काठमाडौं, चैत्र ३० गते आईतबार । कोभिड–१९ ले अहिले विश्वलाई त्राहिमाम् बनाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका धेरै देशमा कोरोना तेस्रो र चौथो चरणमा पुगिसकेको छ । नेपाल दोस्रो चरणमा छ । यद्यपि, नेपालमा यसको संक्रमण अपत्यारिलो देखिन्छ । अर्थात्, अन्य मुलुकमा भन्दा नेपालमा कोरोनाको फैलावट निकै साँघुरो देखिएको छ ।
चीनबाट फर्किएका एक विद्यार्थी नेपालका पहिलो कोरोना संक्रमित हुन् । स्वास्थ्यमा अलि असहज महसुस भएपछि ती विद्यार्थीले आफैँ अस्पताल पुगेर परीक्षण गराएका थिए । चीनबाट नेपाल आउँदासम्म उनी दर्जनौँ व्यक्तिसँग सम्पर्कमा पुगिसकेका थिए भने परीक्षणको नमुना दिएर उनी विमान चढेरै नेपालगञ्ज पुगे । त्यहाँबाट उनी सार्वजनिक सवारी साधनमार्फत घर गए । यसरी धेरैभन्दा धेरै मानिसको सम्पर्कमा पुगिसकेका उनको परीक्षण रिपोर्ट पोजिटिभ आयो ।
तर, उनी मात्र क्वारेन्टाइन बसे । त्यसबीचमा उनको सम्पर्कमा आउने कति थिए, ती सबै व्यक्ति कसरी जोगिए त ? के उनले भेटेका सबै संक्रमित हुनबाट जोगिनुमा तिनीहरूको ‘इम्युन सिस्टम’ मात्र कारण हो त ? केही प्रश्न जीवितै छन् ।
दोस्रो चरणमा ती व्यक्तिको परीक्षण रिपोर्ट नेगेटिभ आयो । त्यसपछि उनको स्वास्थ्य सामान्य छ भन्नुबाहेक अन्य पक्षप्रति स्वास्थ्य मन्त्रालयसहित सरोकारवाला निकाय मौन देखिन्छन् । ती विद्यार्थीसँग विमानमा आएका र नेपालभित्र नै उनको सम्पर्कमा आएकाहरूलाई क्वारेन्टाइनमा राख्ने र उनीहरूको परीक्षण गर्ने कुरामा सरकारी निकायले ध्यान नै दिएनन् । बरु एक जना नेपालीमा कोरोना देखिएको थियो, त्यो पनि निको भयो भनेर सरकार नै झुक्किझैँ लाग्छ ।
छिमेकी देश चीनको वुहानमा फैलिएको प्रकोपका अगाडि एक जना नेपालीमा कोरोना देखिनुलाई सरकारले पनि नजरअन्दाज गरिदियो ।
भौगोलिक रूपमा नजिकै भएकाले नेपालले अगाडिबाटै सतर्कता अपनाउनुपर्थ्यो । किनकि, डिसेम्बर २०१९ बाट नै वुहानमा कोरोना भाइरस फैलिएको थियो ।
कोरोनाले महामारीको रूप लिइसक्दा बल्ल हाम्रो सरकारले आवश्यक स्वास्थ्य सामाग्री किन्ने जमर्को गर्दै थियो ।
पर्याप्त अस्पताल, शय्या, स्वास्थ्यकर्मी, परीक्षण सामग्रीको अभावका बाबजुद नेपाल पनि कोरोनाविरुद्धको युद्धमा त होमियो । तर, कोरोनासँग पटक–पटक झुक्किन पुगेको छ । र, झुक्किनु भनेको चुक्नु हो, चुक्नु भनेको हारतिर उन्मुख हुनु हो ।
अमेरिका, बेलायतमा वुहानबाटै गएका व्यक्तिमार्फत प्रकोप फैलियो । युरोपका समृद्ध मुलुक इटाली, जर्मनी, फ्रान्स, स्पेनजस्ता देशमा कोरोनाले महामारीको रूप लियो । नेपाल ‘रमिते’ हुँदै गर्दा दक्षिणी छिमेकी भारतले सीमानाकामा स्क्रिनिङ सुरू गरिसकेको थियो । तब मात्र नेपाल सरकार सजग देखियो । यहाँ पनि नेपाल कोरोनासँग झुक्किएको अनुभूति भएको छ ।
