
यही माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता आज मध्यरातदेखि लागू हुँदैछ ।
निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्ने उद्देश्यले निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागू गर्न लागेको हो ।
आचारसंहिता निर्वाचन सम्पन्न नभएसम्मका लागि अर्थात १२ माघसम्म लागू हुने छ । यस अवधिमा सम्बन्धित सबै व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुनेगरी आयोगले आचारसंहिता तयार गरेको छ ।
आचारसंहिता लागू भएपछि भोट माग्न पाइँदैन । कुनै पनि प्रक्रारका अन्तरक्रिया, सम्मेलन, गोष्ठी, उदघाटन वा निर्वाचनसँग सम्बन्धित छलफल गर्न पनि पाइँदैन ।
सामाजिक सन्जाल, अनलाइन वा छापा माध्यमबाट पनि भोट माग्ने वा कुनै दल तथा उम्मेदवारको पक्ष-विपक्षमा सन्देश, सूचना वा समाचार राख्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालका अनुसार, उक्त अवधिमा कुनै सार्वजनिक स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन, निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न वा कुनै किसिमले थपघट गर्न वा गराउन निषेध गरिएको छ । कुनै सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्था वा विश्वविद्यालय वा विद्यालय वा महाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन नहुने उनले बताए । यस्तै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अङ्कित कुनै सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने कानुनी व्यवस्था छ ।
साथै ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय र अपाङ्गता भएका व्यक्तिको भावनामा आँच आउने वा चरित्र हत्या हुने गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन तथा बालबालिकालाई निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न वा गराउन मिल्दैन ।
आचारसंहिता अनुसार, प्रचलित कानून बमोजिम निषेध गरिएको समय र स्थानमा अवरोध हुने गरी कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन नहुने, सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन, निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषण (हेट स्पिच) गर्नेजस्ता भ्रामक टिकाटिप्पणी गर्न वा गराउन नहुने व्यवस्था छ ।
आयोगले निर्वाचन आचार संहिताको पूर्णरुपमा पालना गर्न गराउन सरोकारवालाहरुलाई निर्देशन समेत दिएको छ । आचार संहिताको पालना गर्नु सम्बन्धित सबैको कानूनी तथा नैतिक दायित्व भएको भन्दै आयोगले यदि उल्लंघन भएमा कानूनी कारवाही हुने बताएको छ ।
राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ सिटका लागि हुने निर्वाचनको मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।
-
2 weeks ago
पूर्वराजालाई कारबाही गर्न माओवादीको माग
-
2 weeks ago
नेकपा एसको कार्यालयमा पुगे ओली
-
1 month ago
नेपालमा फैलियो हङकङ फ्लुको प्रकोप
Comments