कोरोना चिकित्सकको आत्मकथा
‘हतियार बिनाको रणभुमिमा मृत्युसँग लड्दैछु’
रातभरी ड्युटी गरेर बिहानै घर फर्केको छु । परिवार सुतिरहेका छन । छुट्टि भएकाले राती अवेरसम्म टेलिभिजन हेर्छन् र विहान ढिलो उठ्छन । जब घर पग्छु, तव शुरु हुन्छ सरसफाइको श्रृंखला । कतै अस्पतालबाट भाइरस ल्याएको छु कि भन्ने डरले सरसफाइ कडै गर्छु । मंहिनौ भयो छोराछोरी, श्रीमती र परिवारका अन्य सदस्यलाइ नछोएको । भान्सामा पनि अलगै खाएको । बाहिर पट्टिको सानो कोठामा एक्लै सुतेको ।
एकदिन छोरीले गहभरि आँशु पार्दै भनिन् –‘बाबाको काखमा बस्न नपाएको पनि कत्ति भयो ।’ मैले सम्झाएँ –‘कोरोनाको डर सकिए पछि ल ।’ यो वाक्यले संसार भरिका लाखौ स्वास्थ्यकर्मी र उनीहरुको परिवारको वेदनाको प्रतिनिधित्व गरे जस्तो लाग्यो । अझ अरुको उपचार गरेकै कारण, अरुलाइ बचाएकै कारण आफुले मृत्युवरण गरेका चिकित्सकको स्मृती दिमागमा फनफनी घुम्यो ।
दिमागमा परिवारको संवेदना र समर्पणको कल्पनाले केही रात निदाउन सकिन । साँच्चै–‘कतै मेरो देशमा पनि यो महामारीले पञ्जा फिंजायो र मेरो पनि त्यही हालत भयो भने ।’ तर फेरी मन बलियो बनाँए –‘मैले त्यसरी सोच्नु हुदैन । म जस्तै स्वास्थ्यकर्मीले त थेगेका छौं सिंगो संसार । त्यसैले त हामी साच्चैँ भगवान हौं भनेर प्रमाणित गर्न पाएका छौँ । हतियार, पैसा, पद सबै झुकेका छन् हाम्रा सामु । सानो आँखाले देख्न नसकिने एउटा भाइरसले सिङ्गै संसार हल्लाएको छ ।’ आशा, विश्वास र भरोसा सिर्फ म जस्ताको पोल्टामा छ । संसारले सोचेको थिएन यो समय आउँछ भनेर । अझै पनि थाहा छैन के के आउँछ ।
कहिलेकाहीँ दुःख लाग्छ, कस्तो देशमा जन्मेछु म । दुनियाँलाई जीवन दिने मेरो जीवनको मूल्य यहाँ सिटामोल भन्दा सस्तो छ । एउटा मास्क, स्यानिटाइजर र पि.पि.इ भन्दा सस्तो छ । त्यसैले तिनकै अभावमा मेरो ज्यान गयो भने यहाँ अचम्म नमाने हुन्छ । जीवनसँग जोडिएका यी साना बस्तुको खरिदमा अनियमितताका खबर देख्नु र सुन्नु पर्छ । त्यसैले असुरक्षाको कालो बादलले मलाई घेर्छ । तर वाध्यता, यसैमा रमाउँदै अरुलाई बचाउनु मेरो धर्म हो । सोच्न थालेको छु – विकशित देशमा भन्दा मेरो जस्तो देशमा मेरो महत्व बढि छ । भगवानको आशिर्वाद सुखमा चाहिन्न, दुःखमा चाहिन्छ । आशा गर्छु अनियमितताका खबरहरु झुठा भैदिउन ।
घर कहिलेकाँहि आउँछु, कहिले विहान आउंँछु कहिले फेरि दिउँसै आउँछु । न खाने ठेगान छ, न सुत्ने । म आफु भन्दापनि मेरो परिवारलाई बढि सहनशिल र समर्पित सम्झिन्छु । जसले यो सम्झौता गरेर मलाई स्वतन्त्र बनाइदिएका छन् ।
एकदिन बुबाले भन्नु भयो–‘तँलाई हामीले त्यत्रो खर्च गरेर पढाएको त्यसैगरी ज्यान जोखिममा लगाउन हो ?’ मैले सतही उत्तर दिएर टारें–‘के गर्ने बुबा पेशा नै यस्तै हो ।’ तर मनमनै भनें –‘हो बुबा, तपाईले पैसा खर्च गरेर आफै मरेर पनि अरुलाई बचाउँने भगवान किन्नु भयो । संसारका कसैले भगवान किन्न पाएको थाहा छ ? त्यसैले स्वास्थ्यकर्मीका बुबाआमा ती भाग्यमानी हुन् जसले सन्तानको समय कम पाउँछन् तर आफुले लगानी गरेको पैसा, मेहनत आदिको कारण घरमै देउता किन्न पाउँछन् । देउताले पनि आफ्नो अगाडि शिर झुकाएको अवसर कसैले पाउँछ भने त्यो उनीहरु अर्थात तपाईहरु हो ।’
त्यसैले परिवारको अल्पकालिन चाहाना, क्षणिक खुशी र आफ्नै जीवनको मनोरमता थाँती लगाएर म फेरि निस्कन्छु घरबाट र तिनलाई भेट्छु –जो मेरो प्रतिक्षामा छन् बाँच्ने आशाका साथ । एकदिन मृत्यूको सामना त सबैले गर्नुछ । तर ढिलो होस या चाँडो म त्यो मृत्यू भोग्नेछु –जहाँ अरु कैयाँैलाई मृत्यूको मुखबाट तानेर परिवारको जिम्मा लगाएको साहश र गौरवको कथा हुनेछ । जहाँ कयौँ आत्माको आशिर्वाद हुनेछ । जुन संसारका कुनैपनि पैसाले किन्न पाइन्न ।
त्यसैलै मेरो यात्रा रोकिनु हुन्न । यो अवसर मैले गुमाउनु हुन्न । अभावकै बीच जीवनकै अनिश्चिततामा पनि एक्लै किन नहोस् रणभूमीमा हतियार विना नै लड्न सक्ने बीर योद्धा हुँ म । जसको खाँचो युद्धको समयमा बढि हुन्छ र अहिले संसार एक अदृश्य शत्रुसँग त्यो युद्ध लडिरहेछ ।
Comments