युरोप तथा अमेरिकामा महामारी फैलिएपछि नेपाल सरकारले फागुनको अन्तिम सातामा भीडभाडमा हिँड्न, औपचारिक सभा÷समारोहमा रोक लगायो भने विद्यालयका परीक्षाहरू तथा ६ चैतबाट सञ्चालन हुने एसईई परीक्षा स्थगित गर्यो ।
त्यसपछि मात्र आमनेपालीमा कोरोना भाइरसप्रतिको चिन्ता र चासो बढेको थियो । अनि मार्च २४ अर्थात् ११ चैतबाट सरकारले नेपालभर आवतजावत गर्न नमिल्ने गरी लकडाउन घोषणा गर्यो । मार्च १७ र १९ को कतार एयरवेजबाट नेपाल भित्रिएका यात्रुमध्ये फ्रान्सबाट आएकी १९ वर्षे नेपाली युवतीलाई कोरोना पोजेटिभ भएको पाइएसँगै नेपालमा व्यापक रूपमा कोभिड– १९ प्रति चिन्ता र चासो बढेको हो र सजगता एकाएक बढेर गएको हो ।
तर, नेपालमा कोरोना भाइरस पोजिटिभ देखिएका व्यक्तिमा संक्रमणको प्रवृत्ति अन्य देशमा देखिएको लक्षणभन्दा फरक देखिन्छ । यसको अर्थ कोरोनाले हामीलाई झुक्याइरहेको छ कि भन्ने नै हो । त्यसैले कालान्तरमा नेपालमा समेत यसले महामारीको रूप लिन सक्ने कुरामा बेलैमा ध्यान पुर्याउन ढिला गर्न हुँदैन ।
काठमाडौंमा कतारबाट अवतरण भएका एउटै प्लेनका २ व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्लेनका अन्य यात्रु र उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरूलाई अहिलेसम्म संक्रमण भएको पाइएको छैन ।
उनीहरूले नेपालभित्र प्लेन तथा गाडीमा यात्रा गरेको पाइए पनि सम्पर्कमा आएका अरुलाई अहिलेसम्म कोरोना संक्रमण नभएको यथार्थले पनि कतै हामी झुक्किइरहेका त छैनौँ भनेर आशंका गर्ने ठाउँ प्रशस्त दिएको छ ।
त्यसैगरी, कतार–काठमाडौं हुँदै धनगढी गएका १ जनामा अनि भारतबाट आएका २ जनामा कोरोना संक्रमण भएको पुष्टि भयो र १ जना संक्रमित व्यक्तिकी भाउजूलाई पनि संक्रमण भएको पुष्टि भयो । त्यसपछि कोरोना संक्रमण दोस्रो चरणमा पुग्यो भन्ने विषयले चिन्ता बढायो । तर, संक्रमित व्यक्तिकी श्रीमती, छोरी वा भनौँ अति नजिकका परिवार सदस्यलाई अहिलेसम्म संक्रमण नभएको विषय पनि अजीवकै छ ।
नेपालका कोरोना संक्रमित ९ जनाकै स्वास्थ्य अवस्था पनि अन्य मुलुकमा संक्रमितको अवस्थाभन्दा फरक नै देखिन्छ । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित सबैको स्वास्थ्य स्थिति सामान्य छ ।
शारीरिक जटिलता खासै नभएको नै बताइन्छ । बागलुड अस्पतालमा रहेकी ६५ वर्षीया ज्येष्ठ नागरिकमा संक्रमण देखियो । उनमा पहिल्यै दम तथा उच्च रक्तचापको समस्या थियो । र पनि, ती आमाको स्वास्थ्य स्थिति सामान्य ने भएको बताइएको छ ।
नेपालका लागि राहतको विषय पनि यही हो कि संक्रमित कोही पनि गम्भीर बिरामी छैनन् र उनीहरूलाई इन्टेन्सिभ केयरको जरुरी खट्किएको छैन ।
