Loading...
Logo
Image

२७ वर्षअघिको त्यो कालो दिन 

काठमाडौं, जेठ  ३ गते शनिबार । आजभन्दा २७ वर्ष अघि अर्थत जेष्ठ ३ कहालीलाग्दो, कोलाहलपूर्ण,अँध्यारो, पीडैपीडाले भरिएको  दिन सम्झने र उनको योगदान सम्झने हरकोहीको मन खल्लो हुनु स्वभाविकै हो ।  तत्कालीन नेकपा (एमाले), नेपाल राष्ट्र, मुक्तिकामी नेपाली जनता र विश्व कम्युनिष्ट आन्दोलन र समाजवादी केन्द्र निर्माणका लागि अत्यन्तै पीडादायी र कालो दिनको रुपमा दर्ज भएको दिन हो भनियो भने गलत अर्थ लाग्ने छैन ।  मुलुकको पहरेदार, अभिभावक, मजदुर र किसान वर्गको आशा र भरोसाको केन्द्र, नेपाली कम्युनिष्ट आन्दोलनमात्र हैन, विश्व कम्युष्टि आन्दोलनमै अड्चन आएको अवस्थामा जनताको बहुदलीय जनवादको मार्गदर्शक सिद्धान्त प्रतिपादन गरेर अघि बढेका भण्डारी प्रतिकृयावादीको शिकार भएको दिनलाई हरकोहीले सम्झने दिन हो जेष्ठ ३ अर्थात आजको दिन ।  

वास्तवमा हिमालभन्दा अग्लो व्यक्तित्वको यो मृत्युले आम व्यक्ति–व्यक्ति, समग्र पार्टी पङ्क्ति र देश मात्र होइन, देशान्तर र विश्व समाजवादी आन्दोलनको सम्भावित केन्द्र निःशब्द र स्तब्ध बनेको दिन, समाजले एकजना प्रगतिशील परिवर्तनका पक्षपाती स्रष्टा अनि तत्कालीन नेकपा (एमाले) ले सिद्धहस्त राजनीतिक बैचारिक मान्यताको मियो, सार्वभौमसत्ताले देशको सुरक्षाकवच, विश्व कम्युनिष्ट आन्दोलन समाजवादको सेन्टर, रक्षात्मक अवस्थामा रहेको कम्युनिष्ट आन्दोलनले नवीन बिचारक अनि २० औँ शताब्दीका युगपुरुष आदि गुणले भरिएको व्यक्तित्व गुमाएको दिन यस दिनलाई जुनीजुनी बिर्सन नसक्ने दिनका रुपमा लिन सकिन्छ । त्यतिमात्रै हैन, कम्युनिष्ट आन्दोलनका सकारात्मक र नकारात्मक पक्षको अध्यायन गरि माक्र्सवादको सिर्जनात्मक प्रयोगको रुपमा, नेपाली मौलिकताको नवीन विचार एवंम् बिशौँ शताब्दीको युगलाई नेतृत्व गरेको विचार जनताको बहुदलीय जनवादका प्रणेता मदनकुमार भण्डारीलाई षड्यन्त्रपूर्वक ढंगले हत्या गरिएको आजको दिनलाई कालो दिनको संज्ञा नदिइरहन सकिन्न ।  

 नेपालको ऐतिहासिक संविधानसभा, यसमार्फत प्राप्त संविधान, कार्यान्वयनमा आएको संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा घोषित ‘समृद्ध नेपाल,सुुुखी नेपाली’को राष्ट्रिय संकल्प तथा नेपाली कम्युनिष्ट आन्दोलनको विगत, वर्तमान र भविष्यको लागि जेठ ३ गतेको सन्दर्भलाई विश्लेषण गर्ने र जननेता मदनकुमार भण्डारीलाई मनैदेखि सम्झने दिनका रुपमा लिन सकिन्छ । र लिनुपर्दछ ।   नेपाललाई एक्काइसौं शताब्दीको पहिलो समाजवादी मुलुकका रुपमा स्थापित गर्न र हालै नेपालका दुई ठुला कम्युनिष्ट पार्टीहरु तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र) बीच एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्ने अवस्था सिर्जना हुनुमा मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवादको थोरै योगदान छ भनियो भने अतिशयोक्ति नहोला । 

