- विपिनकाे रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्रीलाई विपिनका बुबाआमाकाे आग्रह
- त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित गोरखाका चन्द्र घले पक्राउ
- त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित चन्द्र घले पक्राउ
- अर्थतन्त्र सुधारका लागि नयाँ कार्यक्रमहरु अगाडि सारेको प्रधानमन्त्रीको दाबी
- एनसेलको शेयर खरिदबिक्रीबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं, बैशाख ४ गते बिहीबार । लकडाउन सुरु भएपछि टोखा धनेश्वरका १० युवा पशुपतिका भोका बाँदर कुकुर र परेवालाई आहारा जुटाउन कस्सिए। जब लकडाउन थपिँदै जाँदा सडकमा भोका मान्छेहरु पनि देखिन थाले, उनीहरुको योजना बदलियो। अहिले उनीहरु खानाका पोका बोकेर दिनभर सडक र अस्पताल चहारिरहेका छन्।
उनीहरु सडकका बेबारिस, अस्पतालका कुरुवालाई नि:शुल्क खाना खुवाउँछन्। ‘लकडाउनले गर्दा कोही पनि भोको नहोस् भनेर हामीले खाना बाँडिरहेका छौं,’ समूहका युवा सन्दीप बस्नेतले बताए।
उनीहरु धनेश्वरको नवजीवन परोपकार समाजको भवनमा खाना पकाउँछन्। प्याकिङ गर्छन्। र, मोटरसाइकल चढेर भोको मानिस सोध्दै र खोज्दै खाना बाँड्दै हिँड्छन्। उनीहरुले दैनिक तीन सय हाराहारी असहाय, दीनदु:खी, विपन्नहरुलाई खाना पुर्याउँछन्।
आसिका फाउन्डेसन र नवजीवन परोपकार समाजको सहकार्यमा जुटेका युवाहरुले १२ दिनयता खाना बाँड्न थालेका हुन्। कसैको घरमा खाद्यान्न अभाव भयो भने उनीहरु कल वा एसएमएस आयो भने पनि युवाहरु उक्त घरमै खाना पुर्याउन पुग्छन्।
जोरपाटीको बराल पेट्रोल पम्पनेर पनि नि:शुल्क भोजनको व्यवस्था गरिएको छ। उनीहरुले वृद्धवृद्धा, बालबालिका, अपांग, अनाथ, बेबारिस, विपन्नहरुलाई खाना खुवाइरहेको जोरपाटीका सञ्जय परियारले बताए। खाना परियारकै घरमा पकाउँछन्। पम्पनेर लगेर सामाजिक दुरी कायम गरेर खाना बाँड्छन्। त्यहाँ साबुनपानीले हात धुने व्यवस्था मिलाइएको छ। दैनिक ४०/५० जनाले खाना खाँदै आएका छन्। खाना पकाउन ग्यास, पानी, खाद्यान्न स्थानीयहरुले सहयोग गर्छन्। उनीहरुले तीन/तीनमा अण्डा पनि खुवाउँदै आएका छन्।
काठमाडौं महानगरको वडा नम्बर १४ मा स्थानीय व्यापारीले पनि कुलेश्वर महादेव मन्दिर र जागरण बस्तीमा नि:शुल्क खानाको व्यवस्था गरेका छन्। १८ दिनदेखि करिब चार सय मानिसलाई बिहान र बेलुकीको भोजन गराउँदै आएको वडाध्यक्ष शोभा सापकोटाले बताइन्। वडाले असहाय, विपन्न र ज्यालादारी गर्ने ४ हजार १ सय परिवारलाई राहत वितरण गरेको छ। कतिपयले राहत पाए पनि पकाएर खाने ठाउँ नभएकालाई नि:शुल्क खानाको व्यवस्था गरिएको हो। महानगरको कोरोना महामारीमा राहत एकद्वार प्रणालीबाट उपलब्ध गराउने मापदण्डअनुसार स्थानीय व्यापारीको आर्थिक सहयोग र सामुदायिक प्रहरी साझेदारी इकाइको प्राविधिक सहयोगलाई वडाले समन्वय गरिरहेको छ।
वडा नं १५ ले आफ्नै स्रोतमा स्वयम्भूको भुइँखेल चौरमा दैनिक दुई सय मानिसलाई खाना खुवाउन थालेको छ। यहा पनि एक चरण राहत वितरण भइसकेको छ। ‘जसको घरमा राहत पुगेको छैन, राहत भन्दै माग्न आउन सक्दैनन्, त्यस्ता साँच्चै भोकाएकाहरुलाई लक्षित गरेर खुवाउन थालेका छौं,’ वडाध्यक्ष ईश्वरमान डंगोलले भने। यहाँ दिउसो ११ देखि १ बजेसम्म एक छाक खानाको व्यवस्था छ। वडाको बजेट स्थानीय भुइँखेल चौर सेवा समिति तथा अन्य दाताहरुको सहयोगमा पाँच दिनदेखि खाना खुवाउन थालेका हुन्। सुरुवातमा एक छाक खुवाइँदै आइएकोमा विस्तारै दिनको दुई छाक खुवाइनेसमेत वडाध्यक्ष डंगोलले बताए।
यसैगरी बुढानीलकण्ठ नगरपालिकास्थित एकल महिला छहारी भवनले बुधबारदेखि विपन्न तथा गरिब परिवारलाई नि:शुल्क भोजन गराइरहेको छ। लकडाउन अवधिभर उक्त भवनमा बेलुकी ४ देखि ६ बजेसम्म खाना पाइन्छ। यसका लागि नगरपालिका क्षेत्रका विपन्न तथा गरिब परिवारले वडामा नाम टिपाउन सक्नेछन्।
Comments