Loading...
Logo
Image

जनतालाई सवल, समावेशी र उन्नत राष्ट्र चाहिएको छ: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले जनतालाई सवल, समावेशी र उन्नत राष्ट्र चाहिएको बताएका छन् ।

पाँंचथर बहुमुखी क्याम्पसले फिदिममा बुधबार आयोजना गरेको महापुराण तथा बहुधार्मिक आध्यात्मिक महोत्सव २०८० को उदघाट्न गर्दै राष्ट्रपति पौडेलले विभिन्न जाति, भाषा, धर्म, संस्कृति र समुदायको एकता, सहअस्तित्व, सामञ्जस्यता, सद्भाव र सहकार्यसहितको सवल, समावेशी र उन्नत राष्ट्र चाहिएको बताएका हुन् ।

'हामीले विभिन्न जाति, भाषा, धर्म, संस्कृति र समुदायको एकता, सहअस्तित्व, सामञ्जस्यता, सद्‌भाव र सहकार्यसहितको सवल, समावेशी र उन्नत राष्ट्र चाहन्छौँ,' उनले भने, 'यस्तो राष्ट्र जो कसैलाई निषेध गरेर हैन, सबैलाई समान दर्जा, अधिकार र स्वामित्व दिएर बन्छ । सबैलाई एकतावद्ध गरेर बन्छ ।'

राष्ट्रपति पौडेलले आपसमा निषेध, घृणा, द्वन्द्व र अविश्वास नभएर सम्मान, एकता, सहिष्णुता र सद्‌भावको विकास गर्न सकेमात्र  सबै सबल हुने बताए । जनताको ठूलो बलिदानीबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको मूल मर्म पनि यही भएको बताए । गणतन्त्रले सबैलाई समावेशी, उदार, एकताबद्ध र समन्वयात्मक हुन आह्वान गरिरहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले भने, 'म संविधानको त्यही मर्म र भावनाबाट अघि बढ्न सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई अपिल गर्न चाहन्छु ।'

राष्ट्रपति पौडेलले कृषि क्रान्ति, पर्यटनको विस्तार र ऊर्जा शक्तिको प्रचुर विकास भएको बताए । 'पहिलो खाँचो सुशासनको छ । म त्यही एजेण्डामा आज पनि उभिएको छु । र, हामीले श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न जरुरी छ । यीनै विषयमा हाम्रो शिक्षा केन्द्रित हुनुपर्छ,' उनले भने ।

Comments