Loading...
Logo
Image

कोरोना त्रास अनि यसले निम्त्याउने संकट

मेरो अनलाइन

कोरोना संकट
चिनको वुहान राज्यबाट सुरु भएको सार्स कोभ २ अर्थात कोरोना संक्रमण आज संसारभर फैलिएको छ। नेपाल पनि अछुतो रहने कुरो भएन। यो लेख लेख्दै गर्दा नेपालमा कुल संक्रमित संख्या ५४ पुगिसकेको छ, १६ जना निको भएर घर फर्किसकेका छन। बिज्ञहरुका अनुसार नेपाल संक्रमणको तेस्रो चरणमा प्रवेश गरिसकेको छ त्यो भनेको रोग ब्यक्ती, परिवार हुँदै समुदायमा फैलनु हो जुन खतराको संकेत पनि हो।

यसै बिच पुर्ण रुपमा संक्रमणमुक्त भएको भनेर लकडाउन हटाएको चीनको वुहान राज्यमा फेरि संक्रमित देखुनुले विश्व स्वास्थ्य अब गम्भीर मोड तर्फ जान सक्ने खतरा बिज्ञहरुले बताइरहेका छन। यद्यपि कोरोना भाइरस विरुद्ध औषधि या व्याक्सिनको ट्रायल पनि नभएको हैन। तर तिनिहरु अनुसन्धानकै क्रममा रहेका छन। सामन्यतया कुनै पनि नयाँ औषधि पत्ता लगाइसकेपछी विभिन्न चरणको क्लिनिकल ट्रायल पार गरेपछी मात्र बजारमा आममानिसको लागि प्रयोगमा ल्याउने प्राबधान, जसका लागि बर्षौ लाग्नसक्छ। तर हालको महामारीको अवस्थालाइ ख्याल गरेर केही चरण ट्रायल नगरि टक्सिसिटि र सेफ्टी मात्रै परिक्षण गर्ने हो भने पनि कम्तिमा ६ महिना देखि १ बर्ष लाग्न सक्ने बिज्ञहरुले बताइरहेका छन्।

विश्व स्वास्थ्य संगठनले हालको लागि यसको उत्तम उपाय भनेकै सामाजिक दुरि कायम गर्नु नै हो भनिसकेको छ, जसले गर्दा आज अधिकांश   मुलुकले लकडाउनको ब्यवस्था गरिरहेका छन्। फरक यत्ती हो कुनै मुलुकमा कडा खालको लकडाउन छ कुनै मुलुकमा भौतिक दुरि सहित नियमित आर्थिक लगायत कृयकलाप भैरहेका छन्।

अब के हुन्छ त?
आज समग्र विश्व कोरोनासंग लड्नु त परिरहेको छ नै अझ त्यो भन्दा पनि यसले निम्त्याउन सक्ने आर्थिक, रोजगारी लगायत लगायत खाध्य   संकट  झन गम्भीर हुन सक्ने अनुमान गरिएको छ भने विश्व खाध्य कार्यम्रमले अबको केहि बर्ष बिश्वमा गम्भीर किसिमको खाध्य संकट उत्पन्न हुने र भोकमरिको संख्या हालको भन्दा दोब्बर हुने भनी चेतावनी दिइसकेको छ।

