति नेपालीले मेरो सरकार भनेर कहिले गर्व गर्लान् ? कोरोनाको शंका लागेर अस्पताल पुगेकाहरुलाई भर्ना नै नलिने अनि असरल्ल लाईनमा खडा गर्दा ती मानिसलले आफुलाई कुन स्तरको नागरिक महसुस गर्लान् ? ठूलो संख्यामा भोटको प्रतिनिधित्व गर्ने अनि दैनिक ज्यालादारी गर्ने गरिब, मजदुरले आफ्नो दैनिकी टार्न रासन र ग्याँसको लाईन बसेर पनि सुविधा नपाउँदा हाम्रो सरकार भन्न मन लाग्ला ?
हामी कहाँ संयन्त्र नभएर, जनशक्ति नभएर वा सामान नभएर सरकार ‘लोसे’ देखिएको होईन । भएका ती सबै संयन्त्र परिचालन गर्न सक्ने खुबी नभएर सरकार कमजोर देखिएको पक्का हो । हरेक मान्छेको जिन्दगीमा समस्या र चुनौती बराबर आउँछन्, पार लाउन सके अब्बल नत्र निकक्मा भएर झैं सरकारका लागि पनि यो एउटा समस्या मात्र नभएर अवसर पनि हो । यो अवसरमा सरकारले आफ्नो उपस्थिती देखाउन सकेमात्र पनि सरकारप्रति आम मानिसको विश्वास बढ्छ, त्यै विश्वास भोलीको लागि ‘राजनीति’ हो ।
अहिले तीन तहको सरकार छ, यो महामारीको अवस्थामा स्थानीय तहमा देखिएका समस्याको पहिचान, तथ्यांक संकलन, परिक्षण र उपचारका लागि स्थानीय तहमैं भएका चिकित्सक, शिक्षक, प्रहरी, सेना, स्थानीय संघसंस्था, विज्ञहरु, सामाजिक संस्थाहरु, सेवा निवृत्त विज्ञहरुको परिचालन गरि समस्या पहिचान गर्न सकिन्छ । प्रदेश तहमा पनि यी सबै संरचनाको परिचालन गर्नका लागि कुनै समस्या छैन । समस्या नै यदी छ भने परिचालन गर्ने सोचमा छ । ७ सय ५३ स्थानीय तह, ७ प्रदेशले आफ्ना परिधिभित्रमा समस्या मेरो समस्या हो भनेर काम थाल्ने हो भने पनि आम मानिसमा सरकारले काम गर्छ भन्ने विश्वास बढ्छ ।
यस्ता विपतका बेला सरकारले उत्पादन, ढुवानी र वितरणको मात्रा मिलाए काफी हुन्छ । उत्पादनको लागि हरेक स्थानीय तहसँगको समन्वयले पुग्छ भने यो समयमा वितरणका लागि विभिन्न मन्त्रालयमा हुने ‘स्टक गाडीहरु’ को परिचालन गरे पुग्छ भने वितरणका लागि आवश्यक पर्ने जनशक्तिा लागि हरेक वडाहरुलाई जिम्मा दिने हो र विवेकपूर्ण तरिकाले वडाहरुले काम गर्ने हो भने हरेक नागरिकले सुविधा पाउनेछन् । यसलाई जटिल विषय बनाएर गलतलाई पनि सहि र सानो काम गरेकोलाई पनि भयंकर काम गरें भनेर सरकारका मन्त्रीहरुले भन्नै पर्दैन । हरेक समस्याले एउटा अवसर लिएर आएको हुन्छ । सरकार ! यो महामारीमा जनताको विश्वास जित्ने ठूलो अवसर छ, प्रमाणित गरेर देखाऔं ।
-
2 years ago
एमसीसीको बहस,बिरोध र बिकल्प
-
2 years ago
मेरो तर्फबाट रु. ५० हजार है !
-
Comments