Loading...
Logo
Image

दुइ धारमा सम्बन्ध

‘पहिले पहिले टेलिफोन, मोबाईल, वा सुविधाका कुनै पनि वस्तु नहुँदा पनि मानिसहरु टाढाटाढाका आफन्त, ईष्टमित्र, नातागोता र आफ्ना मान्छेहरुलाई भेट्थे, प्रेम गर्थे, मनका भावना, सुखदुःख साँटासाट गर्थे । अहिले चाहिने जति सबै सुविधा उपलब्ध छ मान्छेलाई तर, मान्छेमा चाहना असिमित भएर हो वा चाह नभएर हो भावना, मानवीय आकर्षण क्षीण हुँदै गईरहेको जस्तो लाग्छ ।’ उनले मनमनै उसप्रतिको कुण्ठा समग्र मान्छेमा लगेर जोडिन् । धेरै पटकको कोशिसपछि उसलाई भेट्न पाएपछि मायालाई घाउमा मल्हम लगाए झैं भयो । उनलाई रीस पनि नउठेको होईन, तर उनका संगतका धेरै मानिसहरु भन्दा राजन अलि व्यावहारिक, मान्छे साह्रै राम्रो नभए पनि मिठासपूर्ण बोली र सबैसँग चाँडै घुलमिल हुन सक्ने गुण भएका कारण उ रिसाउला भनेर पनि उसका सामु रीस देखाउन सकिनन्, दबाईन् । उनले सोचेकी छिन्, सम्बन्ध आफ्नो ठाउँमा छ, तर एउटा राम्रो मान्छे संगतमैं होस् भन्ने उनको चाहनाले पनि उसलाई केहि भन्ने आँट गरिनन् वा भनौं चाहिनन् ।
उनी मनमनै छट्पटाउँछिन्, ‘हातमा महँगो फोन छ, चाहेको बेला फोन गर्न सकिन्छ । चार्ज भएन भनौं भने देश नै लोडसेडिङमुक्त छ । ब्यालेन्स हुन्न भनौं, अफिसमा ल्याण्डलाईन फोन, हातमैं ईमेल ईन्टरनेटको सबै सुविधा छ, टेलिकम पनि त्यति साह्रो महँगो छैन, झन्, कुरै गर्न चाह्यो भने प्याकेज नै पनि सस्तैमा पाईन्छ । अझ जतासुकै निःशुल्क वाईफाई सुविधा, थ्रिजी, फोजी पनि । म्यासेन्जर, भाईबर, ह्वाट्सएप, वीच्याट लगायतका विभिन्न थरीमा निःशुल्क कुरा गर्न, म्यासेज, फोटो, भिडियो अनि मुखामुख गरेरै कुरा गर्न पनि मिल्छ, तर गर्दैन ।’
उनी आफैं पनि व्यस्त मान्छे हुन् । एउटा एनजिओमा काम गर्न लागेको सात वर्ष भैसक्यो । अफिसियल कागजात, प्रपोजल बनाउन, कुनै कुराहरु लिपिवद्ध गरेर राख्न, अफिस भित्रका काममा निकै सिपालु । उनको एउटै ईच्छा छ, राजन सँगै होस्, उसँग कुनै सम्बन्ध होस् वा नहोस् । उनलाई साह्रै हतारो भएजस्तो पनि देखाउँदिनन् । कहिलेकाहीँ मनमा भएका सबै कुरा स्वाट्टै एकै सासमा पोख्दिउँ कि जस्तो पनि लाग्छ, तर मुश्किलले नियन्त्रण पनि गर्छिन् । यी औपचारिकतामा बाँचेकाहरु सायद बढी दुःखी हुन्छन् । आफु कमजोर नभईयोस् वा नदेखियोस् भन्नका लागि चाहना मारेर पनि यीनिहरु आफुलाई बलियो वा उच्च कोटीको देखाउन खोज्छन् । धेरै कुराहरु मनमैं दबाउन सक्नेहरु बढी पीडाका हकदार हुन्छन् । अझ यस्ता धेरै कुराहरु मनमा लुकाउन सक्ने भएर नै नारीलाई धर्तिसँग तुलना गरिएको होला ।
राजन कहिले खुलेरै उनीसँग कुरा गर्छ, उनलाई लाग्छ, ऊ केहि चासो राख्छ उनका बारे । मायाको प्रेमी नभएको पनि होईन । उनकै अफिसको उनीभन्दा सिनियर उनको प्रेमी । तर राजनप्रतिको आकर्षण के हो ? उनीसँग यसको ठ्याक्कै जवाफ छैन । केहि यस्ता प्रश्नहरु हुन्छन्, जसको उत्तर हो वा होईनमा दिन सकिन्न । उनी कहिलेकाँही राजनमा प्रेमी पनि देख्छिन्, कहिले लाग्छ, राजन पो जिन्दगीको उपयुक्त उमेदवार पो हो कि ! धत्, मान्छेको मन, पनि भएको चीजमा भन्दा नभएकोमा बढी लालच लाग्ने ।
‘तपाईंले त कसैलाई माया गर्नु नै भा’को छैन होला है ?’