बिश्वमा आज कयौं संख्यामा रोजगारी कटौटी भैरहेको छ जसले गर्दा रेमिट्यान्समा मुख्य निर्भर भएको नेपालको अर्थतन्त्रले निकै ठूलो आर्थिक संकट त भोग्ने निश्चित छ, कृषी प्रधान भनिएपनि पछिल्लो केही बर्ष यता कृषि बाट पलायन हुँदा र हाल खाध्यमा छिमेकि देशको निर्भर हुनु पर्दा गम्भीर किसिमको खाध्यसंकट पनि ब्यहर्नुपर्नेछ। जतिनै ठुल ठुला कुरा गरेपनी हामिहरुले तथ्यहरुलाइ भुल्नु हुँदैन। गत  बर्ष चिनबाट मात्र १७ लाख रुपैयाँ बराबरको गुन्द्रुक आयात गरिएको थियो भने अरबौ को चामल , तरकारी लगायत खाध्यसामाग्री भारतबाट आयात गरेको थियो। तथ्य के पनि भुल्नु हुँदैन भने केही महिना अघि मात्र भारतले आफ्नो देशको मागले धान्न नसकेपछी प्याज निर्यातमा प्रतिबन्ध लगाउदा नेपालमा के हालत थियो सबैले यति छिटै बिर्से जस्तो लाग्दैन। फेरि पनि भोलिको दिनमा कुनै किसिमको संकट आइलाग्दा भारत मात्र हैन सबै मुलुकले पहिलो प्रथामिकता आफ्नै नागरिकलाई दिने छन्।

नेपालको अर्थतन्त्र
यसैबिच विश्व बैंकले पछिल्लो तथ्यांक सार्बजनिक गर्दै नेपालको सबैभन्दा ठूलो अर्थतन्त्रको हिस्सा ओगटेको बिप्रेषण आप्रभाहमा करिब १४ प्रतिशतले घट्ने अनुमान गरिएको छ भने हालै नेपाल राष्ट्र बैंकले सार्बजनिक गरेको फाल्गुन महिनासम्मको तथ्यांकलाई नै आधार मान्ने हो भने पनि यसमा भारी गिरावट आइसकेको छ। रेमिट्यान्स मात्र हैन नेपाली अर्थतन्त्रको अर्को ठुलो हिस्सा पर्यटनको हालत सबैभन्दा नाजुक नै देखिन्छ। यद्यपि पर्यटनमन्त्रीले आर्थिक पत्रकार समाजसंगको एउटा भिडियो कन्फरेन्समा सबै कर्मचारीलाई १ महिनाको भ्रमण बिदा दिने योजना सरकारले बनाएको बताउनुभएको थियो। तर पर्याप्त मात्रामा गृहकार्य नगरी ल्याइने यस्तो योजनाले झन बिपद ल्याउनेमा कुनै द्विबिधा छैन। यसमा सरकारी मात्र कि निजि संस्थामा काम गर्ने कर्मचारिको कुरा केही उल्लेख छैन। फेरि निजि कम्पनिका मालिकले सरकारको यो योजनालाई स्विकार्लान त? खैर निजिका कुरा छोडौ, सरकारकै कुरा गरौ । उसै त चुस्त हुन नसकेको सरकारी कार्यलयको काम यो योजनाले झन कछुवागती हुने त हैन? विश्व बैंकले हालै प्रक्षेपण गरेको तथ्यांक अनुसार नेपालको कुल आर्थिक वृद्धिदर करिब २.३ प्रतिशत मात्र हुनेछ भने सरकारले अनुमान गरेकै वृद्धिदरलाईनै आधार मान्ने हो भने पनि ४ प्रतिशत भन्दा बढी हुने छैन।


नेपालको अर्को अर्थतन्त्रको आधार भनेको व्यापार हो त्यो पनि आयात मुखी व्यापार अनि त्यसबाट उठ्ने राजश्व। त्यसमा पनि बिलासिताको सामानहरु। जब नागरिककै उपयोग क्षमतामा राश आइसकेपछी ती सामान बाट उठ्ने राजश्व को के कुरा गर्ने ?

