प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेयर खरिद बिक्री स्वाभाविक नभएको र एनसेल खरिद विक्रीसंग चर्चा आएदेखि सरकार गम्भीर रहेको बताएका छन् ।
राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले कहिँ न कहिँ गडबडी भएको बताएका हुन् । आफू जलवायु सम्मेलनको क्रममा दुबईमा भएको बेला ऐनसेलको शेयर खरिदबिक्री भएको भन्नेबारे सुनेको र स्वदेश फर्किनासाथ सञ्चार मनत्रालय र नियामक निकायलाई निर्देशन जारी गरेको उनले बताए ।
बैठकमा उनले एनसेलको ८० प्रतिशत सेयर न्यून मूल्यांकन गरी खरिदबिक्री भएको विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएपछि आफू गम्भीर रहेको बताए ।
यसमा कहिँ न कहिँ गलत छ भन्ने लागेरै छानबिन समिति समेत बनाएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए ।
‘जुन सरकारलाई सहज नलागेकै हुनाले मैले सुरुमै निर्देशन जारी गरेको पनि हो । सहज छैन, स्वाभाविक छैन यो खरिदबिक्री भन्ने देखिएकै हुनाले नै निर्देशन जारी गर्नु परेको हो,’ उनले भने, ‘यसमा कहिँ न कहिँ गलत छ भन्ने लागेकै हुनाले छानबिन समिति बनाइएको हो ।’
प्रधानमन्त्रीले एनसेल खरिदबिक्री हुँदा आफू देशबाहिर रहेकाे बताएपछि सांसदहरूले आपत्ति जनाएका हुन् । राज्यव्यवस्था समिति बैठकमा सांसद चन्दा कार्कीले भनिन्, 'म बाहिर थिएँ भन्ने छुट प्रधानमन्त्रीलाई छैन । प्रक्रिया नमिलाउने, कर छली गर्ने, जिम्मेवारी सरकारले लिनुपर्छ ।'
सांसद कृष्णगोपाल श्रेष्ठले भने, 'प्रधानमन्त्रीको परिवार र प्रधानमन्त्री जोडिएको भन्ने छ । हामीले बिरालोको रङबारे किन बहस गर्ने ? बहस बिरालोले मुसा मार्छ कि मार्दैन भन्ने हो । एउटापछि अर्को काण्ड आउँछ । अबको पाँच वर्षपछि एनसेल सरकारको स्वामित्वमा आउँछ कि आउँदैन ? बिरालोलेे मुसा मार्छ कि मार्दैन भनेको यही हो ।'
-
3 months ago
रास्वपाले आगामी असोजमा दुई दिने राष्ट्रिय भेला गर्ने
-
-
Comments