Loading...
Logo
Image

रुसी अर्थतन्त्र झन बलियो, युद्ध लडिरहे पनि रुसको सम्पत्ति बढेको बढ्यै

सन् २०२२ फेब्रुअरी २४ मा जब रुसले युक्रेनमा आक्रमण गर्‍यो, सोही वर्षको मार्चदेखि उसले गम्भीर आर्थिक चुनौतीहरूको सामना गर्नुपर्‍यो । रुसलाई एक्ल्याउने अमेरिकासहित पश्चिमा राष्ट्रको चाहनाका कारण त्यसबेला रुसी ठूला कम्पनीहरू साथै रुसी धनाढ्यहरू प्रतिबन्धमा परे । 

यसो हुँदा रुसी ठूला कम्पनीहरूको मूल्य ९७ प्रतिशतसम्मले गिरावट भयो, रुसी मुद्रा रुबलको मूल्यमा पनि ठूलो गिरावट देखियो । प्रतिबन्धका कारण विदेशमा रहेका रुसी सम्पत्ति अहिलेसम्म रोक्का गरिएका छन्, ती सम्पत्ति युक्रेनलाई हस्तान्तरण गर्नुपर्छ भनेर अमेरिकामा बहस नै हुन थालेको छ । 

यसरी चर्को आर्थिक प्रतिबन्ध झेलेपछि रुस आर्थिक रूपमा कमजोर हुन्छ भन्ने विश्वास गरिएको थियो । तर, युद्धको झण्डै दुई वर्षपछि रुसी अर्थतन्त्रलाई विश्लेषण गर्दा यो देखिन्छ कि विश्वका शक्तिशाली अर्थतन्त्र भनिएका जी–७ देशहरूको भन्दा रुसी अर्थतन्त्र बलियो छ । रुस अहिले युरोपमा सबैभन्दा द्रुत वृद्धि हुने अर्थतन्त्र हो । 

अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले पनि यतिबेला रुसी अर्थव्यवस्थाको विकासदर १.१ प्रतिशतबाट बढाएर २.६ प्रतिशत पुर्‍याएको छ, जसले पनि रूसको आर्थिक वृद्धिदरलाई जोड दिएको छ । युद्ध सुरु भएपछि जब विदेशमा रहेको रुसी केन्द्रीय बैंक रिजर्भको ३०० अर्ब अमेरिकी डलर फ्रिज भयो, तब रुसी अर्थतन्त्र ज्यादै कमजोर भएको थियो, यद्यपि रुसको पछिल्लो तथ्यांक र राष्ट्रपति पुटिनका कथनहरूले रुस फेरि बलियो बन्दै गएको बुझ्न सकिन्छ ।

रुसले आफ्नो अर्थतन्त्र स्थिर भएसँगै यतिबेला सोभियत युगमा जस्तै आफ्नो बजेटको ४० प्रतिशत सेना र हतियारमा खर्च गरिहेको छ । वास्तवमा रुसी तेल र ग्यासमा पश्चिमा प्रतिबन्धका बाबजुद रुसले हाइड्रोकार्बन उत्पादनको बिक्रीबाट राजस्व आर्जन गर्न जारी राखेको छ । रुसी तेल ट्याङ्करहरू यतिबेला भारत र चीनतर्फ गइरहेका छन्, साथै भुक्तानी पनि अमेरिकी डलरको सट्टा चिनियाँ युआनमा हुने र यो क्रम बढ्दै गएको छ ।

रुसले प्रतिदिन ९ दशमलव ५ विलियन ब्यारेल तेल उत्पादन कायम गर्न सफल भएको छ । रुस तेल व्यापारकै कारण पश्चिमा प्रतिबन्धहरूबाट जोगिएको छ । विज्ञहरूका अनुसार चिनियाँ युआनजस्ता अमेरिकी डलरबाहेकका अन्य मुद्राहरूमा भुक्तानी प्राप्त गर्ने रुसी क्षमताले उसको आर्थिक स्थिरतामा योगदान पुर्‍याएको छ । 

यतिसम्म कि अमेरिकाले आफ्नै प्रतिबन्धलाई बेवास्ता गर्दै रुसबाट तेल खरिद गरेका प्रमाणहरू बाहिरिएका छन् । सस्तोमा तेल पाउँदा अमेरिका मख्ख छ । रुसी सञ्चारमाध्यम स्पुतनिक ग्लोबले दिएको जानकारीअनुसार अमेरिकाले गत अक्टुबरमा ३६ हजार ८ सय ब्यारेल र नोभेम्बरमा ९ हजार ९ सय ब्यारेल तेल रुसबाट खरिद गरेको छ । यसको लागत क्रमशः २७ लाख अमेरिकी डलर र ७ लाख ४९ हजार ५ सय डलर भएको बताइएको छ । बीबीसी

Comments