कुरो कृषिको
नेपाल कृषिप्रधान देश हो यहाँका करिब ९०% जनता कृषिमा आस्रित छन् भनेर हामिलाइ उहिले नै करिब २५ बर्ष अगाडि तिर घोकाइएको हो सायद अहिले पनि त्यस्तै होला। तर नेपालमा कृषिको यस्तो नाजुक अवस्था छकि आधीकांस कृषक यो पेशामा लागेर अर्थोपार्जन त परको कुरो जिबिकोपार्जन पनि गर्न सक्ने अवस्थामा छैनन। पहाडको कुरा छोडौ तराइ तथा उपत्यकामा पनि गाह्रो भैसक्यो। एकातिर प्लटिङको समस्या कति बिकराल छ सायद त्यो भनिरहनु नपर्ला अर्कोतिर अलि अलि बचेको जमिनको लागि पुग्ने मल पनि नियमित समयमा त नहुने यो देशमा अहिलेको अवस्थामा कसरी जोहो गर्ने? अझ नक्कली बिउको पीडा कसले बुझिदिने? गत बर्ष मात्र कैलाली र कंचनपुरका धान किसानको पिडा हामी सबैले देखेकै हो, त्यस्तै केही बर्ष अघी बाराको मकै किसानको पीडा पनि। अर्को तर्फ जलस्रोतको दोस्रो धनी मुलुकमा पिउने पानीको त समस्या छ सिचाइको त के कुरो भयो र? यी सबै ब्यवस्था गरेर बल्ल तल्ल उब्जनी गरायो अनि बिचौलियाको चलखेल। गाउँमा बाले ७ रुपैयाँ किलोमा बेचेको काउली सहरमा छोरोले ७० रुपैयाँ किलोमा खान पाए भाग्य। फेरि बल्ल बल्ल बेच्यो पैसा लिनको हैरान के छ भन्ने कुरो उखु किसानको नियतीबाट छर्लङ्ग हुन्छ।

अब के गर्ने त?
तत्काललाइ गाउँ फर्कन चाहने नेपालिलाइ कम्तिमा पनि ३ हप्ता एकान्तबासमा राखेर यदि स्वस्थ्य देखिए कृषिमा लगाउनु उपयुक्त हुन्छ ।  जसकालागी राज्यले पर्याप्त मात्रामा रसायनिक मलको ब्यवस्था गर्नुपर्छ। साम्सद बिकास कोसको ६ करोड पैसाबाट बीउ र आधुनिक कृषि औजार किनेर कृषकलाइ अनुदान दिइनुपर्छ। सहकारी मार्फत अथवा सामुहिक कृषि खेतिलाई प्रोत्साहन गरिनुपर्छ जसले गर्दा आधुनिक कृषि औजार बितरणमा सहज हुन्छ। त्यसपछि अबको केही बर्ष घर तथा घर बनाउने प्रयोजनको निमित्त हुने जग्गाको कारोबार रोकिनुपर्छ जसले गर्दा नागरिकको पैसा अनुत्पादक क्षेत्रमा लगानी हुन पाँउदैन।

अनि एउटा बिज्ञ सम्मिलित संयन्त्र बनाउनुपर्छ। माफ गर्नुहोला नेपालमा यो संयन्त्र या के के जाती जे बनाउनी भनेको नेताको नजिकको मान्छेलाइ दुई चार बर्ष राज्यकोषबाट तलब खुवाउने सिवाय केही माखो मारेको छैन केही अपबाद बाहेक। त्यसैले हरेक क्षेत्रको कृषि, पर्यटन, शिक्षा, उद्योल लगायत विभिन्न सरोकारवाला क्षत्रमा राम्रो गरिरहेका काम गर्न सक्ने क्षमता भएका ब्यक्तिहरुको एउटा स्वयंसेवक दस्ता बनाउनुपर्नेछ जसले राज्यलाइ सल्लाह जुझाब दिने हुने छ साथै आवस्यक परेको खण्डमा र राज्यले मागेको खण्डमा सहयोग पनि गर्नेछ बरु त्यसको निमित्त भत्ता प्रदान गर्न सकिनेछ। फेरि सल्लाह लिने एककानले लिने अर्को कानले उडाउने भने त्यो पनि ब्यर्थ हुनेछ।

अर्को तर्फ लाखौंको संख्यामा गुम्ने भनिएको वैदेशिक रोजगारीबाट फिर्ने नेपालीहरुको लगत संकलन गरेर उनिहरुको दक्षता र सिपलाइ नेपाल सरकारले विशेष आर्थिक प्याकेज ल्याएर यहि देशमा उपयोग गर्न सके यो मुलुकले उद्योगमा पनि राम्रै गर्न सक्थ्यो। नेपाली युवाहरु यहि देशमा रोजगारी गर्न पाए किन बिदेसीन्थे होलान र?

