कृषिमा सम्भावना छ, यो मौका नगुमाऔं
मेरो अनलाइन
मेरो अनलाइन
पछिल्लो समय (विशेष गरि लकडाउनपछि) अझ भनौं नोबेल कोरोना भाईरस (कोभिड–१९) को संक्रमण र यसको प्रभावपछि २/४ अड्कलबाजीहरु सुनिन थालेका छन् ।
– अब कृषि क्षेत्र उकालो लाग्छ ।
– विदेशबाट फर्किनेहरु पनि अब कृषि क्षेत्रमा लाग्छन् ।
– सरकारले नयाँ योजना ल्याएर नेपाललाई कम्तीमा खानेकुरामा आत्मनिर्भर बनाउनुपर्छ ।
– कृषिमा सम्भावना छ ।
– अबको विकल्प नै कृषि हो...
यसका अलावा यहाँहरुले पनि केहि थप्न सक्नुहुनेछ । अझ सबैभन्दा बढी बोलिने र सुन्न मज्जा लाग्ने भनेको ‘कृषिमा सम्भावना छ ।’ कहिलेकाँही गजब पनि लाग्छ, कि मनदेखि जाँगर लगाएर काम गर्ने हो भने कुन क्षेत्रमा सम्भावना छैन होला र ?
‘कृषिमा सम्भावना छ’ भन्ने शव्द यति रमाईलो सुनिन्छ कि सुन्दा पनि बडो आनन्द लाग्छ, तर जब कृषिमै केहि गर्छु भनेर रातदिन हाड घोटेर काम गरेका बहुसंख्यक कृषकहरुको पीडा, बिचौलियाहरुको जगजगी, जग्गाको भाउ, उत्पादित उपजको भण्डारण, ढुवानी जस्ता कुराहरुको अध्ययन गर्दा र वास्तविकता बुझ्दा त्यै शव्दले कृषि प्रधान देशको नागरिकलाई चस्स बिझाउँछ । कृषिमा अन्य पेशा वा व्यवसायमा झैं तुरुन्त प्रतिफल आईनहाल्ने हुँदा यसमा लगानी गर्न हिच्किचाउने त छँदैछ, बैंक वित्तिय संस्थाले लगानी नगर्ने पनि अवस्था छ । एउटा उदाहरण हेरौं ः
काठमाडौंको एक नाम चलेको एक सहकारी संस्थाको २०७५ साल असोजको वार्षिक साधारण सभा कार्यक्रममा त्यतिबेला अध्यक्षको प्रतिवेदनमा उल्लेख गरिएको थियो, ‘हामी कृषि तथा उत्पादनमूलक क्षेत्रमा चालू आर्थिक वर्ष (भनाई अनुसार आर्थिक वर्ष २०७५÷७६) देखि नै लगानी गरि कृषि क्षेत्रमा लगानी गरि आफ्नो उपस्थिती जनाउने छौं ।’ आर्थिक वर्ष २०७६÷७७ मा पनि वार्षिक साधारण सभाको निम्तो आयो । अघिल्लो आर्थिक वर्षमा भनेको कुरा कृषि क्षेत्रमैं काम गरिएको हुनाले चासो हुनु स्वभाविक नै भएर उत्सुकतापूर्वक प्रतिवेदन हेरें । तर, गत वर्ष नै कार्यान्वयन गर्ने भनेको कृषिमा लगानी गरेको कहिँकतै देखिएन र सुनिएन पनि । संस्थाको मुनाफा राम्रो भएपनि लगानीको पोर्टफोलियो भने मिलेको देखिएन ।
यो एउटा सहकारीको मात्रै होईन, शहरमा रहेका हरेक बैंक, फाईनान्सहरुको उस्तै अवस्था छ । अहिले प्रायःले भन्ने कुरा फेसन जस्तै हो, ‘कृषिमा लगानी ।’
कृषि सम्बन्धि कार्यक्रम आउने निम्ता मान्न प्रायः कार्यक्रमहरुमा जाने गरेको छु । उपस्थित सबैको कुरा एकैखाले हुन्छन्, कृषिमा सम्भावना छ । कृषिमा सम्भावना छ भनेर भनिरहनेहरुले कृषि क्षेत्रमा कति आफ्नो उपस्थिती देखाए भनेर हेर्ने हो भने लाजमर्दो अवस्था छ ।
कृषि किन सफल भएन ?