विशेषज्ञहरूका अनुसार नेपालीको रोग प्रतिरोधात्मक क्षमता अन्य मुलुकका नागरिकको तुलनामा उच्च छ । त्यसैले यहाँ कोरोनाको प्रभाव कम भएको वा हुन सक्ने धेरैको अनुमान छ । यही कारणले नै नेपाललाई कोरोनाले झुक्याइरहेको अनुभूति भइरहेको छ ।
नेपालजस्तै भौगोलिक स्वरुप, खानपान, रहनसहन भएका भारत, पाकिस्तान, चीन, इरान, कोरियालगायत देशमा पनि कोरोना भाइरसको प्रभाव रहेकाले नेपाल कोरोना संक्रमण र रोग लागेपछि यसको गाम्भीर्यताका सम्बन्धमा हामी झुक्किइरहेका छौँ कि जस्तो लाग्नु स्वाभाविक नै हो ।
११ चैतबाट नेपाल लकडाउन भयो । त्यसपछि सम्पूर्ण आर्थिक सामाजिक क्रियाकलाप ठप्पप्रायः छन् भने दैनिक ज्यालादारी गरेर दैनिकी जीवन गुजारा गर्ने मजदुरको जीवन कष्टकर बनेको छ ।
लकडाउन भएको आज १७औँ दिनमा संघीय राजधानी काठमाडौंमा कतिपय मजदुरको अवस्था टिठलाग्दो अवस्थामा देखिएको छ । १९ दिनदेखि मुलुकमा बन्दाबन्दी (लकडाउन) कायम छ । विगत १० दिनदेखि कोरोना संक्रमण ९ जनाबाट बढेको अवस्था छैन । त्यसैले धेरै मानिसको चाहना अब लकडाउन खुकुलो बनाउनुपर्छ भन्ने पनि छ, यसमा पनि हामी झुक्किइरहेको अवस्था छ ।
संक्रमितको संख्या नबढ्नु, संक्रमितको अवस्था पनि सामान्य नै रहनु तथा आर्थिक, सामाजिक क्रियाकलाप चौपट भएको भन्दै लकडाउन खुलाउने हो भने नेपालमा भयङ्कर महामारी हुनसक्ने सम्भावनालाई नकार्न सकिँदैन ।
भारतमा संक्रमितको संख्या बढिरहेको, भारतसँगको खुल्ला सिमानाको कारणले पनि नेपाल अझै कोरोना संक्रमणको उच्च जोखिममा रहेको देखिन्छ । फेरि कोरोना भाइरसमा देखिने भनिएका सामान्य लक्षणहरू नदेखिईकनै भाइरसको संक्रमण हुने र लक्षण देखिएपश्चात् मात्रै भाइरस परीक्षण गर्ने गरिएकाले पनि समुदायस्तरमा आम रूपमा भाइरस संक्रमण हुने जोखिम उच्च छ ।
यसरी कोरोना भाइरसबाट आगामी दिनमा समेत झुक्किन सक्ने कुरालाई सरकार र नागरिक दुवै पक्षले नजरअन्दाज गर्न हुँदैन । अत्यन्त सावधानीका साथ प्रतिरक्षाको उपाय अपनाए मात्रै कोरोना भाइरसविरुद्धको युद्धमा पराजित हुनबाट बचिन्छ ।
कोरोनाले युरोप तथा अमेरिकामा जस्तै महामारीको रूप नेपालमा पनि लिएमा नेपालले अत्यन्तै भयानक मानवीय क्षति बेहोर्नुपर्नेमा शंका छैन । हामीसँग जे जति स्रोत, साधन, जनशक्ति छ, कोरोनाजस्तो भाइरसको प्रकोपसँग जुध्नका लागि ती पर्याप्त छैनन् । त्यसैले हामी कोही पनि कोरोनासँग झुक्किनबाट जोगिनैपर्छ ।
कोरोनाको संक्रमण स्थिर रहनुलाई नै राहत मानेर कोरोनाविरुद्धका कदम लचिलो पार्ने वा रोकथामका लागि भइरहेका गतिविधि घटाउने काम किमार्थ गर्न हुँदैन । यो सम्पूर्ण मानवका लागि २१औं शताब्दीको चुनौतीलाई पूर्ण समय र परिस्थतिको सही रूपले व्यवस्थापन र सामना गरौँ ।
-
4 years ago
मेरो तर्फबाट रु. ५० हजार है !
-
-
4 years ago
एक परिवारलाई महिनामा आधा सिलिन्डर ग्यास वितरण
Comments