शिक्षामा ब्यवसायिकता
हाम्रो मुलुकमा सबैभन्दा ठूलो समस्या मध्यको एक हो हाम्रो पढाइ। नेपाली बिश्वबिद्यालयहरुलाइ लाग्ने गरेको सबै भन्दा ठूलो आरोप भनेको यिनिहरु बेरोजगार युबा उत्पादन कारखाना भए । हातमा डिग्री पास गरेको सर्टिफिकेट छ, लोकसेवा दिउ कति पटक दिने? वाक्क दिक्क भैसकियो। फेरि गाउँ फर्केर त्यही कुटो कोदालो गरौं एस एल सि पास गरेको दिन देखि त्यागेको चिज यत्रो डिग्रीको सर्टिफिकेटको इज्जत कसरी बचाउँ? अनि बिकल्प उही दुताबास धाउने प्रबित्ती।  हुन त प्राबिधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद सिटिइभिटी बाट प्राबिधिक शिक्षाको काम नभएको पनि हैन। अझ अहिले मुलुकमा हरेक पालिकामा एउटा प्राबिधिक शिक्षालयको सुरुवात नभएको पनि हैन। तर हाम्रो सोच परिबर्तन नहुदा सम्म केही हुनेवाला छैन। पढेलेखेकाले पनि फिल्डमा गएर काम नगरेसम्म सरकारलाइ मात्र दोष दिनु पनि एकतर्फि मात्र हुने हो कि?

र अन्त्यमा
यतिखेर संसार भर कोरोनाको त्रास त छदैछ छ यसले निम्त्याउन सक्ने संकट पनि आज सम्पुर्ण बिश्व गम्भीर चुनौती बनेर बसेको छ र नेपालको हकमा पनि त्यही हो। यो चुनौतिलाई अवसरमा परिणत गर्नुपर्ने आजको आवश्यकता हो। भनिन्छ नि बगेको खोला फर्कदैन मौका आउँछ पर्खदैन, मौका पनि एकचोटी आउँछ। तर नेपालको केसमा भन्ने हो भने पटक पटक आइरहेको छ तर मौका आयो अनि गयो। यदि दुरदर्शिता भएको नेतृत्व हो भने यो मौकालाइ अन्तिम सोचेर काम गर्नुपर्ने आजको आवस्यकता हो। इतिहासकै शक्तिशाली सरकार, क्रान्तिकारी कृषिमन्त्री अनि नरम प्रतिपक्ष। यस्तो बेलामा सरकारले जे चायो त्यही हुन्छ। यदि अहिले पनि नसुध्रीने हो भने र कोरोनाको निहुँ बनाएर कानमा तेल हाल्ने हो भने यो दुई तिहाइ अब किताबको पानामा मात्र सिमित हुनेछ, त्यो पनि कम्युनिस्ट पार्टिको दस्ताबेज किताब।

यति भन्दै गर्ला राज्यको तर्फ स्वास्थ्य क्षेत्रमा पनि राम्रै लगानी नगर्ने हो भने फेरि पनि कुनै महामारी आउँदा अर्काले कति चक्की औषधि देला र मेरो नागरिकको उपचार गरेर बस्छु या कति सेट ब्यक्तिगत सुरक्षा कवज देला र मेरो देशको स्वास्थ्यकर्मिको सुरक्षा गरौँला भनेर सोच्ने मात्र हुनेछ। इतिहासले दिएको यो अवसरलाइ राज्य तथा नागरिक जो कोहिले पनि एक रत्ती पनि खेर जान नदिए सायद समृद्धि हाम्रै जिबनकालमा सम्भब छ।

शुदर्सन बिडारी
उपाध्यक्ष नेपाल युवा परिषाद।

Comments

KATHMANDU WEATHER