Loading...
Logo
Image

उमेदवारी खारेजीको माग गर्दै रवि लामिछाने बिरुद्ध निर्वाचन आयोगमा उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन निर्वाचन–२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको छ ।

उम्मेदवार लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेको भन्दै उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै राजकुमार पाण्डेले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

उजुरीमा विदेशी नागरिकता प्राप्त गरिसकेपछि नेपाली नागरिकता त्यागेको हुनुपर्ने र विदेशी नागरिकता त्यागेपछि पुन: नेपाली नागरिकता लिनुपर्ने उल्लेख गरिएको छ । उनीहरूले पहिले नै बदर भइसकेको नेपाली नागरिकता पेश गरेर लामिछानेले उम्मेदवारी दर्ता गराएको उजुरीमा उल्लेख गरेका छन् ।

लामिछाने विरुद्ध आयोगमा उजुरी परे लगत्तै निर्वाचन आयोगले आवश्यक कारबाहीका लागि चितवन प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का मुख्य निर्वाचन अधिकृतलाई पत्राचार गरेको छ । आयोगमा उजुरी पर्ने बित्तिकै आवश्यक कारबाहीका लागि सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पत्राचार गरिएको आयोगका सहायक प्रवक्तासमेत रहेका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए ।

आयोगले पठाएको पत्र चितवन प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुझिसकेको छ । मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले आयोगले पठाएको पत्र आफूले प्राप्त गरिसकेको बताउँदै आवश्यक कारबाही प्रक्रियामा गइसकेको र भोलि नै लामिछानेलाई स्पष्टीकरण सोध्ने बताए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अनुसार भोलि नै लामिछानेलाई ७ दिनको समय सीमा दिएर स्पष्टीकरण सोधिने छ । ७ दिन भित्र लामिछानेले आफ्नो स्पष्टीकरण पेश गर्नेछन् । उनले पेश गरेको स्पष्टीकरणसँगै त्यससँग सम्बन्धित प्रमाण बुझेर मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगलाई पत्राचार गर्नेछ । 

  •  

Comments

KATHMANDU WEATHER