
सम्पदा अनुरञ्जनी खतिवडा
काठमाडौं, वैशाख १६ गते बुधबार । कोभिड–१९ को संक्रमणका कारण देशब्यापी लक डाउनमा सर्वसाधारणले सुत्ने बानीलगायत अन्य धेरै समस्याको सामना गर्नुपरेको छ । विज्ञहरुका अनुसार शारीरिक ब्यायाममा कमी, घामको सम्पर्कमा नहुनु, कोभिड–१९ सँग सम्बन्धित नकारात्मक समाचार र सूचनाको प्रवाह, शयन कक्ष कार्य कक्षको रुपमा परिणत हुनु, चलचित्र हेर्दै र भाइरस संक्रमणको त्रासले सुत्ने बानीले जोखिममा पार्न सक्छ ।
“लक डाउनले दिनचर्या नराम्ररी प्रभावित भएको छ, सबैभन्दा बढी मेरो सुत्ने चक्रमा फरक परेको छ । मैले नियन्त्रण गर्नुपर्छ तर पनि बढी खाने र सुत्ने बढी हुँदैछ ।”– २३ वर्षीया छात्रा नलिनि खत्रीले भनिन्। “मैले आफ्नो नियमित दैनिकी र सामान्य जीवनयापन गुमाएको छु ।”–उनले थपे ।
नलिनि झैं धेरै सर्वसाधारणले आफ्नो सुत्ने बानी प्रभावित भएको गुनासो गर्छन् । “दिनमा गर्न हुने केही काम नभएकोले दुईदेखि तीन घण्टा सुत्छु तर राति सुत्ने समयमा निद्रा लाग्दैन ।”– स्थानीय एक बैंकमा कार्यरत ३२ वर्षीय रणधीर कार्की बताउंछन्। भाइरसको जोखिम न्यूनीकरण गर्न सरकारलाई सहयोग गर्दागर्दै आफ्नो दैनिकी नराम्ररी प्रभावित बन्न पुगेको उनले थपे ।
लक डाउनले अनियमित सुत्ने र दिनचर्याले जनजिवन प्रभावित भइरहँदा चिकित्सकले भने शारीरिक र मानसिक रुपमा स्वस्थ्य र स्फूर्त हुन स्वस्थ्य जीवनशैली अपनाउन सुझाउँछन् । जनस्वास्थ्य विज्ञ डा. रबिन्द्र पाण्डेका अनुसार स्वस्थ्य जीवनशैली भनेको प्राकृतिक एवम् आन्तरिक प्रकृया हो जसमा आठ घण्टा सुत्ने, आठ घण्टा काम गर्ने र आठ घण्टा रमाउनुपर्छ । तर लक डाउनले सुत्ने शैलीमा बदलाबसँगै चुनौती समेत थपेको छ । दिनमा पनि मानिस घण्टौं सुत्न चाहेका छन् । यस्तो बानीले स्वास्थ्य र मानसिक रुपमा समस्या निम्तिने डा. पाण्डे बताउंछन् ।
अनियमित सुताइले मोटोपना हुने, मधुमेह, हृदयरोग, मृगौला रोग, अल्जाइमरको समस्या निम्तिन सक्ने उनको तर्क छ। त्यसैले राति कम्तिमा आठ घण्टा सुत्ने र दिनमा अधिकत्तम एक घण्टा दिनमा सुत्नु उपयुक्त हुने डा. पाण्डे सुझाउँछन् । मानव मस्तिष्कको आफ्नो तालिका हुन्छ । वा भनौं विश्राम दिने सत्र हुन्छ । यदि त्यसमा केही समस्या आए सुत्ने शैली नै भङ्ग हुन जाने डा. पाण्डे भन्छन्।
महामारीको वर्तमान स्थितिमा स्वास्थ्य, आर्थिक अवस्था, सुरक्षा जस्ता सबालहरु असुरक्षित भइरहँदा सुत्ने बानीमा समस्या आए जीवनमा नकारात्मकता बढ्छ र त्यसले धेरै सोच्ने एवम् दीर्घकालका लागि मानसिक तनाब निम्तिने जोखिम आउनसक्ने उनको तर्क छ ।
नियमित शारीरिक अभ्यास गर्नु, योग गर्नु, पर्दामा हेर्ने समय कटौती गर्नु, स्वस्थ्य खाना तथा आहार लिनु तथा किताब पढ्ने जस्तो बानी बसालेर आफूलाई ब्यस्त र संलग्न बनाइराख्नु उपयुक्त हुने जनस्वास्थ्य विज्ञ डा.पाण्डे सुझाउँछन् । र यसले अनियमित सुत्ने र विभिन्न रोगको प्रकोप निम्तिने जोखिमबाट पनि टाढिन सहयोग पुर्याउने उनले बताए।
मनोविज्ञ डा. प्रकाश बूढाथोकीले सक्रिय र ताजा रहनुका साथै बाँकी समयमा समर्पित हुन कम्तिमा आठ घण्टा सुत्न सुझाउँछन्। लामो समयसम्म ल्यापटप वा मोबाइल स्क्रिनमा हेर्दा मनोवैज्ञानिक क्रमभङ्गता निम्ताउन सक्ने डा. बुढाथोकीले बताए। प्रत्येक ३० सेकेण्डमा स्क्रिनबाट केही समयका लागि आँखालाई आराम दिनु आवश्यक हुने डा. बुढाथोकीले सुझाए । “प्रत्येक जनाले मापदण्ड बमोजिम सुत्ने शैली अपनाउनुपर्छ र उक्त शैली, प्रत्येक दिन र लक डाउनको समयमा समेत पालना गर्नुपर्छ । ”– डा. बूढाथोकी सुझाउँछन् ।
-
4 months ago
सरोगेसी के हो ? के यो नेपालमा बैधानिक छ ?
-
-
Comments