उनले सोधिन्, ‘माया धेरैलाई गरेको छु । सबैलाई प्रेम गर्छु । विशेष एकजनामा केन्द्रीत भएर माया गर्न चैं डराउँछु ।’
उनले ठाडै सोधिन्, ‘किन नि’ ?
जवाफमा भन्यो, ‘म बेकारमा तनाव लिन र स्वार्थी हुन सक्तिनँ, मेरो त्यो स्वभाव नै छैन ।’
‘माया गरेर कोही स्वार्थी हुने भए संसार उहिल्यै युद्धमा होमिईसक्थ्यो, संसारै खाली भैसक्थ्यो होला ।’ मायाले घुक्र्याईन् ।
उसले अलि निराश हुदै अलि पारीतिर हेर्दै भन्यो, ‘मन पराएपछि माया लाग्न थाल्छ । माया लागेको मान्छे सँधै आफ्नै होस् भन्ने लोभ लाग्छ । जब लोभ लाग्छ नि, उ कसैसँग नजिकिएको, मुस्काएको, सबैसँग खुलेर बोलेको मन पर्दैन, ईष्र्या लाग्छ । अझ कसैसँग छोएर कुरा गरेको, मस्किएको जस्तो देख्यो भने त औडाहा हुन्छ । यो सबै व्यहोर्नु भन्दा खास माया नगर्नुमा नै कल्याण देख्छु ।’ उसले मायामा भुक्तभोगी झैं मायाभित्रको पिडाको कहानी पाँच लाईनमैं विस्तृत बताईदियो ।
यसरी कुरा गर्दा किन हो कुन्नी, उनलाई असाध्यै आनन्द लाग्छ । उनले सोचेकी पनि यत्ति हो कि, उसँग मनका सबै कुरा खुलेर गर्न सकियोस् । मनका कुरा मात्रै किन ? व्यक्तिगत कुरा पनि उसँग साँटासाट होस् भन्ने चाहना छ उनमा, भनेकी भने छैन । कैलेकाहीँ त उनी यो कुरा चैं गर्दिन भनेर सोचेको पनि बिर्सिन्छिन् । तर, उ के चाहन्छ उनले मेसो पाउँदिनन् । कहिले खुलेर कुरा गर्छ, कहिले वास्तै गर्दैन । उनलाई लाग्छ, उसले परिक्षा पो लिईरहेको हो कि !
उनले सोचेकी छिन्,  उ साथ होस् वा नहोस् राजनको साथ भने रहोस् । कैलेकाहीँ सोच्छिन्, उसँग बस्दा रमाईलो लाग्छ, आनन्द लाग्छ भने मेरो के गल्ती भो र ? आखिर मानिस जति नै ठूलो ओहोदाको होस्, धनी होस् वा जोसुकै होस् खोज्ने त आनन्द त हो । मान्छेले त्यै आनन्द प्राप्तीकै खोजीमा त हो कसैले यौनमा, कोहीले रक्सीमा त कतिले जुवामा स्वास्थ्य र सम्पत्ती सकेका छन्, मैले त त्यस्तो के नै गरेकी छु र ? उनले आफैंलाई सान्त्वना दिईन् । उनलाई लाग्यो, मान्छले कसैलाई असर नगर्ने गरि प्रेम गर्नु कुनै अपराध होईन । कसैलाई प्रेम गर्दा वा उसँगको सामिप्यले आफुमा उर्जा भरिन्छ र उसका लागि भए पनि केहि गर्नुपर्छ भन्ने मनोवल बढ्नु कुनै नराम्रो पनि त होईन !
