
काठमाडौँ, जेठ ८ गते बिहीबार । भारतले नेपालको नयाँ राजनीतिक नक्सा स्वीकार्य नहुने बताएको छ । नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी जारी गरेसँगै भारतले औपचारिक प्रतिक्रिया जनाएर बिरोध जनाएको हो ।
भारतीय विदेश मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै नेपालले जारी गरेको नक्सामा आफ्नो भूभाग परेको दाबी गरेको छ । उसले भनेको छ, ‘एकपक्षीय रुपमा गरेको यो कार्य ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन । यो सीमा विवाद द्वीपक्षीय कूटनीतिक सम्वादमार्फत समाधान गर्ने समझदारी विपरित छ ।’
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले पत्रकार सम्मेलमा नेपालको नयाँ नक्साले भारतको भूमि समेटेको आरोप लगाए ।
सीमा क्षेत्रका बारेमा भारतको अडान नेपाललाई राम्ररी थाहा भएको बताउँदै भारतीय सार्वभौमसत्ता र अखण्डतामाथि अन्यायपूर्वक हस्तक्षेप गर्ने कुरा सुधार गर्ने आशा लिएको समेत उनले बताए ।
नेपाली नेतृत्वले कूटनीतिक सम्वादमार्फत सीमा विवाद समाधान गर्ने वातावरण बनाउने विश्वास व्यक्त गरे । यस्ता एकतर्फी कार्यबाट टाढै रहन र वार्तामार्फत् सीमासम्बन्धी समस्या समाधानका लागि वातावरण बनाउन उसले नेपाल सरकारलाई अनुरोध गरेको छ ।
नेपाल सरकारले सोमबार मन्त्रिपरिषदबाट नयाँ नक्सा पारित गरी बुधबार अपरान्ह सार्वजनिक गरेको थियो ।
वार्ताका लागि पटकपटक नेपालले गरेका प्रयासलाई लत्याएको भारतले यसपटक भने वार्ता गर्न चाहेको बताएको छ ।
Comments