Loading...
Logo
Image

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरी रिहा

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेका व्यवसायी अरुण चौधरी रिहा भएका छन् ।

बुधबार उनलाई प्रहरीले छाडेको हो । जिल्ला अदालत काठमाडौंले चौधरीलाई थप बुझ्नुपर्ने भए दुई दिनभित्र सम्पन्न गर्न आदेश दिएसँग उनी छुटेका हुन् ।

चौधरीका साथै सोही प्रकरणमा पक्राउ परेका बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा एवं अर्का व्यवसायी सञ्जय ठाकुर पनि रिहा भएका छन् ।

उनीहरूलाई छाडिए पनि अनुसन्धान भने जारी रहेको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । 'जिल्ला अदालत काठमाडौंको आदेशअनुसार हाजिरी जमानीमा आज तीनै जनालाई छाडिएको छ, यद्यपि सो प्रकरणको अनुसन्धान भने जारी छ,' उनले भने ।

सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले अनुसन्धानमा सहयोग गर्ने गरी हाजिर जमानीमा छाडी बाँकी अनुसन्धान पूरा गर्न सीआईबीलाई आदेश दिएको थियो ।

Comments