यो भेटघाटपछि माया झन् प्रभावित भईन् । उसले गरेका व्यावहारिक कुरा र उसको भनाईमा उनले कुनै छलकपट वा कुनै वनावटी भाव देखिनन् । उनलाई उसको सरलता झनै मन पो पर्न थाल्यो । उनले प्रेमीलाई पनि राजनको विषयमा बताईन् । प्रेमीले कस्तो प्रतिक्रिया दियो भन्ने पनि बिर्सिन् । उनले राजनका बारे खाली भन्नका लागिमात्रै भनेकी थिईन्, ताकी पछि कतै अप्ठ्यारो आईनलागोस् ।
कहिलेकाँही हुने साना साना कुराहरुले पनि उनलाई एक किसिमको खुशी र आनन्द दिन थाल्यो । भेटपछि राजन पनि केहि बदलिएको हो कि ? भन्ने भान उनलाई परेको थ्यो । पहिले भन्दा अलि खुलेर कुरा गर््थ्यो । माया सचेत पनि थिइन् कि उनको कुराले सीमा ननाघोस्, तर कुरा गर्दै जाँदा सीमा नाघेको पनि थाहै पाउँदिनथिन्, राजनको पनि हालत त उस्तै नै होला । खाली व्यक्त नगरेको मात्रै होला । मान्छे साह्रै स्वार्थी छ, आफुलाई भने चलाख सम्झिन्छ । मायाले यसरी ताकेता गरिरहेको थाहा पाएर होला, उ भने उति वास्ता गरे जस्तो गर्दैन । हरेक मान्छेको यहि बानी हुन्छ, सायद ।
समय लामै चलिरह्यो । हावा निरन्तर बगे, यामहरु निकै बदलिए । प्रकृति आफ्नो लयमा चलिरहिन् । मायाले चाहे जस्तै मनका धेरै कुराहरु उसलाई सुनाउँदा उनी खुसी हुन्थिन् । सुखदुःखका कतिपय भावनाहरु उसँग पोख्दा मन हलुका भएको भान हुन्थ्यो । एउटा उत्प्रेरणाको स्रोत उनका लागि उ थियो, तर किन हो र के को आकर्षण हो, पत्तो भएन ।
उनलाई लाग्छ, हरेक मान्छेको जीवन रेडियो जस्तै हो । महँगो, सस्तो, आधुनिक वा पुरानो जे भए पनि आखिर रेडियो रेडियो नै हो । जसरी जातजाती, भाषाभाषी, भेषभूषा, वर्ण जस्तो भएपनि मान्छे मान्छे हो ।   जसरी रेडियोमा थरिथरिका गीत, सूचना, समाचार, नाटक र जीवनोपयोगी सामग्रीहरु प्रशारण हुन्छन्, त्यसरी नै मान्छेमा पनि विभिन्न किसिमका खुबी हुन्छनु । तर जसरी ब्याट्रीले काम गरेन भने रेडियोको अर्थ हुन्न वा रेडियो एउटा सिर्फ भाँडो मात्रै हुन्छ, त्यसरी नै मान्छेमा पनि काम गर्ने दक्षता, क्षमता, सीप, ज्ञान, श्रम भएर पनि ती सबैलाई व्यावहारमा जोड्ने ब्याट्रीरुपी उर्जा भएन भने बेकार हुन्छ । कसैसँग नजिक हुँदा यी सबै कुराहरुको संयोजन गर्ने उर्जा पाउन सकिन्छ भने यो कुनै रुपमा पनि घातक हुँदै हुँदैन ।
माया खासै सुन्दरताका लागि सजिएर हिँड्न मन पराउँदिनन् । उनी औपचारिक पोशाकमा हिँड्ने भएर होला, उनी भन्थिन्, ‘मलाई पूरा नारी भएर, टीका, गाजल लगाएर वा ब्युटी पार्लर गएर राम्री भईन्छ भन्नेमा विश्वास छैन ।’ तर, आजकल उनलाई ती कुराहरु पनि महिलाकै लागि बनाईएका हुन् भन्नेमा विश्वास लाग्न थालेको छ । झनै राजनलाई भेट्ने दिन त उनी के लगाएर जाने वा कस्ती देखिने भन्नेमैं अलमलिन्छिन् ।
हिउँदको महिना । बिहान जाडो बढेको छ, शीत परेर बाहिर तप्प चुहिएको मायाले ओछ्यानबाटै देखेकी छिन् । उनी द्रविभूत हुन्छिन् । मान्छे पनि यस्तै शीत जस्तै हो । बिहान मान्छे नै कठ्याङ्ग्रिने गरि देखियो, घाम लागेपछि सकियो । झन् मान्छेको माया त शीत भन्दा पनि झुर । कतिबेला जोडिने र टुंगिने थाहा हुन्न । घाम परे सुक्ने, ओरालो परे बगेर कता पुग्ने । सबै स्वार्थमा झेलिएको जस्तो, कुनै ठोस आकार नभएको शीत नै जस्तो, अझ कर्कलोमा परेको शीत जस्तो । कतिबेला कता ढल्किएर पोखिने हो टुंगो छैन, जसरी मान्छे आफ्नो स्वार्थमा फाईदा भएतिर ढल्किन्छ । सफा र विश्वासिलो माया पाउन कलियुगमा ऋषि खोजे जस्तो ।
