
तरकारी तथा फलफूलबाट कोरोना सर्ने अहिलेसम्म संसारमा कुनै पनि अध्ययनले देखाएको छैन । तर, नेपालमा चाहिँ कोरोना सार्न सक्ने भन्दै किसानले दुःख गरी उब्जाएका तरकारी-फलफूल नष्ट गर्ने सिलसिला चलिरहेको छ, त्यो पनि सरकारी निकायहरूकै रोहवरमा ।
स्थानीय तह तथा जिल्ला प्रशासनले नै तरकारी-फलफूलका ट्रकलाई नियन्त्रणमा लिँदै नष्ट गराउन थालेका हुन् । जबकि भारतबाट आयातित तरकारी-फलफूल भने निर्बाध उपभोक्ताको भान्सासम्म पुगिरहेका छन् ।
दुःख गरेर उब्जाएका तरकारी दुई रुपैयाँ किलोमा पनि बिक्री हुन छाडेपछि किसानहरू आफ्नो उत्पादनमाथि ट्याक्टर चलाएर नष्ट गर्न थालेका छन् । चितवन, काभ्रे, कपिलवस्तु र रुपन्देहीको कृषकहरू उत्पादित तरकारी नबिकेर रोइकराई गरिरहेका बेला अर्घाखाँची र कास्की जिल्लामा भने स्थानीय तह र जिल्ला प्रशासनकै संलग्नतामा हरियो तरकारी तथा फलफूलहरू नष्ट गर्ने अभियान चलाइएको छ।
अर्घाखाँचीको सन्धिखर्कमा आइतबार एक ट्रक हरियो तरकारी नष्ट गरियो । कपिलवस्तुको बुद्धभूमिबाट बिक्रीको लागि लगिएको हरियो तरकारी जिल्ला प्रशासन कार्यालयले बिक्री गर्न रोक लगाएपछि नष्ट गरिएको हो ।
कोरोना रोकथाम गर्ने सर्वपक्षीय बैठकले गरेको सहमति बमोजिम छिमेकी जिल्लाबाट तरकारी तथा फलफूल भित्र्याउन रोकिएको अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले बताए । लुकाई-छिपाई ल्याइएपछि फिर्ता गराउन भनिए पनि व्यवसायी आफैँले नष्ट गरेको उनको भनाइ छ ।
‘जताबाट ल्याएको हो उतै फर्काउन भनेका थियौं, तर आफ्नो व्यापारिक सम्बन्ध बिग्रिने भन्दै व्यवसायीले आफैँ तरकारी नष्ट गरेका हुन् । प्रहरी वा जिल्ला प्रशासनलाई दोष लगाउन मिल्दैन,’ सहायक प्रजिअ थापाले भने।
कास्कीमा ६ ट्रक तरकारी र फलफूल पुरियो
कास्कीको पोखरा महानगरपालिका १५ का स्थानीयले जेठ १५ गते तरकारी र फलफूल बोकेका ६ वटा ट्रक नियन्त्रणमा लिए । काभ्रे, चितवनलगायतका जिल्लाबाट बिक्रीका लागि लगिएको गोलभेडालगायतका तरकारी उनीहरूले राति २ बजे नियन्त्रणमा लिएका थिए । बिहान वडा प्रमुख, प्रहरी र स्थानीय डोजरले खाल्डो खनेर उक्त तरकारी तथा फलफूल नष्ट गरे ।
फोटोः गण्डकी टिभी
तरकारी ओसार पसार गर्दा कोरोना जोखिम उच्च भएकाले नष्ट गरिएको पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष प्रकाश पौडेल बताउँछन् ।
पृथ्वीचोकमा रहेको बास्तोला स्टोरमा तरकारी पसल चलाउँदै आएका हरि गौतमले ल्याएका तरकारी कास्कीमा नष्ट गरिएको थियो ।
Comments