२०४६ सालको ऐतिहासिक जनआन्दोलन पश्चात स्व. वीरेन्द्र शाहलाई दरबार बसेर आँखा नझिम्क्याइबक्स्योस महाराज, राजनीति गर्ने भए श्रीपेच खोलेर मैदानमा आइबक्स्योस भनेर खुला चुनौति दिएपछि भण्डारीमाथि देशीविदेशीको आँखा पर्दै आएको थियो । यसकासाथै २०४८ सालमा सम्पन्न आमनिर्वाचनमा तत्कालिन अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई काठमाण्डौं जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट पराजित गरेपछि झनै उनको उचाई वृद्धि भएको थियो । नेपाली राजनीतिका उदयमान नेता विश्व कम्युनिष्ठ आन्दोलनलाई नयाँ विचार दिनसक्ने विलक्ष्ण प्रतिभा भएका भण्डारी ठिक यहीबेलादेखि नै तारो बनेको कुरा हत्यापछि पुष्टि भएको कुरा हो । 

न्यायप्रेमी नेपाली जनताको वर्षौं पुरानो आकांक्षालाई मुर्तरुप दिन, मुलुकको राजनीतिक शक्ति सन्तुलनमा गुणात्मक ढङ्गले सकारात्मक योगदान दिन, राष्ट्रियता, लोकतन्त्र, राजनीतिक स्थायित्व र समृद्धिका लागि ठोस योगदान दिनसक्ने भण्डारीलाई कसरी ठेगान लगाउन सकिन्छ भनेर प्रतिकृयावादीहरुको निद्हराम भैरहेको र हत्या पश्चात ति तत्व ढुक्कसँग निदाएको सहजै अनुमान लगाउन सकिन्छ । 

यसरी राजनीतिक बैचारिक हिसावले संगठित सुदृढ कम्युनिष्ट आन्दोलनविरोधी षड्यन्त्रकारीहरुको षड्यन्त्रको कायर तानाबुनाबाट चितवन जिल्लाको तत्कालीन कविलास गाविसस्थित दासढुङ्गामा उहाँलाई सक्ने प्रयास गरेको घटनाक्रमबाटै स्पष्ट हुन्छ । र छानविन आयोगको प्रतिवेदन अनुसार घटनास्थलमा संकेतकारुपमा राखिएको  भुस र बालुवाको थुप्रो छेउबाट जननेता सवार जिपलाई नारायणी नदीमा निर्ममतापूर्वक खसालेर मारिएको कुरामा कसैको विमति छैन । 
नेपालको लोकतान्त्रिक, गणतान्त्रिक र बामपन्थी आन्दोलनका प्रखर नेताका रुपमा प्रतिपक्षी पार्टीले पनि मानेका स्व. भण्डारी पोखरा सभागृहको कार्यक्रम सकेर चितवनकालागि प्रस्थान गरेका थिए । नेताद्वय चढेको जीप त्रिसुलीमा खसेको घटनाले सिंगो नेपाल र नेपालीको गला अवरुद्ध भएको त्यो दिन सम्झँदा आजपनि आङ सिरिङ हुन्छ । साथै दुर्घटनाको खबार आएलगत्तै पार्टीको आपतकालिन बैठकसँगै पार्टी सदस्य, समर्थक सुभचिन्तकहरुको भीड दासढुंगामा जम्मा भएको दिनहरु स्मृतिबाट मेटिएको छैनन् ।

 बि.संं. २००९ साल असार १४ गते पिता देवीप्रसाद भण्डारी र माता चन्द्रकुमारी भण्डारीको कोखबाट माइलो सन्तानको रुपमा पूर्वी नेपालको ताप्लेजुङ जिल्लास्थित ढुङ्गेसाँघु गाउँमा जन्मनुभएका मदन भण्डारी र जीवराज आश्रितलाई २७ औँ मदन भण्डारी स्मृति दिवसको यस दुःखद् घडीमा उच्च सम्मान व्यक्त गर्दै हार्दिक श्रद्दा सुमन अर्पण गर्न चाहन्छु । 
(लेखक प्रेस संगठन नेपालका उपत्यका प्रदेश सदस्य हुनुहुन्छ)

Comments

KATHMANDU WEATHER