मायाले मोबाईल हेरिन्, म्यासेन्जरमा उनको प्रेमीको म्यासेज थियो । राती अबेर उसको फोन पनि आएको थियो, तर उठाएकी थिईनन्, केहि अर्जेन्ट भए फेरि फोन गरिहाल्थ्यो नि भनेर वास्ता पनि गरिनन् । हेरिनन् । हेरौं र प्रतिक्रिया नदिउँ, म्यासेज हेरेको थाहा हुन्छ, हेरेर पनि प्रतिक्रिया नगर्दा सम्बन्धमैं खटपट होला भन्ने पीर । म्यासेजमा पढ्दा थाहा पाईन्, उसको पढाईको लागि दुई वर्ष विदेश जाने भिषा प्राप्त भएको जानकारी आएको रहेछ । त्यसले उनलाई खासै खुशी पनि बनाएन, न त दुःखी नै । के बनायो उनले चाल पाईनन् वा चाल पाउनै चाहिनन् ।
लगत्तै राजनको म्यासेज आयो, ‘मिल्छ भने आज अफिस जानुअघि भेटौं, एउटा सल्लाह लिनुछ ।’ एक त भेट्न पाईने कुराले उनीभित्र तरंग ल्यायो, अर्कातिर केही सहयोग नमाग्ने मान्छेले पहिलो पटक सल्लाह लिनुछ भनेपछि उनमा एउटा खुशीको लहर पनि र अलिकति डर पनि ।
भेटमा राजनले भन्यो, ‘घरमा बिहेको कुरा चलेको छ, परिवारले केटी हेरेका रहेछन्, मलाई बोलाएका छन् । केटीलाई पहिलो पटक भेट्दा के भन्ने ? उ कस्तो खानदानको हो ? कतिको असल वा खराब भन्ने कुरा कसरी थाहा हुन्छ ? मलाई एकपटक बताईदेउ न ।’ माया अक्क न बक्क परिन् । एकातिर प्रेमीको विदेश जाने खबर भर्खर आयो, अर्कातिर नजिक मानिएको मान्छे बिहे गर्ने केटीको बारे जानकारी माग्छ । भित्तामा कुहिनो ठोेक्किएर झंकार आएजस्तो गरि उनको शरिर भरि झंकार आयो । एकातिर प्रेमी हुँदाहुँदै पनि राजनको बिहे हुने कुराले उनलाई किन मन पोल्यो थाहा भएन । उनले के उत्तर दिईन्, थाहै नपाई अफिस जान ढिला भो भन्दै कुदिन् । उसँगको भेटमा यसरी हतार गरेर छुटिएको उनको यो पहिलो पटक थियो ।
दिनभरी काम गरेको केहि ख्यालै छैन उनलाई । उनी सम्हालिन खोजिन्, पुराना याद र कुराहरु निरन्तर दोहोरिए । दिनभरीको कामले भन्दा ज्यादा उनका मनको उकुसमुकुसले थकायो । दिउँसो दुईपल्ट राजनको फोन आयो, उठाईनन् । राजनको त के उसको अफिसको फोन नम्बर समेत कण्ठ भएकी अनि राजनको फोन त उनी सासैले उठाउथिन्, तर आज उठेन ।
बेलुका राजनले म्यासेन्जरमा खबर पठायो, ‘केटी को हो ? के हो ? कुरै नबुझी किन हिँडेको ?’ उनले रिप्लाई गरिनन् ।
फेरि आयो, ‘मैले मामाको छोरा (भाई) का लागि केटी हेरिदिनु पर्ने भयो, घरमा सबैले मेरो कुरामा विश्वास गर्ने हुँदा मामाले भाईका लागि केटी हेरिदिन आग्रह गरेको हुँदा आफुलाई पनि अनुभव होला भनेर जान लागेको । त्यति सोध्दा पनि उत्तरै नदिई हिँड्न हतार भो है ?
अचम्म पर्दै मायाले उत्तर लेखिन् ‘ए ! हो र ?’
उसले घुर्किपूर्ण भाषामा लेख्यो, ‘यति सहयोग पनि नगर्नेले मेरो बिहे हुने भयो भने के सहयोग गर्ला खै ?’  
माया एकतमास भईन् । दुई वर्षपछि विदेशबाट सकुशल प्रेमी आउला भनेर विश्वास गरुँ वा एउटा विश्वासिलो लागेको मान्छेलाई प्रेमी बनाउने प्रस्ताव गरुँ !

Comments

KATHMANDU WEATHER