
काठमाडौं, बैशाख २९ गते सोमबार । संसदीय समितिले लकडाउन खुकुलो पार्न सरकारलाई निर्देशन दिएको छ । समितिले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि पीसीआर प्रविधिबाट गरिने परीक्षणलाई वृद्धि गर्न पनि भनेको छ ।
प्रतिनिधिसभाकाे राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो ।
विदेशमा अलपत्र परेका कामदार र भारतसँगको सीमावर्ती क्षेत्रमा बसेका मानिसहरूलाई संक्रमण नियन्त्रणसम्बन्धी विश्वव्यापी मापदण्डअनुसार व्यवस्थित रूपमा घर फर्कने व्यवस्था मिलाउनसमेत समितिले निर्देशन दिएको छ ।
विदेशमा रहेका नेपालीहरूको समस्या समाधानका लागि प्रधानमन्त्रीस्तरबाटै सम्बन्धित देशमा कुरा भइसकेको र कुनै समस्या भए सम्बन्धित देशले नै समाधान गर्ने उपप्रधानमन्त्री एवम् कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका संयोजक इश्वर पोखरेलले बताए ।
समितिले स्थानीय स्तरमा निर्माण गरिएका क्वारेन्टाइनलाई मापदण्डअनुसार बनाउनुपर्ने, आइसोलेसन बेडहरू पर्याप्त मात्रामा निर्माण गर्नुपर्ने, किसानहरूलाई मल तथा बीउबिजन उपलब्ध गराउनु पर्ने र उत्पादित वस्तु बजारसम्म पुर्याउन सहज वातावरण बनाउन पनि निर्देशन दिएको छ ।
Comments