यूवा नेताले चिनिएका गगन थापाले बाख्रा पालन गरेको भनेर खुब चर्चा भयो, काम पनि भयो, तर निरन्तरता उनले दिएनन् वा सकेनन्, सुरुमा प्रचार भए जसरी काम हुन सकेन । कलाकारिता क्षेत्रका बहुचर्चित कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पनि तरकारी खेति गरेको कुरा विभिन्न मिडियामा आयो, तर अहिले त्यसको अवस्था के छ भन्ने कुरा उनीहरु स्वयंलाई पनि थाहा नभएको कुरा मदनकृष्ण श्रेष्ठको किताब मैं उल्लेख छ । त्यस्तै चर्चित हाँस्यकलाकार एवं समाजसेवी सीताराम कट्टेल ‘धुर्मुस’ ले बंगुर पालन गरेको समाचार पनि एकाएक चर्चामा पुग्यो, तर अहिले त्यसको अवस्थाका बारे सबैतिर सुनसान छ ।
यसरी चर्चामा आएका व्यक्तिहरुले कृषिमा लागे भनेको सुन्दा जोकोही पनि खुशी हुने वातावरण बनेको थियो । कृषिलाई हेयको दृष्टिले हेर्नेहरुमा पनि सकारात्मक प्रभाव पर्न थालेको थियो, तर जब यसरी कहलिएका व्यक्तिहरु पनि कृषिमा असफल भएको कुरा आउन थाल्यो, यसले लगानीकर्तालाई त निराश बनायो नै, कृषिमा लाग्न चाहनेहरुलाई समेत निराश बनायो । ‘त्यस्ता हस्तीले त सकेनन्, हामीले कसरी सकौंला र ?’ भन्ने मनोभावनाले पनि कृषिलाई माथी उठाउन नसकेको तितो यथार्थ हो ।
एउटा उखान छ, ‘घोकन्ते विद्या, धावन्ते खेति’ । यो उखान हाम्रो शिक्षा प्रणाली र खेति प्रणालीमा सत प्रतिशत मिलेको जस्तो लाग्छ । हामी कहाँ अहिलेसम्मको शिक्षा घोकाई मैं सीमित छ भने कृषिमा पनि आधुनिकताको विकास नभएका कारण धाउनै पर्ने बाध्यता छ, यहिँ भएर नै हामी शिक्षा र खेतिमा सफल नभएका पो हौं कि !
बन्दाबन्दीपछिको कृषि
यो कोरोना संक्रमण र लकडाउनपछि हामीले कृषि क्षेत्रमा धेरै सोचेका छौं । नेपालमा कृषि क्षेत्रले फड्को मार्ने अपेक्षा पनि छ । तर, केहि कुरामा भने मेरा असहमतिहरु प्नि छन् ।
१. कृषि क्षेत्रले फड्को मार्ने ठूलो अवसर भुकम्प र नाकाबन्दीपछि थियो । तर, जब नाकाबन्दी हट्यो, अनि मानिसको मनस्थितीबाट ‘कृषिमा सम्भावना छ’ पनि हट्यो ।
२. भुकम्पपछि खाद्यान्न र तरकारीको उत्पादन बढ्ने र ग्रामिण क्षेत्रमा खेतिको जमिन आकार बढ्ने आशा गरिएकोमा बरु भुकम्पका कारण गाउँका मानिसहरु सहरतिर आकर्षित भए र जमिनको आकार झनै घट्यो ।
३. सरकारले प्रभावकारी र कार्यान्वयन गर्न सक्ने गरि जमिन र खेतिसम्बन्धी नीतिको अपेक्षा गरेपनि पार्टीका कार्यकर्ता केन्द्रीत नीतिका कारण न खेतियोग्य जमिन बढ्न सक्यो न उत्पादनको प्रभावकारी कार्यान्वयन नै ।
माथीको अवस्थाले के जनाउँछ भने हामी नेपालीहरु दुःखमा असाध्यै मिल्न सक्छौं, तर सुखमा नसक्ने देखिएको छ । अहिले कोरोनाको कहरबाट हामीले कृषिमा कायापलट गर्न सक्ने अवस्थामा छौं । हाम्रा कृषि उत्पादनहरु बारीमैं कुहिएर किसानहरु निराश हुँदा पनि निर्वाध रुपले भारतबाट तरकारी आयात भईरहको अवस्था छ ।
विदेशबाट फकिएर आउने यूवाहरुसँग लगानी हुन्छ र उनीहरुले कृषिमा लगानी बढाउने अब निश्चित छ, यसरी केही सीप भएका यूवाहरु पनि फर्कनेछन् । यसरी फर्केका यूवाहरुले गर्ने लगानी कृषि उपजको लगानीमा भन्दा बढी बजारीकरण, भण्डारण र आपूर्तिमा हुने हो भने मात्रै कृषिले गति लिन्छ । हामी कहाँ कृषि उत्पादनमा भन्दा समस्या लागत मूल्यमा हो । लागत अनुसार मूल्य पाउने हो भने उत्पादनमा समस्या देखिँदैन ।
पछिल्लो समय कृषिमा काम गर्न खोज्ने यूवाहरु सक्रिय रुपमा देखा पर्न थालेको छन् । हो, सबैले भनेजस्तै कृषिमा सम्भावना छ, तर यसका लागि कृषि क्षेत्रमा लाग्न चाहनेहरुले गफमा मात्र सीमित नभई काममा अग्रसर देखिनु आवश्यक कुरा हो । कृषि क्षेत्रमा पनि अब विषयगत रुपमा काम गर्नु पर्ने टड्कारो देखिएको छ । स्वदेशमा काम गरिरहेका हुन् वा विदेशबाट फर्किएका यूवा हुन्, अब कृषिमा एउटा सिक्री प्रणाली (भ्यालु चेन) मार्फत उत्पादन, भण्डारण, ग्रेडिङ र प्याकेजिङ, फरक उत्पादनको फरक परिकार, मूल्य श्रृंखला, ढुवानीमा सरकारले प्रभावकारी काम नगर्ने हो भने यो ईतिहासकै सुनौलो मौका यत्तिकै गुम्नेछ । कृषि क्षेत्रमा क्रियाशील सबैजना (व्यक्तिगत र संस्थागत) एकीकृत रुपमा लाग्ने मात्रै हाम्रो कृषिले निर्यातसम्मको अवस्था निर्माण गर्न सक्छ नत्र भने उही फेसन मात्रै हुन्छ, ‘कृषिमा सम्भावना छ ।’
Comments