
केही दिनअघि एक परिचित व्यक्तिलाई एक महिनादेखि खोकीले नछोडेको भनी परामर्श लिने उद्देश्यले भेट्न आउनुभएको थियो । हातमा केही हप्ताअगाडि गरिएको स्वास्थ्य परीक्षणका केही रिपोर्टहरू पनि थिए, जसमा फ्लु परीक्षणको रिपोर्ट पनि थियो । त्यसमा हङकङ फ्लुको नामले परिचित इन्फ्लुएञ्जा (छोटकरीमा फ्लु भन्ने गरिन्छ) ‘ए’ को ‘एच थ्री’ प्रजाति पुष्टि थियो । सो बिरामीलाई केही दिनसम्म ज्वरो आउने, टाउको दुख्ने, घाँटी दुख्ने, जिउ दुख्ने, नाकबाट पानी बग्ने अनि खोकी लाग्नेजस्ता समस्याहरू देखिएको भनेका थिए । तर माथि उल्लेख गरेझैँ खोकी भने मसँग संवाद हुँदासमेत प्रस्टै देखिन्थ्यो । यति लामो समयदेखि निरन्तर देखिएको यो अवस्थाको खोकीलाई ‘पोस्ट भाइरल कफ’ भन्ने गरिन्छ । र, यस्तो अवस्था हाल समुदायमा धेरैमा भएको देखिन्छ । सामान्यतया तीनदेखि आठ हप्तासम्मको निरन्तर खोकीलाई ‘पोस्ट भाइरल कफ’ वा ‘पोस्ट इन्फेक्सियोस कफ’ भन्ने गरिन्छ ।
सामान्यताः नेपालमा फ्लु भाइरस वर्षमा दुईपटक बढी सक्रिय हुने गर्छ । पहिलो लहर जनवरी–मार्च महिनामा देखिने गर्छ भने अर्को जुलाई–सेप्टेम्बर महिनामा देखिने गर्छ । त्यसैले यो भाइरसलाई ‘मौसमी फ्लु’ पनि भन्ने गरिन्छ । फ्लु भाइरस ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार प्रकारका हुन्छन् । यसमा ‘ए’ र ‘बी’ भाइरसले विशेषतः स्वास्थ्यमा समस्या निम्त्याउने गर्छ । फ्लु ‘ए’ भाइरस विभिन्न समयमा पेनडेमिकको रूप दोहोरिने गरेको विगतका अनुभवहरू छन् ।
कोभिड– १९ भन्दा अगाडि सन् २००९ मा फ्लु ‘ए’ अन्तर्गत ‘एचवान एनवान’ प्रजातिको भाइरसलाई विश्व स्वास्थ सङ्गठनले पेनडेमिक घोषणा गरेको थियो । यो भाइरसलाई सुरुमा ‘स्वाइन फ्लु’ भन्ने गरिएको भए पनि पछि ‘एचवान एनवान पीडीएम ०९’ नामकरण गरिएको थियो । हाल यो प्रजातिको भाइरसलाई ‘मौसमी फ्लु’ भन्ने गरिन्छ ।
हरेक वर्ष फ्लुको सिजनमा यो प्रजातिको भाइरस नेपालमा देखिँदै आइरहेको छ । त्यस्तै, सन् १९१८ मा पनि फ्लु ‘ए’अन्तर्गत ‘एचवानएनवान’ प्रजातिको भाइरसले महामारीको रूप लिएको थियो । भनिन्छ, यो भाइरसलाई आधुनिक इतिहासका उच्चतम घातक सङ्क्रामक रोगको रूपमा पनि लिने गरिन्छ । सो समयमा यो प्रजातिको भाइरसले विश्वको झण्डै एकतिहाइ जनसंख्यालाई सङ्क्रमित गरेको अनुमान गरिन्छ । अनि झण्डै ५ करोड मानिसको मृत्यु यही भाइरसका कारणले भएको पनि अनुमानित तथ्याङ्क छ ।
फ्लु ‘ए’ भाइरसअन्तर्गत ‘एचफाइभ एनवान’ प्रजातिको भाइरस अर्थात् ‘बर्ड फ्लु’ पनि पर्दछ । यो प्रजातिलाई पनि उच्च घातक सङ्क्रमणको रूपमा लिने गरिन्छ । यसको मृत्युदर ५० प्रतिशतभन्दा बढी देखिने गरेको छ । यो रोग सङ्क्रमित पन्छीबाट मानिसमा सर्ने गर्छ । यद्यपि हालसम्म यो भाइरस मानिसबाट मानिसमा भने सहजै सरेको देखिँदैन । चाखलाग्दो कुरा के छ भने, बर्ड फ्लु पन्छीबाट मात्र मानिसमा सर्ने देखिएकोमा केही महिनाअगाडि अमेरिकामा गाईवस्तु वा सोको दूधबाट पनि यो भाइरस मानिसमा सरेको पुष्टि भएको थियो । उच्च घातक मानिने ‘एचफाइभ एनवान’ बर्ड फ्लुको जोखिमको स्रोत थपिँदा मानिसको लागि यो नयाँ चुनौतीका रूपमा खडा भएको देखिन्छ ।
नेपालमा सन् २०१९ मा पहिलोपटक मानिसमा ‘एचफाइभ एनवान’ बर्ड फ्लु देखिएको थियो । तर, दुर्भाग्यवश सो सङ्क्रमित युवाको भने सोही भाइरसको जटिलताबाट मृत्यु हुन गएको थियो । यस अर्थमा नेपालमा देखिएको बर्ड फ्लुको मृत्युदर शतप्रतिशत मान्न सकिन्छ । नेपालमा सन् २००९ पछि बर्सेनि कुखुरा–हाँसजस्ता पन्छीमा ‘एचफाइभ एनवान’ बर्ड फ्लु देखिँदै आइरहेको छ । तर, नेपालको कृषि क्षेत्रमा अझै पनि जैविक सुरक्षाप्रति पर्याप्त ध्यान दिने गरेको भने पाइँदैन । यसका कारणले नेपालमा ‘एचफाइभ एनवान’ बर्ड फ्लुको जोखिम मानिसमा उच्च रहेको मान्न सकिन्छ ।
-
2 weeks ago
पूर्वराजालाई कारबाही गर्न माओवादीको माग
-
2 weeks ago
नेकपा एसको कार्यालयमा पुगे ओली
-
Comments