काठमाडौं, बैशाख ४ गते बिहीबार । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा एक गर्भवती नर्सको मृत्यु भएको छ । तर चिकित्सकहरुले उनको पेटमा रहेको बच्चा शल्यक्रियामार्फत जीवितै निकाल्न सफल भएका छन् ।
लुटन एन्ड डलस्टेबल युनिभर्सिटी अस्पतालमा २८ वर्षकी नर्स मेरी अगियइवा अग्यापोङ्गको आइतबार निधन भएको हो । उनी सो अस्पतालमा पाँच वर्षदेखि कार्यरत रहेकी थिइन् ।
अस्पतालका प्रवक्ताले बच्चा सकुशल रहेको जानकारी दिएपनि थप जानकारी दिएनन् । उनलाई ७ अप्रिलमा उपचारका लागि भर्ना गरिएको थियो ।
गत शुक्रबारमात्र उनलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो । मृतक नर्स मेरीका श्रीमान समेत कोरोना भाइरस संक्रमणका कारण आइसोलेसनमा रहेका छन् ।
नवजात शिशुको नाम पनि उनकै आमाको नाम राखिएको छ । मेरीकी छोरी मेरीको अवस्था राम्रो रहेको अस्पतालले उल्लेख गरेको छ ।
मेरीले १२ मार्चसम्म काम गरेर सुत्केरी हुनका लागि बिदा लिएकी थिइन् । तर बच्चा नजन्माउँदै उनको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको हो ।
Comments